Ad Area

दाङलाई छोएन संघीय बजेटले


दाङ, १७ जेठ । रेडियो, टेलिभिजन र युट्युव सुनेर÷हेरेर बसिरहेका दाङबासीहरूले दाङलाइ बजेटले सम्बोधन गर्न सकेको छैन । यसले दाङबासीमा निराशा छाएको छ । जिल्लाबाट मुख्यमन्त्री बनेका छन् । संघीय सरकारमा पनि नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पनि यहीँकै छन् ।

प्रदेश सरकारमा दुई–दुईजना मन्त्री बनेका छन् तर दाङ जिल्लालाई बजेटले छुनसकेको छैन । यद्यपि राजनेताले भने दाङलाई बजेटले पर्याप्त मात्रामा सम्बोधन गरेको बताएका छन् । अहिले यहाँ यही विषयमा चर्चा भइरहँदा नागरिक र राजनेताहरूका भिन्न–भिन्न अभिव्यक्तिहरू आइरहेका छन् । यद्यपि यसलाई रातो किताबले मात्रै उजागर गर्नेछ ।

‘हामी यहाँका नेताहरू ठूला–ठुला पदमा पुग्दा दाङको समृद्धिमा खासै योगदान देखिएको आत्मअनुभूति हुन सकेन’, तुलसीपुर उपमहानगरपालिका–१७ झिँगैका धर्म केसीले भने । उनको बुझाइमा दाङ जिल्लाका नेताहरूमा आत्मविश्वास र आत्मबल छैन, उनीहरूले जसरी चुनावमा भोट मागिरहेका थिए, त्यसरी बजेट आउन सकेन । चुनावमा गर्ने भाषण फरक रहेछ, गर्ने काम अर्कै रहेछ भन्दै उनले सांसद निर्वाचन विकास कार्यक्रमलाई पनि जनताले स्वीकार नगरेको अभिव्यक्ति दिए ।

बजेटले टरिगाउँ विमानस्थललाई स्तर वृद्धि गर्न रकमको अंक तोकेको छैन । दुई वर्षमै दुई दर्जनभन्दा बढीको ज्यान घुमाएको घोराही तुलसीपुर सडकको स्तर वृद्धिलाई पनि सम्बोधन गरेन । बजेटले बोल्यो, खाली अंकहीन योजना । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा प्रवाह विस्तार गरिनेछ । टरिगाउँ विमानस्थलको स्तर वृद्धि गरिनेछ अनि प्रगन्ना सिंचाइ र बड्कापथ सिंचाइ आयोजनालाई निरन्तरता दिइनेछ । यसले जनताको मन जित्न सक्दैन ।

दाङलाई बजेटले छोएको भनेको एउटा मात्रै शीर्षक छ, त्यो हो राप्ती राजमार्गको स्तर वृद्धि । त्यसमा बजेटको अंक तोकिएको छ तर अन्य आयोजनालाई सम्बोधन मात्रै गरिएको छ । बजेट सुनिश्चितता छैन । अंकमा उल्लेख नभएको बजेट आउने झिनो सम्भावना रहेको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन् । यहाँबाट निर्वाचित सांसदहरूले भने बजेटले दाङ जिल्लालाई पर्याप्त सम्बोधन गरेको बताएका छन् । निर्वाचन क्षेत्र नम्बर ३ का सांसद दीपक गिरीले टरिगाउँ विमानस्थलको स्तरोन्नतिको सन्दर्भमा पर्याप्त बजेट आउने बताएका छन् ।

यसैगरी उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा वृद्धिसँगै दंगीशरण राजदरबारको पुनरुत्थान र देउखुरी क्षेत्रमा पनि सिंचाइका ठूला योजना बड्कापथ र प्रगन्ना सिंचाइ आयोजनामा पनि आवश्यकताअनुसार बजेट विनियोजन हुनेमा विश्वस्त हुन जिल्लाबासीलाई आग्रह गरेको छन् । ‘मुलुकमा आर्थिक संकटको अवस्था भइरहँदा पनि हामीले बजेटमार्फत धेरै गौरवका आयोजनालाई स्वीकार गर्न पाएका छौँ, टरिगाउँ विमानस्थल होस् वा राप्ती राजमार्गको स्तरवृद्धि सबैलाई बजेटले सम्बोधन गरेको छ’, गिरीले भने । बजेटले दाङलाई सम्बोधन गर्न सकेन भन्नु निरर्थक भएको पनि उनको अभिव्यक्ति थियो ।

Blog Post Ad

यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ का सांसद मेटमणि चौधरीले पनि बजेटले दाङलाई सम्बोधन गर्नसकेको दाबी गरेका छन् । उनले अहिल्यै मुलुकमा पैसाको अभाव भएकाले बजेटको अंक नतोकिएको बताउँदै आर्थिक सुधारसँगै दाङले पनि आवश्यक मात्रामा अंकमै उल्लेख हुने बजेट पाउने बताए । कुन आयोजनामा कति रकम भन्ने रातो किताबमा आउने भन्दै उनले केही दिनभित्रै जिल्लाका सबै योजनामा आउने बजेटबारे आफूले बताउने बताएका छन् ।

‘बडकापथ, प्रगन्ना, राप्ती राजमार्ग, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दंगीशरणको सुकौरा दरबारलगायत लमही भालुवाङ सडकको स्तर वृद्धिलाई समेत बजेटले सम्बोधन गरेको उनको दाबी थियो ।त्यसो त यस अघिका बजेटमा यस क्षेत्रमा नौमुरे बहुद्देश्यीय जलाशय परियोजना, माडी डाइभर्शन, बबई लिफ्टिङलगायत टरिगाउँ विमानस्थलको स्तर वृद्धिसँगै नारायणपुर क्षेत्रमा स्तरीय विमानस्थलको निर्माणका कुरा पनि उठेका थिए ।

Blog Post Ad Blog Post Ad