Ad Area

बालबालिकाको वृद्धि, विकास र सिकाईका लागि ‘दिवा खाजा कार्यक्रम’


घोराही, १ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित श्री मावि रझेनामा कक्षा ६ मा अध्ययनरत सुप्रिया घर्ती दिवा खाजा खान पाउँदा खुशी हुनुहुन्छ । आईतबार हलुवा, सोमबार चना, मंगलबार खीर, बुधबार चिउरा÷पुलाउ, बिहीबार खिचडी÷चिउरा शुक्रबार अण्डा खाने गरी विद्यालयले तालिका बनाएको छ । सोही अनुसार बालबालिकाहरु दिवा खाजा खान पाउँदा दंग छन् ।

कक्षा ५ मा अध्ययनरत प्रवेशिका नेपालीलाई खीर खाने दिनको तालिका आउँदा अरु दिनमा भन्दा अझ बढी खुशी लाग्छ । घोराहीको बसपार्कका सुशान्त थपलिया एलकेजीमा पढ्नु हुन्छ । दिवा खाजा खानकै लागि घरबाट टिफिन बक्स लिएर उहाँ आउनुहुन्छ ।
घोराही १६ बाहुनडाँडाका शिशिर घर्ती मगर साथीहरुसँगै बसेर दिवा खाजा खान पाउँदा निकै खुशी हुनुहुन्छ । उहाँलाई खीर निकै मन पर्छ ।

‘दिदी आज के नास्ता पाक्दै छ, आज हामीले के खाने हो ? भन्दै बिहानैदेखि साना नानीबाबुहरु सोध्न आएँछन्’ दिवा खाजा पकाउँदै आउनुभएकी सुन्तली चौधरीले भन्नुभयो ‘कतिपय बालबालिका दिउँसो नास्ता खान पाउने भएपछि बढ्न आउने गरेका छन् ।
विद्यालयका अनुसार, गाउँबाट विद्यालय आउने कतिपय बालबालिकाहरुको घरको अवस्था नाजुक छ । जसका कारण दिवा खाजको भरमा भोक मेट्नुपर्ने बाध्यता रहेको छ । दिवा खाजा कार्यक्रम लागू भएपछि धेरै बालबालिकाहरुको विद्यालयमा उपस्थिती नियमित हुने गरेको विद्यालयको दावी छ ।

सहयोगीहरु कमला चौधरी, दुर्गा चौधरी, लक्ष्मी चौधरी साना बालबालिकाहरु लहरै बसालेर टिफिन बक्समा खाजा बाँडेपछि मन पेटभरी खाजा खान्छन् । मन्टेश्वरी कक्षा, अंग्रेजी माध्यमको १ देखि ६ सम्मका तथा नेपाली माध्यमका १ देखि ६ कक्षा सम्मका सातसय १५ बढी बालबालिकाहरुलाई दिवा खाजा खुवाउने गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपानेका अनुसार, दिवा खाजा कार्यक्रमले शैक्षिक गुणस्तर कायम गर्न निकै सघाउन पुगेको छ । ‘हामीले साना नानीबाबुहरुलाई हात धुन सिकाएका छौँ, कसरी खाने सिकाएका छौँ, सरसफाईमा ध्यान दिने कुराको बारेमा सिकाएका छौँ । दिवा खाजा कार्यक्रमले बालबालिकाहरुको विद्यालय उपस्थिती बढेको छ । खेल्ने, कुद्ने अनि पढ्ने वातावरण बनेको छ । यसको शिक्षण सिकाईमा निकै फाईदा पुगेको छ’ उहाँले भन्नुभयो ।

सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम थप व्यवस्थित बनाउन भन्दै घोराही उपमहानगरपालिकाले शैक्षिक सत्रको शुरुवातबाटै दिवा खाजा कार्यक्रमको अनुगमन थालेको जनाएको छ । उपमहानगर शिक्षा विकास समितीले विद्यमान अवस्थाको पहिचान गरी समस्या देखा परेको अवस्थामा सुधार गर्न अनुगमन शुरु गरेको छ ।

Blog Post Ad

कतिपय सामुदायिक विद्यालयमा भर्ना भएका तर नियमित उपस्थित नहुने विद्यार्थीको नाममा पनि खाजा खुवाएको भन्ने लगायत विषयमा गुनासो आएको भन्दै पालिकाले स्थलगत अनुगमन गरिएको शिक्षा समिति संयोजक तथा घोराही उपमहानगरका प्रवक्ता राममणि पाण्डेले जानकारी दिनुभयो ।

सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले दिवा खाजा कार्यक्रम बालबालिकाहरुका लागि निकै प्रभावकारी र उपयोगी पाईएको बताउनुभयो । खाजा खाँदा बालबालिकाहरुले व्यवहारिक ज्ञान आर्जन गर्नुका साथै जीवन उपयोगी सीप पनि सिक्ने अवसर पाएको बताउनुभयो ।

दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित र नियमित तालिका अनुसार बालबालिकालाई विद्यालयले खाजा उपलब्ध गराए नगराएको बारेमा अनुगमन पश्चात प्रतिवेदन तयार पारेर काम गर्ने उपमहानगर शिक्षा शाखा प्रमुख नारायणप्रसाद पौडेलको भनाई छ ।

सामाजिक विकास महाशाखाका अनुसार घोराहीमा ९३ वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागु छ । संघ सरकारको ससर्त अनुदानबाट खुवाईने दिवा खाजा प्रति विद्यार्थी १५ रुपैयाँ बराबरको हुने गरेको छ ।

घोराहीमा करीव १५ हजार बराबर विद्यार्थी रहेका छन् । वार्षिक १ सय ८० दिनको दिवा खाजा खुवाउने गरी कार्य तालिका बनाएर कार्यक्रम लागू गरिएको छ । गत आर्थिक वर्षमा करीव ३ करोड बराबरको दिवा खाजा कार्यक्रमका लागि बजेट आएको थियो ।

यो आर्थिक वर्षका लागि पहिलो चौमासिक अन्तर्गत ५५ दिन, दोश्रो चौमासिक अन्तर्गत ८५ दिनको दिवा खाजा कार्यक्रमको रकम निकासा भईसकेको छ । अब असार मसान्तसम्मको १ सय ८० दिनको लक्ष्य भेट्ने गरी ४० दिन नियमित रुपमा दिवा खाजा खुवाउने कार्यक्रम रहेको छ । पालिकामा एक वटा धार्मिक स्कुलका रुपमा रहेको वैदिक गुरुकुलका लागि अलग्गै अनुदान जाने हुँदा त्यहाँ दिवा खाजा कार्यक्रम लागू भएको छैन ।

स्थलगत रुपमा गरिएको अनुगमनबाट तयार पारिएको प्रतिवेदनका आधारमा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै विद्यार्थी संख्यालाई मध्यनजर गर्दै वृद्धि गर्न थप जोड दिइने पालिकाको योजना छ ।

अनुगमनमा उपप्रमुख हुमा डिसीको नेतृत्वमा, सामाजिक विकास समिति संयोजक राममणि पाण्डेको नेतृत्वमा, महाशाखा प्रमुख विनोद गौतमको नेतृत्वमा र शिक्षा शाखा प्रमुख नारायण पौडेलको नेतृत्वमा अनुगमन सुरु गरेको हो ।

अनुगमन टोलीले घोराही १४, १५ र १८ मा रहेका सामुदायिक विद्यालयको अनुगमन गरेको छ । अरु वडाहरुमा पनि तालिका अनुसार अनुगमन गर्ने तयारी भएको छ । अनुगमन टोलीले घोराही १४ स्थित बालविकास मावि, शुभ प्रभात मावि, मदरसा आधारभुत विद्यालय, बाल मन्दिर, सरस्वती मावि काठेकोलमा दिवा खाजा कार्यक्रमको अनुगमन गरिएको छ ।

सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ लागू गरिएसँगै जिल्लाका सबै पालिकामा यो कार्यक्रम लागू छ । जिल्लाका १० वटै पालिकाको ६ सय ३५ बढी सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा छ ।
दिवा खाजा कार्यक्रममले अभिभावकमा आर्थिक भार कम परेको छ भने बिद्यार्थीहरु नियमित विद्यालयमा उपस्थित हुने गरेका छन् । दिवा खाजा कार्यक्रमले विद्यार्थीहरुको पढाईमा समेत गुणस्तर वृद्धि भएको पालिका उपाध्यक्ष डिसीको भनाई छ ।

‘कार्यक्रम सञ्चालन भईसकेपछि सामुदायिक विद्यालयमा विद्यार्थीहरु नियमित भएका छन्, पहिलेको तुलनामा अहिले बजारका जंकफुड भित्रिएका छैनन्, खानपानमा प्रभावकारीता पर्दै आएको छ’, उहाँले भन्नुभयो ‘यो कार्यक्रम बालबालिकाको पोषण सुरक्षासँगै शैक्षिक लक्ष्य हासिल गर्ने माध्यम पनि हो ।’

सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्थाले विद्यालय उमेरका बालबालिकाहरुलाई भर्ना दरमा वृद्धि गराउने, शिक्षाको पहुँचमा आधारभूत तहको शैक्षिक पहुच सुनिश्चितता गर्ने, विद्यार्थीहरुको पोषणको विद्यमान स्थितीमा सुधार ल्याउने, बिचमै विद्यालय छाड्ने प्रवृत्तिमा कमी ल्याउने, नियमित उपस्थितीमा जोड दिने लगायत उपलब्धि हासिल गर्न सकिने नेपाल सरकारको बुझाई छ ।

सफाई, खुवाई, पढाई अनि सिकाईसहितको दिवा खाजा कार्यक्रमले बालबालिकाहरुको मनोविज्ञानमा पनि सकारात्मक प्रभाव पारेको छ । नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको निःशुल्क र अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि बनेको निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा ऐन २०७५ एवम् नियमावली २०७७ ले दिवा खाजाको प्रावधानलाई कानूनी रुपमा स्थापित गरेको छ । यो विषयलाई विद्यालय क्षेत्र विकास कार्यक्रम, पन्ध्रौं योजनाको आधारपत्र, एकीकृत स्वास्थ्य रणनीति जस्ता नेपालका शिक्षा र स्वास्थ्य सम्बन्धी नीतिगत दस्तावेजहरूले उच्च महत्व दिएका छन् ।

बालबालिकाको वृद्धि, विकास र सिकाइका लागि पौष्टिक खाना तथा खाजा निर्णायक हुने कुरा विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरेका छन । विद्यालय दिवा खाजामा भएको लगानीलाई मानवपूँजी विकासको दृष्टिले महत्वपूर्ण मानिएको छ । खाना भोक मेटाउन मात्र नभई शरीरलाई आवश्यक पर्ने पोषक तत्व आपूर्तिका लागि अत्यावश्यक हुन्छ । एउटा बालकले खानाबाट प्राप्त गर्नुपर्ने कुल पौष्टिकता मध्ये कम्तीमा ३० प्रतिशत दिवा खाजाबाट प्राप्त गर्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता रहेको छ ।

स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण हुन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै नेपाल सरकारले आर्थिक वर्ष २०७७–२०७८ देखि दाङसहित देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्रारम्भिक बाल विकास देखि ६ कक्षासम्मका सबै विद्यार्थीका लागि दिवा खाजा व्यवस्थापन गर्न सरकारले बजेट विनियोजन गर्ने गरेको छ ।

दिवा खाजाको प्रभावकारिता भएपनि अहिले कतिपय विद्यालयमा विद्यार्थीहरुको संख्या भने न्युन छ । आधारभूत तह सञ्चालनमा रहेको अधिकांश विद्यालयहरुमा विद्यार्थीहरुको संख्या न्युन रहेको पाईएको छ । सामुदायिक विद्यालयमा अभिभावकको सोँच सकारात्मक बनाउन र बालबालिका पढाउने वातावरण बनाउन पालिकाहरुले अरु नवीन सोँचका साथ कार्यक्रम लागू गर्नुपर्ने अवस्था छ 

Blog Post Ad Blog Post Ad