Ad Area

वित्तीय सेवामा पहुँच र बजारीकरणका लागि छलफल


घोराही, ११ बैशाख । समृद्ध स्थानीय सरकार बनाउने लक्ष्यका साथ घोराही      उपमहानगरपालिकाले   पछिल्लो समय विकास पूर्वाधारलाई आयआर्जन र उद्यमशीलतासँग जोड्ने प्रयासको थालनी गरेको छ ।
पालिकाको उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखाले समुदाय स्तरमा पुगेर सीप सिकाउनेदेखि आर्थिक क्षेत्रमा लाग्न हौसला प्रदान गर्ने काममा अग्रसरता देखाएको छ ।
जस अनुसार आर्थिक समृद्धिको आधार, लघुउद्यममार्फत रोजगार बनाउने लक्ष्यका साथ घोराही उपमहानगरपालिकाले वित्तीय सेवामा पहुँच र बजारीकरणका विषयमा आईतबार आयोजना गरेको सरोकारवालाहरुको छलफलमा यहाँको आवश्यकता र सम्भावनाका क्षेत्र उजागर भएको छ ।
उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखाको आयोजनामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तरगत उद्योग व्यवसायी र विभिन्न उद्यम गरिरहेका तथा गर्न ईच्छुकहरुको सहभागितामा आयोजित छलफलमा नगर प्रमुख नरुलाल चौधरीले स्थानीय स्तरमा उत्पादन भैरहेका बस्तुहरुको व्यवसायीक उत्पादनमा बढावा दिँदै समय अनुसार त्यसको प्रशोधन र बजारीकरण जरुरी रहेको बताउनुभयो ।
धेरै कुराका अवसर र सम्भावना हुँदाहुँदै पनि गरिबी मानसिकता र चिन्तनले पाएको अवसरलाई चिन्न नसक्दा बेरोजगार भएर बस्ने युवाहरुलाई उद्यमशीलताको महत्व जगाउन अब स्थानीय सरकारको कार्यक्रम बन्नुपर्ने बेला आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पूर्वाधार विकासलाई मात्रै विकास ठान्ने प्रवृत्तिले नागरिकले विकासको महसुस गरेनन् । भौतिक विकासलाई विकास बुझे  । त्यसैले नागरिकको समृद्धिसँग जोडेर आर्थिक विकास लगाउन जरुरी ठानेका छौँ । यसका लागि हामीले असल अभ्यासको शुरुआत गरेका छौँ । सिपलाई श्रममा जोडेर मेहनत गर्ने बानीको विकास गर्न अब ढिलाई गरिनुहुँदैन ।’
उहाँले लाहुरे बन्ने, जागिर खाने कुरालाई मात्रै नभई उद्यमी बन्नुपर्छ भन्ने भावनाको विकास गर्नुपर्ने बताउनुभयो । पूँजीको विकास गर्न सकेमात्रै आर्थिक समृद्धि सम्भव भएको हुँदा आयातमा नभई निर्यातमुखी उद्यमशीलतामा अबको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
उपप्रमुख हुमा डिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले सही नीति बनाएर समयमै कार्यान्वयन गर्न सकेमा देशमा बढ्दो बेरोजगारी अन्त्यसँगै आर्थिक समृद्धि स्थानीय सरकारबाट हुनेमा कुनै शंका नरहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष नारायणप्रसाद भुसालले उत्पादित बस्तुको सही बजारीकरण हुन नसक्नु नै अहिलेको चुनौति रहेको बताउनुभयो । ‘उचित बजारीकरणको ग्यारेन्टी गरिनुपर्छ । लेबलिङ, प्याकेजिङ गरेर बजारीकरण हुन सके धेरै जसो समस्या समाधान हुन्थ्यो’, उहाँले भन्नुभयो ‘बिटुबी कार्यक्रममा जोड दिनुपर्छ भन्ने मैले ठान्दछु ।’
राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक श्रीधर घिमिरेले सरकारले अघि सारेको कृषक सहुलियत कर्जाका बारेमा प्रकाश पार्नुभएको थियो । सहभागी कृषकहरुले बजारीकरण हुनुपर्छ भनेको धेरै भएको बताउँदै काम हुन नसक्दा समस्या व्यहोर्नु परेको गुनासो गर्नुभएको थियो ।
आयात रोक्न ध्यान दिनुपर्ने, स्थानीय बस्तुको खपत बढाउनुपर्ने, मूल्य पाउन बाहिरको तरकारी आयात रोक्नुपर्ने, उत्पादन लागतको आधारमा मुल्य निर्धारण हुनुपर्ने कुरा छलफलमा उठेको थियो  ।
छलफलमा घोराही, १३ का टेकबहादुर थापा, बीरबहादुर घर्ती मगर, युवराज घर्ती मगर, घोराही ७ का भरत पुन, वडा नम्बर ६ का माया चौधरी, व्यवसायी हेमराज बन्जाडे, बिष्णुप्रसाद रिजाल, राजश्व शाखा प्रमुख कृष्णबहादुर केसीलगायतले भनाई राख्नुभएको थियो । कार्यक्रम र आगामी योजनाका बारेमा उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखाका प्रमुख ईश्वरराज पाण्डेले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता चक्रबहादुर थापाले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad