Ad Area

वैदेशिक रोजगारीको पीडा– दलालको भर पर्दा लाखौँ ठगी, पीडितको विचल्ली


घोराही, २७ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का भीष्म भण्डारी वैदेशिक रोजगारीका लागि क्यानाडा जाने भन्दै दलालको सम्पर्कमा पुग्नुभयो । करीव २ महिनाअघि भण्डारीले विदेश पठाउने दलाल तुलसीपुर ७ कै अंकित अधिकारीलाई आकर्षक तलब र काम पाईने प्रलोभनमा बीस लाख नब्बे हजार रुपैयाँ बुझाउनुभयो । रकम बुझाएपछि अब विदेश जान पाईने भयो भन्दै दिन पर्खेर बस्नुभएका भण्डारी अन्ततः दलालको ठगीमा पर्नुभयो । उहाँको करीव २१ लाख डुबेको छ भने मानसिक तनाव सहनु परेको छ ।

सल्यानको छत्रेश्वरी गाउँपालिका ४ का वुद्धिप्रकाश वली पनि दुई महिनाअघि दलाल अधिकारीकै सम्पर्कमा पुग्नुभयो । उहाँले पनि साथीभाइहरुको सल्लाहमा काम भई हाल्छ, विदेश गएपछि राम्रो कमाई हुने र लिएको ऋण समयमै तिर्न सकिने कल्पना गरेर दुई लाख पेश्कीमा रुपमा बुझाउनुभयो । काम राम्रो छ, कमाई पनि निकै हुन्छ भन्दै भिषा मोबाईलमा पठाएको कुरा सुनाएर रकम लिएका दलाल अधिकारी अहिले सम्पर्क बिहीन भएको वलीको भनाई छ ।

खासमा अंकित अधिकारीले भण्डारी र वली जस्तै २१ जना युवाहरुलाई क्यानाडा, पोल्याण्डलगायत युरोप देशमा पठाउछु भन्दै भिषा टिकट मोबाईलमा पठाएर रकम आफ्नो खातामा दाखिला गर्न लगाएर अहिले आफुहरुलाई अलपत्र पारेको उनीहरुको दुखेसो छ । तुलसीपुर  उपमहानगरपालिका–२ खैरीपुरका गंगाबहादुर डाँगीले पनि गत जेठ १६ गते क्यानडा जाने भन्दै १५ गते घरबाट बिदा भएर काठमाडौ हिँडे । अर्का रोहित केसी पनि क्यानडा जानका लागि विभिन्न समयमा गरी २७ लाख रुपैयाँ बुझाउनुभयो ।

एजेन्टले दिएको मितिमा क्यानडा उडानको लागि काठमाडौं जानुभयो । उडान हुने दिन र जानकारी गराइएको समयसम्ममा पनि कागजपत्र नपाएपछि आफूहरु ठगिएको यकिन भयो । जेठ १६ गते विदेश जाने मिति आएको भन्दै काठमाडौँ बोलाएर अन्तिममा अलपत्र पारेको पीडितहरुको भनाई छ । उनीहरुका अनुसार, घरबाट विदाई भएर काठमाडौ विमान स्थल पुगेका उनीहरु ५ घण्टा कुरेर बसेपछि दलाल भनिएका अधिकरी आएर कागजी प्रकृया नपुगेको भन्दै पछि पठाउने आश्वासन दिएर अहिले फरार भएको उनीहरुको आरोप छ ।

रकम बुझाउनेहरुमा रोहित केसीले २७ लाख, दीपक भट्टराईले २१ लाख २० हजार, सुशान कार्कीले १८ लाख, सचिन घर्तीले ३ लाख, तीर्थ भण्डारीले ४ लाख, राजकुमार बिकले ४ लाख, आशाराम चौधरीले २ लाख, गोविन्द डाँगीले १ लाख ५० हजार, श्याम चौधरीले ५ लाख, सुन्दर सुनुवारले ३ लाख रुपैयाँ बुझाउनु भएको छ । यसैगरी सोही समुहमा रहनुभएका सुशान्त वलीले ५ लाख पचास हजार, गणेश वलीले ५ लाख, डम्मर बस्नेतले ५ लाख, पदम महराले ४ लाख पचास हजार, टीकाराम बसेलले ९ लाख, कमल भण्डारीले ९ लाख तथा राजकुमार श्रेष्ठले ८ लाख रुपैयाँ गरी २१ जनाले १ करोड ६३ लाख रुपैयाँ दलाल भनिएका अधिकारीले ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, एभरेष्ट बैंकमार्फत रकम पठाउन लगाएको प्रमाण पीडितहरुले प्रशासनमा पेश गरेका छन् ।

घोराही ४ का विनोद चौधरी पनि विदेश जाने नाममा ठगीमा पर्नुभएको छ । गत वर्षको असारमा फ्रान्स पठाई दिनेभन्दै दलालले ९ लाख ५४ हजार रकम लिएर फरार भएपछि विनोदको परिवार पनि तनाव छ । उहाँसँगै अरु ६ जनाले पनि माल्टा र फ्रान्स जान पाईने प्रलोभनमा परेर जनही १० लाख बुझाएका थिए । उनीहरुले गुल्मीका लालबहादुर परियार, कैलालीका रेवती बिष्ट र अर्का एक महिला दलाललाई रकम बुझाएका हुन् ।

Blog Post Ad

घोराही १८ का सन्दीप पाण्डेले पनि राधिका आचार्य, गीता चौधरी, लालु चौधरी र कृष्णप्रसाद चौधरीलाई राम्रो तलब र काम पाईने भन्दै क्रोशिया, टर्की पठाउने प्रलोभन देखाएर रकम असुली गरी अहिले सम्पर्क बिहीन भएपछि उनीहरु तनावमा छन् । पीडितले दिएको उजुरी अनुसार, राधिकाले १ लाख ९५ हजार, गीताले २ लाख १५ हजार र कृष्णप्रसादले ३० हजार रुपैयाँ दलाललाई बुझाउनुभएको छ । तर अहिले दलाल सम्पर्क बिहीन रहेको उनीहरुको भनाई छ ।

वैदेशिक रोजगारको यात्रालाई व्यवस्थित बनाउन काम गर्दै आएको सुरक्षित आप्रवासन कार्यक्रमका अनुसार, दाङमा पछिल्लो समय अस्वाभाविक रुपमा वैदेशिक ठगीका घटना बढ्दै गएको छ । वैदेशिक रोजगारीका लागि दलालको विश्वास गर्दा दाङमा धेरै युवाहरु ठगिने क्रम बढेको छ । जिल्लाको विभिन्न स्थानबाट पछिल्लो समय ठगीका उजुरी पर्न थालेपछि दलालले लाखौँ रकम ठगी गरेको तथ्य बाहिरिएको छ ।

ठगीमा पर्नेहरु आकर्षक तलब र काम पाईने लोभमा परेर दलालको भर पर्दा ठूलो रकम ठगीमा परेका छन् । माल्टा, क्यानाडा, फ्रान्स, अमेरिका, पोल्याण्ड जस्ता देशहरुमा आकर्षक तलब र काम दिलाई दिनेभन्दै लाखौँ रकम असुली गरेर अन्तिममा दलाल सम्पर्क बिहीन हुने गरेपछि पीडितहरु न्यायका लागि प्रहरी प्रशासनमा पुग्ने गरेका छन् । ऋण लिएर दलाललाई बुझाएको रकम फिर्ता पाउनुपर्ने, दलाललाई कारवाही हुनुपर्ने माग गर्दै उजुरी पर्ने गरेको वैदेशिक रोजगारका क्षेत्रमा काम गर्दै आएको सुरक्षित आप्रवासन सामी कार्यक्रमकी सहजकर्ता रीता लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, हालसम्म दाङको सामीमा २ सय ६१ वटा उजुरी परेकोमा ठगी सम्बन्धी उजुरीको संख्या १ सय ३५ वटा रहेका छ । विदेशमा अलपत्र परेको, मृत्युभएको, समस्यामा परेको लगायत समस्या लिएर पनि उजुरी दिन आउने गरेका उहाँले बताउनुभयो । तर, पछिल्लो समय वैदेशिक रोजगारको लागि युरोपलगायतका देशमा जान दलालको भर परेर मोटो रकम बुझाउँदै अलपत्र पर्नेहरुको संख्या बढेको छ । सामी कार्यक्रम संयोजक बसन्ता पुनले २० हजारदेखि ८० लाख रुपैयाँसम्म दलाललाई बुझाएर ठगीमा परेको गुनासोसहित उजुरी परेको बताउनुभयो । विभिन्न सचेतनामूलक कार्यक्रम बारम्बार गर्दै आएपनि नागरिकहरुबाट पनि लापरवाही बढेको तर्क गर्नुभयो ।

वैदेशिक रोजगारमा जानेले अपनाउनु पर्ने प्रकृयाका बारेमा बारम्बार जानकारी गराउने, बस्ती टोलमा समेत सचेतनाका कार्यक्रम गरिरहँदा पनि लापरवाही भईरहेकाले सबै सचेत हुनुपर्ने बताउनुभयो । देशको अवस्थाका कारण आन्तरिक रोजगारीमा निकै कमी आएको छ । यहाँ नयाँ उद्योगधन्दा खुल्न सकेका छैनन् भने खुलेका उद्योगका लागि पनि आवश्यक कर्मचारी मजदुरको पूर्ति हुन नसक्दा अवसरको कमी भएपछि युवाहरु रोजगारीको विकल्प खोजि रहँदा दलालको फन्दामा पर्ने गरेका छन् ।

मुलुकमा जनशक्ति अनुसारको रोजगारीको अवसर कम हुँदै गएपछि युवा वैदेशिक रोजगारीतर्फ आकर्षित भएका छन् । बढ्दो बेरोजगारी, पारिवारिक दबाव, सामाजिक प्रतिष्पर्धा, अस्वस्थ खर्च, बिलासी जीवनशैलीका कारण खर्च धान्न नसक्ने अवस्था भएपछि ऋण धन गरेर भएपनि अमेरिका, युरोप जाने लहडले गर्दा युवाहरु ठगीमा पर्ने गरेका छन् ।

यसले समाजका स्थिती निकै भयावह बनाउँदै लगेको छ । सामाजिक संरचना बिथोलिएको छ, यहाँको उत्पादन घटेको छ भने मुलुक परनिर्भर बन्दै गएको छ । वैदेशिक रोजगारीमा जानका लागि दलाल वा म्यानपावरलाई रकम बुझाएर घर न घाटको अवस्थामा पुग्नुपर्ने विडम्बनाले धेरैको घरबार उजाडिएको छ ।

Blog Post Ad Blog Post Ad