Ad Area

घोराहीको सार्वजनिक सुनुवाई,विकास निर्माणमा ढिलासुस्ती हटाउन माग


दाङ, २२ बैशाख । समयमै सम्पन्न हुनुपर्ने विकास निर्माणका काममा ढिलासुस्तीसँगै गुणस्तरहीन सामग्रीको प्रयोगले दीर्घकालीन हुन नसकेको भन्दै नगरबासीले विकास निर्माणका कार्यमा ध्यान दिन घोराही उपमहानगरपालिकालाई आग्रह गरेका छन् । घोराही उपमहानगरपालिकाले विहीवार घोराही उपमहानगरपालिका–२ को रामपुरमा आयोजना गरेको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागी स्थानीयले समयमै विकास निर्माणका काम सम्पन्न गर्नतर्फ ध्यान दिनुपर्ने बताएका हुन् ।

वडामा नगर तथा वडास्तरीय सडक निर्माण, मर्मत सम्भार, ह्युमपाइप राख्ने, तारजाली गर्नेजस्ता भौतिक पूर्वाधारका काम अहिलेसम्म सम्झौता हुन नसकेको भन्दै घोराही उपमहानगरपलिका–२ निवासी शरद डिसीले समयमै योजना सम्झौता गर्ने र कार्यान्वयन गराउनतर्फ ध्यान दिनुपर्ने बताए । ‘गाउँमा ह्युमपाइप राख्ने र तारजालीका लागि बजेट परेको थियो । नगरमा बुझ्दा टेण्डर आह्वान गरेका छौँ भन्छन्’, उनले भने, ‘तर अहिलेसम्म काम हुने सुरसारै छैन ।’ उनले असारमा विकास निर्माणका काम गर्ने अवस्थाको अन्त्य गर्न हरेक काम समयमै सम्झौता र कार्यान्वयन गर्ने अभ्यास बसाल्न समेत आग्रह गरे थिए ।

यसैगरी घोराही उपमहानगरपलिका–४ निवासी भीमकुमार कुँवर योगीले छनोट भएका योजनामा बजेट विनियोजन गर्दा भौगोलिक विकटतालाई ध्यान दिन आग्रह गरे । भौगोलिक विकटतासँगै आर्थिक रूपमा विपन्न परिवारका कारण घोराही उपमहानगरपालिका–४ को सवारीकोट, गोडधारालगायतका स्थानीयले लागत सहभागिता उठाउन नसकेकै कारण योजना सम्पन्न हुन नसक्ने अवस्था रहेको भन्दै लागत सहभागीलाई हटाउन आग्रह गरे ।

‘सवारीकोट, गोडधारालगायतका विकट बस्तीहरूमा लागत सहभागिता पनि उठाउन नसक्ने बस्ती रहेका छन्’, वडा सदस्य समेत रहेका योगीले भने, ‘त्यस्तो बजेट परेका योजनाहरू पनि कार्यान्वयन गर्न सक्ने अवस्था छैन । यसतर्फ उपमहानगरपालिकाले ध्यान दिन आवश्यक छ ।’ उपभोक्ताले लागत सहभागिता उठाउन नसक्ने र स्टिमेटभन्दा बजारभाउ महँगो भएका कारण ठेकेदारले समेत काम गर्न नमान्दा योजना सम्झौता नै हुन नसकेको बताएका थिए । साथै उनले निःशुल्क शिक्षा भनिए पनि उपमहानगरपालिकाले शिक्षकको व्यवस्था नगर्दा स्थानीयले निजी स्रोतबाट पठनपाठनका लागि शिक्षकको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको भन्दै विकट क्षेत्र विद्यालय भनेर विभेद नगर्द आग्रह गरेका थिए ।

सार्वजनिक सुनुवाईमा अन्य सहभागीले विकास निर्माणका काममा स्टिमेट बनाउँदा ध्यान दिनुपर्ने, योजना छनोटसँगै बजेट विनियोजन गर्दा स्वरोजगारमूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने, विकास निर्माणका कार्यलाई छिटो छरितो र गुणस्तरीय बनाउन अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने, विकास निर्माणका काममा उपभोक्तालाई संक्रिय बनाउनुका साथै सीपमूलक तालिममा वडाका सबै टोलबासीलाई सहभागी गराएर चलाउनु पर्नेलगायतका सुझाव दिएका थिए ।

यसैगरी ग्रामीण क्षेत्रका जनतालाई मध्यनजर गरेर निःशुल्क एम्बुलेन्स सञ्चालन गर्नुपर्ने, किसानलाई उन्नत जातका बिउबिजनदेखि समयमै मल उपलब्ध गराउनुपर्ने र जनतालाई सेवा दिने जनप्रतिनिधि समयमा कार्यालय उपस्थितसँगै जनमैत्री बन्नुपर्ने माग गरेका थिए ।

Blog Post Ad

सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै नगर प्रमुख नरुलाल चौधरीले सबै काम प्रक्रियागत र सहज ढङ्गले गर्दै आएको भन्दै टोल विकास संस्थाहरूलाई थप जिम्मेवार भएर तय भएका बजेट कार्यक्रम कार्यान्वयन गर्न अग्रसर हुनुपर्ने बताएका थिए । नगर प्रमुख चौधरीले समयमै विकास निर्माणका कार्यहरू सम्झौता गर्नेदेखि कार्यान्वयनलाई प्रभावकारी बनाउँदै लगेको बताए । जनतालाई सहज रूपमा सेवा प्रवाहसँगै समयमै गुणस्तरीय विकास निर्माणका काम गर्न जनता समेत जागरुक हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले योजना छनोटदेखि कार्यान्वयसम्म उपभोक्ताको सहभागिता भए मात्रै समयमै गुणस्तरीय काम हुने बताइन् । उपभोक्ताको सहभागिताबिना ठेकेदारलाई जिम्मा दिने योजनाहरू भने गुणस्तरीय हुन नसक्ने भन्दै हरेक टोलमा निर्माण हुने विकास निर्माणका काममा जनताको सहभागिता हुनुपर्ने बताइन् । ‘अहिले विकास निर्माणका कार्यहरू ठेकेदारलाई जिम्मा दिने प्रचलन बढेको पाइन्छ’, उपप्रमुख डिसीले भनिन्, ‘यसरी गरिने विकास निर्माणका कार्यहरू गुणस्तरीय हुँदैनन् । आफ्नो ठाउँमा राम्रो काम गर्न जनताको सहभागिता आवश्यक छ ।’

कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले घोराहीमा आवश्यकताअनुसार शिक्षकको व्यवस्था हुन नसकेको बताए । ‘उपमहानगरपालिका सबै वडाहरूमा भएका विद्यालयहरूमा मागअनुसारको शिक्षकको व्यवस्था गर्ने हो भने तीन सय बढी थप शिक्षकको आवश्यकता देखिन्छ’, प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने, ‘तर केन्द्रीय सरकारले आवश्यकताका आधारमा शिक्षक दिँदैन । बजेट अभावका कारण स्थानीय सरकारले राख्न नसकेका कारण मागअनुसार शिक्षकको व्यवस्था गर्न सकेका छैनौँ ।’ यसैगरी विकास निर्माणका काममा सचेत बनाउँदै जनताको सहभागिता समेत बढाउनुपर्ने उनले बताए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १ का वडा सचिव शिवराज चौधरी, वडा नं. २ का वडा सचिव नारायणप्रसाद आचार्य, वडा नं. ३ का वडा सचिव विष्णु गिरी, वडा नं. ४ का वडा सचिव पत्रबहादुर वली र वडा नं. १७ का वडा सचिव चाँदनीले दोस्रो चौमासिकदेखि तेस्रो चौमासिकसम्म वडामा भएका कामका बारेमा जानकारी गराएका थिए ।

जसअनुसार वडा नंं १ मा ४१ वटा योजनामा २२ वटा सम्पन्न, १९ वटा सम्झौता भइ कार्य सञ्चालनरत, २ नं.मा ५१ वटा योजनामध्ये २६ वटा सम्पन्न, २५ वटा सम्झौता भइ सञ्चालनरत, ३ नं.मा ४४ योजनामध्ये २० वटा सम्पन्न, २२ वटा सम्झौता भएको २ वटा हुन बाँकी, ४ नं.मा ५३ योजनामध्ये २५ वटा सम्पन्न र २८ वटा सम्झौता भइ सञ्चालनरत र वडा नं. १७ मा ३९ योजनामध्ये २० वटा सम्पन्न, १७ वटा सम्झौता भइ कार्य सञ्चालनरत र २ वटा बाँकी रहेको सम्बन्धित वडा सचिवहरूले जानकारी गराएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण समाजका लागि सञ्चार पैरवी नेपालका नवीन चौधरीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad