Ad Area

खोल्साको पानी पिउनुपर्ने बाध्यता


घोराही, १२ जेठ ।
सरकारले अघि सारेको ‘एक घर एक धारा’ अभियानले पूर्णता पाउन सकेको छैन । सरकारले ल्याएको यो कार्यक्रममा स्थानीय पालिकाले पनि साथ दिँदै आएपनि पूर्णता पाउन चुनौति देखिएको छ । दाङका १० वटा पालिकामध्ये अधिकांश पालिकामा अझै सहज खानेपानीको पहुँच पुग्न सकेको छैन । बजार क्षेत्रमा धारामार्फत खानेपानीको व्यवस्था गरिएपनि यो चौबिसै घण्टा उपलब्ध हुन सक्ने अवस्था छैन ।

ग्रामीण क्षेत्रका बस्तीमा परम्परागत रुपमा प्रयोग हुँदै आएका ईनार, ह्याण्डपम्पबाट पानी उपलब्ध हुने भएपनि सुख्खा ठाउँमा जरुवा, खोल्सा, खोलाको पानी पिउनु पर्ने बाध्यता छ । जिल्लाको गढवा गाउँपालिकाको सीमावर्ती क्षेत्रका बासिन्दा पिउने पानीका लागि प्राय संघर्षरत छन् ।
उनीहरुलाई पानीका लागि खोल्सा, खोला, जरुवाको भरपर्नु पर्ने बाध्यता छ । केही स्थानमा मुहान संरक्षण गरेर पानीको व्यवस्था गरेका स्थानीयले भरपर्दो रुपमा बाह्रै महिना खानेपानीको पहुँचमा पुग्न सकेका छैनन् ।

जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ९ का पहाडी क्षेत्रमा पनि अझै सहज रुपमा पिउने पानीको व्यवस्था हुन सकेको छैन । हिउँद र गर्मी मौसममा यस क्षेत्रमा बासिन्दा खोल्साको जमेको पानी संकलन गरेर जीविकोपार्जन गर्न बाध्य हुन्छन् । आर्सेनिक मिसिएको तथा शुद्धीकरण नभएको पानी खानु उनीहरुको बाध्यता छ ।

लमही नगरपालिकाको वडा नम्बर ८, ९ का केही बस्तीमा पनि सहज रुपमा खानेपानीको उपलब्ध हुन सकेको छैन । श्रोतको पानी प्रयोग गर्दै आएका स्थानीयलाई हिउँद र गर्मी मौसममा पानीका लागि दुख झेल्नुपर्छ ।

दाङका दुई उपमहानगरपालिकाका केही वडामा अझै पनि खानेपानी बिस्तार हुन सकेको छैन । घोराहीका विकट मानिएका वडा नम्बर १, २, ५, ११, १२, १९ का बस्तीहरुमा अझै सहज रुपमा खानेपानी बिस्तार हुन सकेको छैन ।

उता, तुलसीपुरका केही वडाबासी पनि खानेपानी कै तड्पिनु पर्ने अवस्था छ । बंगलाचुलीको केही वडाहरु, दंगीशरणको वडा नम्बर २, ३, शान्तिनगरको केही बस्ती, बबईको वडा नम्बर १, २, ३, ७ का केही गाउँमा अझै खानेपानीको हाहाकार छ । केही ठाउँमा मुहान संरक्षण गरेर पाईपमार्फत पानी पुर्याउने प्रयास भएपनि सुरक्षित पानी उपलब्ध हुन सकेको छैन ।

Blog Post Ad

दाङमा एक लाख ६२ हजार दुई सय ६६ परिवार छन् । ती मध्ये धेरै जसो परिवार खानेपानीको जोहो गर्नमै समय बिताउने गरेको छ भने पानी उपलब्ध हुने ठाउँमा पनि सुरक्षित पानी पाउन मुस्किल देखिन्छ ।

नागरिकले वर्षौदेखि पानीका लागि संघर्ष गरिरहँदा राज्यले यो क्षेत्रमा लगानी गरेको जस्तो गरे पनि उपलब्धी न्यून देखिएको छ । खासगरी, गर्मीको समयमा खोला र कुवा सुकेर काकाकुल बन्दै गर्दा समेत खानेपानीका सरकारी योजना पर्न सकेका छैनन् । परेका योजना पनि वर्षाैंसम्म अधूरा छन् । यो पटक सरकारले उपलब्ध गराउने बजेट पनि सुनिश्चित हुन नसक्दा प्रकृयामा रहेका योजना पनि अलपत्रको अवस्थामा पुगेका छन् ।
प्राय कागजमा चल्ने अभियानले सार्थकता नपाएको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले पनि देखाएको छ । जिल्लामा ६५ हजार चार सय ८० परिवारले डिप बोरिङको र २५ हजार छ सय १८ ले कुवा, जरुवाको पानी खाने गरेको तथ्यांक छ ।

बाँकी परिवार ह्याण्डपम्प, जरुवा र खोलाकै भरमा आर्सेनिक मिसिएको तथा शुद्धिकरण नभएको पानी खान बाध्य छन् । खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख भोला थापाले खानेपानी योजनाअन्तर्गत डिप बोरिङ तथा खोला, जरुवाको पानीमा किटनाशक औषधि प्रयोग गर्ने गरेको जानकारी दिनुभयो । सतहको पानी प्रयोग हुने ह्याण्डपम्प र कुवाको पानी जमिनको माथिल्लो तहबाटै आउने भएकोले आर्सेनिक र खोलाको पानीमा शुद्धता नहुन सक्छ ।

खानेपानीका विकासका योजनालाई पूरा गर्न नसक्दा सुरक्षित खानेपानी पिउने सपनामा धक्का लागेको छ । दाङमा अझैपनि ट्युवेल र ह्यान्ड पम्पबाट पानी खाने परिवार १९ हजार छ सय ८१ छन् । कुवाको पानीमा आश्रित परिवार ४२ हजार चार सय ३६ छन् । जसमा नछोपेको खुला कुवाको पानी खाने परिवार १६ हजार छ सय १० छन् । चार हजार छ सय ७१ परिवार त थोपा पानीको भरमा छन् । नदी र खोलाको भरमा दुई हजार पाँच सय ६६ परिवार छन् । दाङमा जार र बोतलको पानी खाने परिवार पाँच सय चार मात्रै छन् भने अन्य स्रोतबाट पानी खाने एक हजार दुई सय १० परिवार छन् ।

घोराही उपमहानगरपालिकामा रहेका ४९ हजार सात सय ६१ परिवार मध्ये ह्याण्डपम्प, कुवा र खोलाकै पानीको भरमा २० हजार आठ सय ९४ परिवार छन् । १८ हजार ५३ परिवार त अझै कुवाको भरमा छन । तुलसीपुर उपमहानगरपालिकामा रहेका ४६ हजार १८ परिवारमध्ये ह्याण्डपम्प, कुवा र खोलाकै पानीको भरमा १७ हजार चार सय ५४ परिवार छन् ।

१३ हजार आठ सय ७६ परिवार अझै कुवाको भरमा छन् । जसमा चार हजार सात सय ६० परिवारमा खुला कुवा छ । लमही नगरपालिकामा रहेका १३ हजार चार सय ५८ परिवारमध्ये ह्याण्डपम्प, कुवा र खोलाकै पानीको भरमा छ हजार तीन सय ८४ परिवार छन् । लमहीमा ट्युवेल र ह्यान्डपम्पबाट पानी खाने परिवार चार हजार एक सय सात छन् भने दुई हजार ३१ परिवार कुवाको पानीमा आश्रित छन् । राप्ती गाउँपालिकामा रहेका ११ हजार आठ सय २६ परिवारमध्ये ह्याण्डपम्प, कुवा र खोलाकै पानीको भरमा छ हजार चार सय ९९ परिवार छन् । १८ हजार ५३ परिवार त अझै कुवाको भरमा छन् । राप्तीमा ट्युवेल र ह्याण्डपम्पबाट पानी खाने परिवार पाँच हजार छ सय सात छन् ।

गढवा गाउँपालिकामा रहेका नौ हजार नौ सय ६४ परिवारमध्ये ह्याण्डपम्प, कुवा र खोलाकै पानीको भरमा छ हजार आठ सय ९१ परिवार छन् । गढवामा ट्युवेल र ह्याण्डपम्पबाट पानी खाने परिवार पाँच हजार एक सय ६९ छन् भने एक हजार चार सय ३६ परिवार कुवाको भरमा छन् ।
बंगलाचुली गाउँपालिकामा रहेका पाँच हजार एक सय ३९ परिवारमध्ये खोलाको पानीको भरमा दुई हजार सात सय ३५ परिवार छन् । बंगलाचुलीमा चार सय १९ परिवार कुवाको भरमा छन् भने तीन सय १८ परिवारका कुवा खुला रुपमा रहेका छन । त्यहाँ डिप बोरिङबाट निस्केको पानी खाने परिवार एक हजार तीन सय ६० छ ।

शान्तिनगर गाउँपालिकामा रहेका छ हजार नौ सय १९ परिवारमध्ये ह्याण्डपम्प, कुवा र खोलाकै पानीको भरमा एक हजार पाँच सय दुई परिवार मात्रै छन् । शान्तिनगरमा कुवाको पानीको भरमा एक हजार १८ परिवार छन् । बबई गाउँपालिकामा रहेका सात हजार सात सय २७ परिवारमध्ये ह्याण्डपम्प, कुवा र खोलाकै पानीको भरमा एक हजार चार सय ८८ परिवार छन् ।

बबईमा ट्युवेल र ह्याण्ड पम्पबाट पानी खाने परिवार एक सय ४० छन् भने छ सय १७ परिवार कुवाको पानीको भरमा छन् । दंगीशरण गाउँपालिकामा रहेका पाँच हजार आठ सय २५ परिवारमध्ये ह्याण्डपम्प, कुवा र खोलाकै पानीको भरमा तीन हजार आठ सय ३८ परिवार छन् । दंगीशरणमा तीन हजार दुईसय तीन परिवार त अझै कुवाको भरमा छन् भने त्यहाँ एक हजार तीन सय १६ परिवारले खुला कुवाको पानी खान्छन् । राजपुर गाउँपालिकामा रहेका पाँच हजार आठ सय २९ परिवारमध्ये ह्याण्डपम्प, कुवा र खोलाकै पानीको भरमा चार हजार छ सय ७१ परिवार छन् । राजपुरमा ट्युवेल र ह्याण्ड पम्पबाट पानी खाने परिवार दुई हजार चार सय २८ छन् भने एक हजार तीन सय ३८ परिवार कुवाको भरमा छन् ।

ह्याण्डपम्प, कुवा र खोलाकै पानीको भरमा धेरै परिवार रहेको जिल्लामा शुरु गरिएका खानेपानीका योजना बजेट अभाव झेल्दै छन् । जिल्लामा यो वर्ष साना ठूला गरेर करीव ३ सय योजना रहेका छन् । क्रमागत योजनाका रुपमा रहेका ५१ वटा आयोजनाको काम यस वर्ष शुरु नै भएको छैन । एक करोडदेखि पाँच करोडसम्मका आयोजनामा ५० हजारका दरले बजेट छुट्याइँदा काम नै शुरु गर्न नसकिएको कार्यालय प्रमुख थापाको भनाई छ ।

काम पूरा भएका र अन्तिम चरणमा रहेका आयोजनाको भुक्तानी गर्न बजेट सुनिश्चित नहुँदा भुक्तानी दिन सक्ने अवस्था पनि नरहेको उहाँले बताउनुभयो । बजेट अभावमा थलिएका र कामै शुरु नभएका खानेपानी आयोजना जिल्लामा एक सय ४२ वटा रहेको खानेपानी डिभिजन कार्यालय दाङले जनाएको छ ।

जिल्लामा दुई सय ८६ खानेपानीका ठूला साना योजना र केही पुराना आयोजना सम्पन्न गर्ने लक्ष्य रहेकोमा सरकारले अति न्यून बजेट छुट्याउँदा क्रमागत योजनासमेत थला परेको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो । जसले गर्दा जिल्लाका धेरै जसो स्थानमा सहज खानेपानीको पहुँच पुर्याउने लक्ष्यमा धक्का लागेको उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad