Ad Area

झिमरुक गाउँपालिकाका अध्यक्षका छोराले कर्मचारी ‘कुटे’, पालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द


प्युठान,२४ जेठ । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीले कर्मचारीलाई हातपात गरेको आरोप लागेको छ ।

पूरा नभएको योजनाको भुक्तानीका लागि योजनाका अध्यक्ष रामबहादुर खड्का, सचिव गोपाल खड्कासहित गाउँपालिकाको कार्यालयमा पुगेका मिलन एमसीले योजना शाखामा कार्यरत कर्मचारी दीपक जिसीलाई भुक्तानी दिन भन्दै अपशब्द बोलेर हातपात गरेका कर्मचारीहरूले आरोप लगाएका छन् । जिसीले यो विषय प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउने क्रममा सबै शाखाका कर्मचारी जम्मा भएका थिए ।

सबै कर्मचारी जम्मा भएको बेलामा समेत मिलन एमसीले टेलबमा पैसा फ्याँक्दै अश्लील गाली गरेको कर्मचारीहरूले निकालेको विज्ञप्तिमा उल्लेख छ । एमसीले आफू माओवादी निकट अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष रहेको भन्दै धम्की पनि दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारीहरूले मिलन एमसीलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग आग्रह गरेका छन् । कारबाही नभएसम्म झिमरुक गाउँपालिकामा अत्यावश्यकबाहेकका सेवा प्रवाह अनिश्चितकालका लागि बन्द हुने कर्मचारीहरूले जनाएका छन् ।

Blog Post Ad Blog Post Ad