Ad Area

आर्थिक जीवनस्तर उकास्न किसानलाई बाख्रा उपहार


प्रमोद आचार्य
दंगीशरण,२० जेठ । दंगीशरण गाउँपालिकामा किसानहरुको जीवनस्तरमाथि उकास्न उपहार स्वरुप बाख्रा प्रदान गरिएको छ ।

कृषि तथा पशु विकासमा आधारित सानाकिसान तथा युवा उद्यमसिलता परियोजनाअन्तर्गत सिद्देश्वरी महिला समुह दंगीशरण गाउँपालिका–७ बुटनियाको आयोजना एवं हेफर प्रोजेक्ट नेपालको प्राबिधिक सहयोग तथा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा बाख्रा उपहार स्वरुप प्रदान गरिएको हो ।

गतबर्षदेखि संचालित कार्यक्रमअन्तर्गत किसानलाई वितरण गरिएका माउ बाख्राबाट उत्पादित बाख्रा उपहार स्वरुप समूहका अन्य सदस्यहरुलाई प्रदान गरिएको हो । ‘भोकालाई एक छाक, भोजन होइन जिउने जुक्ति सिकाउ’ भन्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा बाख्रा वितरण गरिएको थियो ।

कार्यक्रममा समूहमा आवद्ध महिलाहरुको आर्थिक आयस्तरमाथि उकास्न बाख्रा उपहार कार्यक्रम गरिएको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएका छन् । गाउँपालिकाको ७० प्रतिशत र हेफर प्रोजेक्ट नेपालको ३० प्रतिशत सहयोगमा दंगीशरणमा कृषि तथा पशुपक्षीको क्षेत्रमा प्रभावकारी काम गर्न परियोजना लागु गरिएको बताएका थिए ।

सिद्देश्वरी कृषि महिला समुहकी अध्यक्ष सावित्रा केसीको अध्यक्षतामा भएको कार्यक्रममा दंगीशरण गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष रेशम वलीले सानो सहयोगबाट ठुलो उपलब्धि प्राप्त गर्न बाख्रा उपहार गरिएको भन्दै यसलाई सदुपयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा महिला सामुदायिक सेवा केन्द्रका नवराज अधिकारी, दंगीशरण गाउँपालिका प्रेस संयोजक प्रमोद आचार्यलगायतले बोलेका थिए ।

परियोजनाका बारेमा हेफर प्रोजेक्ट नेपालका महेश आचार्यले प्रकाश पारेका थिए । हेफर प्रोजेक्ट नेपाल दंगीशरणकी कार्यक्रम संयोजक गोमा भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समूह सदस्य पुष्पा पौडेलले गरेकी थिइन ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad