Ad Area

फोरलेन सडकको काम नयाँ ढंगबाट बढ्छ : मन्त्री शर्मा


घोराही, १४ बैशाख । नेपाल सरकारका प्रवक्ता तथा सुचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले घोराही तुलसीपुर चारलेन सडक आयोजनाको काम नयाँ ढंगबाट थालनी गर्ने प्रकृया अघि बढेको बताउनुभएको छ ।

प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले भारतीय एक्जिम बैंकको लगानीमा भारतीय निर्माण कम्पनीबाट सडक निर्माणको काम गर्दा समस्या भएको जनाउँदै उक्त आयोजनाको कामलाई चाँडै नै नयाँ ढंगबाट प्रकृया अघि बढाउने विषयमा सरकारले गृहकार्य शुरु गरेको जानकारी दिनुभयो ।

भारतीय निर्माण कम्पनीले कामको जिम्मेवारी लिएर अहिलेसम्म ९ वटा ठेकेदारलाई काम गर्न लगाउँदा पनि भौतिक प्रगति नदेखिएको हुँदा ठेक्का प्रकृया रद्ध गरि एक्जिम बैंकको लगानीलाई नेपाली निर्माण कम्पनीबाट गराउने गरि नीतिगत रुपमा सहम जुटाउने काम भईसकेकाले असार अगावै चारलेन सडक निर्माणको कामलाई नयाँ ढंगबाट अघि बढाउन सकिने विश्वास दिलाउनुभयो । अलपत्र अवस्थामा परेको सडकको काम अघि बढाउँदा केही समय लाग्ने हुँदा यसमा धैर्य गर्न जिल्लाबासीलाई अपिल गर्नुभयो ।

काम नहुँदा अस्तव्यस्त र जीर्ण बनेको सडक निर्माण कम्पनीले काम नगर्दासम्म सरकारले बजेट विनियोजन गरेर सडक मर्मत गर्ने उहाँको भनाई थियो ।

यसैगरी, उहाँले देशमा आर्थिक संकट गहिरिँदै गएको हुँदा सरकारले बजेटको सिलिङ घटाएर कम लगानीमा बढी प्रतिफल दिने योजनालाई प्राथमिकतामा राख्ने खोजेको बताउनुभयो ।

अधिकांश स्थानमा अनावश्यक कर्मचारी भर्ती हुँदा खर्च बढेको, अनुत्पादक क्षेत्रमा बजेट खर्च हुँदा राज्यलाई व्ययभार बढेको, नागरिकलाई लाभ हुने आयोजना भन्दा विकासे आयोजनामा बजेट परेको जस्ता समस्या र गुनासो आएको हुँदा अत्यावश्यक बाहेकका ठाउँमा कर्मचारी कटौतीदेखि कम लागतमा बढी प्रतिफल दिने क्षेत्रमा सरकारले बजेट विनियोजन गर्न गरि प्रकृया अघि बढाएको जानकारी गराउनुभयो ।

यसैगरी, लामो समयदेखि टुंगोमा पुर्याउन नसकिएको संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन, सीमा समस्या समाधान गर्न, राज्यको शासन प्रणाली व्यवस्थित बनाउने सवालमा पनि सर्वदलीय सहमति जुटाउने गरि काम भईरहेको जानकारी गराउनुभयो । पत्रकार सम्मेलन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माको अध्यक्षतामा भएको थियो ।