Ad Area

घोराहीलाई नमुना सहरका रूपमा विकास गछौं : नगर प्रमुख चौधरी [अन्तर्वार्ता]


लुम्बिनी प्रदेशको राजधानी दाङ जिल्लामा रहेको घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले देशकै ठुलो उपमहानगरपालिका हो । चुरे र महाभारात पर्वतले घेरेको एसियाकै दोस्रो ठुलो उपत्यका दाङ उपत्यकामा रहेको घोराही उपमहानगरपालिका कुल ५२२.२१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । १९ वडामा फैलिएको घोराही उपमहानगरपालिका साविकको राप्तीको प्रमुख केन्द्रका रूपमा छ ।

कृषि, शिक्षा, स्वास्थ्यसँगै पयर्टनका दृष्टिले अत्यन्त सम्भावना बोकेको घोराहीको विकास गर्दै पश्चिम क्षेत्रमैै कृषिमा आत्मनिर्भर सफा, स्वच्छ र हरितसहरका रूपमा अघि बढाउन नगर प्रमुख नरुलाल चौधरीले योजना बनाएर काम गर्दै आएका छन् । नगर प्रमुख चौधरीको यो दोस्रो कार्यकाल समेत हो । उपमहानगरपालिकाले अबको केही दिनभित्र नयाँ आर्थिक वर्षका लागि नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी समेत गरेको छ ।

सुख्खा हुँदै गएको घोराहीमा पानीको संरक्षण गर्दै कृषिमा सहयोग पु¥याउने उद्देश्यअनुसार नगरका विभिन्न वडामा ४२ वटा कृत्रिम जलाशय निर्माणदेखि फोहोरबाट ग्यास र प्राङ्गारिक मल उत्पादनको तयारीलाई अघि बढाउने काम भएको छ । यसै सन्दर्भमा नगर प्रमुख नरुलाल चौधरीसँग पत्रकार लीलाधर वलीले गरेको कुराकानीको सार संक्षेप ।

नगर प्रमुखमा निर्वाचित भएको एक वर्ष पूरा भएको छ, पहिलो वर्षलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

 नगर प्रमुखमा निर्वाचित भएर कार्यभार सम्हालेको एक वर्ष बितेको छ । यो मेरो दोस्रो कार्यकालको पहिलो वर्ष हो । समग्रमा भन्नुपर्दा यो वर्ष उपलब्धिमूलक नै भएको छ । पहिलो कार्यकाल पनि स्वयम् म आफै नगर प्रमुख भएर काम गरेकाले होला दोस्रो कार्यकालको पहिलो वर्ष काम गर्दा सजिलो भयो । अघिल्लो कार्यकालमा पनि धेरै काम गरेका थियौँ । केही सुरुवात गरेर गर्न पाएका थिएनौँ, त्यो यो वर्ष गरेका छाँै ।

साथै बितेको वर्ष नगरको विकासका लागि आवश्यक थप विभिन्न ऐन, नियम र कार्यविधि बनाएका छौँ । निर्वाचनको पहिलो वर्षलाई चुनावी वर्षका रूपमा पनि लिने गरिन्छ । त्यहीअनुसार कामलाई व्यवस्थित गर्न पूर्वाधार, आर्थिक, सामाजिक, सुशासनलगायतका क्षेत्रमा सुधार जनतासँग गरेको वाचाअनुसार नगरको विकासका लागि काम गर्दै अघि बढेका छाँै ।

नगरको विकासका लागि के–के काम गर्नुभयो ?

 घोराहीको विकासका लागि पूर्वाधार, आर्थिक, सामाजिक, सुशासनलगायतका क्षेत्रमा धेरै काम भएका छन् । उपमहानगरपालिकालाई देशमै पहिलो पटक बालमैत्री उपमहानगरपालिका घोषणासँगै फोहोरबाट ग्यास उत्पादनको सुरुवात गरेका छौँ । घोराहीबाट निस्कने फोहोरबाट १५ सय घरपरिवारलाई ग्यास वितरणका लागि उत्पादन सुरु गरेका छौँ । साथै सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, विद्युतीकरणलगायतका क्षेत्रमा पनि उल्लेख्य काम गरेका छौँ । उदाहरणका रूपमा हामीले प्रत्येक वडाका बस्तीलाई सडक सञ्जालमा जोड्न सफल भएका छौँ ।

यही अवधिमै अधिकांश घरमा विद्युतसँगै खानेपानीलगायतका सुविधा पु¥याएका छौँ । बाँकी दुई वर्षभित्र १९ वटै वडाका सबै बस्तीका सबै घरमा खानेपानी र विद्युतको सुविधा पु¥याउने योजना छ । प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवाको व्यवस्था गरेका छौँ । प्रत्येक वडामा नमुना विद्यालय छनोट गरेर बालबालिकालाई गुणस्तरीय निःशुल्क शिक्षा दिने योजनामा छौँ । त्यसको काम अघि बढिसकेको छ । नगरको समृद्धिको आधारका रूपमा रहेका कृषि र पर्यटन क्षेत्रको विकासका लागि पनि धेरै काम भएका छन् । कृषिको आधुनिकीकरण गर्दै किसानको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यअनुसार युवालाई कृषि प्रोत्साहन गर्ने गरी काम गरेका छौँ । गाउँ–गाउँमा सडक पु¥याएका पनि छौँ ।

तर उपमहानगरपालिका अगाडिकै सडक वर्षौँदेखि अलपत्र अवस्थामा छ नि ?

 हो, नगरको विकासका लागि धेरै काम गर्दा पनि केही समस्या भएका छन् । तपाईँले भने जस्तै उपमहानगरपालिकाकै अगाडि रहेको सहिदगेटदेखि जिल्ला प्रशासन जोड्ने सडक, क्याम्पस रोड, वडा नं. १० को खैरा–कोठरी सडकसँगै वडा नं. ४ मा १५ शय्याको नगर अस्पताल निर्माणसँगै उपमहानगरपालिककै प्रशासनिक भवन समयमै निर्माण गर्न सकेका छैनाँै । जसले गर्दा प्रत्येक वडाका गाउँ–गाउँमा सडक निर्माणसँगै कालोपत्रे गर्दा पनि हामीलाई प्रश्न गर्ने ठाउँ बनेको छ ।

समयमै काम सक्नका लागि पटक–पटक आग्रह गर्दा पनि निर्माण व्यवसायीले नटेर्ने प्रवृत्ति छ तर सार्वजनिक खरिद ऐन निर्माण व्यवसायीकै पक्षमा भएकाले म्याद नसकिँदासम्म हामीले उनीहरूलाई कारबाही गर्नसक्ने समेत अवस्था छैन । समयमै काम नगर्ने निर्माण व्यवसायी कारबाही गर्ने अधिकार नहुँदा उनीहरूलाई काममा ताकेता गर्नु बाहेक अरू अधिकार छैन ।

उपमहानगरको विकासका लागि काम गर्दा के–कस्ता समस्या र चुनौती पाउनुभयो ?

 पक्कै पनि उपमहानगरको विकासका लागि काम गर्दा केही चुनौती छन् । जसले गर्दा चाहेअनुसारको विकास गर्न सकेका छैनौँ । केही नीतिगत कठिनाइहरू रहेका छन् भने केही नगरको भौगोलिक अवस्थाका कारण समस्या भएका छन् । घोराहीलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने लक्ष्य छ । त्योअनुसार विकास निर्माणका कामलाई अघि बढाएका छौँ तर सार्वजनिक खरिद ऐनका कारण केही निर्माण व्यवसायीले ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति देखिएको छ ।

शिक्षा सुधारका लागि वर्षाैँदेखि हुन नसकेको दरबन्दी मिलानको काम गरेका छौँ तर आफूलाई भनेको ठाउँ नभए अदालतमा मुद्दा हाल्दा समस्या बनेको छ । ट्राफिक व्यवस्थापन, विद्यालय सुधार, कृषि उत्पादनको बजारीकरण, भौगोलिक विकटताका कारण छरिएर रहेका बस्तीमा सडक, विद्युत, खानेपानी, स्वास्थ्यलगायतका आधारभूत सेवाहरू पु¥याउन कठिनाइ छ । यी समस्यालाई समाधान गरेर घोराहीलाई सफा, स्वच्छ स्मार्ट सिटीका रूपमा विकास गर्ने लक्ष्यमा अघि बढेका छौँ ।

अहिले बजेट निर्माणको काम भइरहेको छ, प्राथमिकतामा केलाई राख्नुभएको छ ?

 अहिले हामी बजेट निर्माणको तयारीमा छौँ । जनताका योजनालाई बजेटमा कसरी समेट्ने भन्नेमा हाम्रो ध्यान रहेको छ । बजेट भनेको जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । जनताका विकास निर्माणसम्बन्धी चाहनालाई पूरा गर्दै घोराहीलाई नमुना सहरका रूपमा विकास गर्ने गरी बजेट बनाउँदै छाँै । बजेटमा भौगोलिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, कृत्रिम जलाशय निर्माण, रोजगारी, सरसफाईलगायतका विषयलाई प्राथमिकतामा राखे तयारी भइरहेको छ । यसैगरी फोहोर सङ्कलनलाई व्यवस्थित गर्दै गल्नेबाट ग्यास उत्पादन, नगल्नेलाई बिक्री, कृत्रिम जलाशयका माध्यमबाट पानी संरक्षण तथा सिंचाइलगायतका विषयलाई प्राथमिकतामा राखेका छौँ ।

उपमहानगरको समृद्धिका लागि आगामी योजनाहरू के–के छन् ?

 नगरको समृद्धिका लागि धेरै कुराहरू अघि नै भनिसकेको छु । हामी स्थानीय सरकारका रूपमा रहेका छाँै । सीमित स्रोत र साधनमा रहेर हामीले विकास निर्माणका कामलाई अघि बढाउने हो । हामीसँग ठुलो योजना र कार्यक्रम छैनन् । नगरको समृद्धिका लागि कृषिको आधुनिकीकरण गर्दै युवालाई कृषिमा आकर्षित गर्ने, पर्यटन क्षेत्रको विकास, घोराहीलाई शैक्षिक हबका रूपमा विकास गर्ने योजना छन् ।

निर्वाचनमा जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्नेतर्फ कसरी काम भइरहेका छन् ?

 निश्चित रूपमा निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिबद्धताहरू पूरा गर्ने कार्यको सुरुवात गरेका छौँ । यद्यपि पहिलो वर्ष भएकाले धेरै काम गर्न सकेका छैनाँै । निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार आधारभूत आवश्यकताका रूपमा रहेका सडक, खानेपानी, विद्युत, सिंचाइको व्यवस्थालगायतका काम भइरहेका छन् ।

सफा र स्वच्छ उपमहानगरपालिका बनाउने अभियानमा लागेका छौँ । त्यहीअनुसार नै गल्ने फोहोरबाट बायो ग्यास र प्राङ्गारिक मल उत्पादन गर्दै छौँ । नगरका प्रत्येक वडामा खेलमैदान, खरको छानो विस्थापित कार्य, ट्राफिक व्यवस्थापन, छाडा पशुचौपाया व्यवस्थापनलगायतका प्रतिबद्धता पूरा गर्दै अघि बढेका छाँै । कतिपय विस्तारै पूरा गर्नेछौँ ।

सङ्घीय र प्रदेश सरकारसँग समन्वय र सहकार्य कस्तो छ ?

 नगरको समग्र विकासका लागि सङ्घ र प्रदेश सरकारसँग पहिलेदेखि नै समन्वय र सहकार्य भइरहेको छ । सङ्घ र प्रदेश सरकारले सर्शत अनुदान र अन्य योजनातर्फ हामीले नसक्ने ठुला योजनामा बजेट नदोहोरिने व्यवस्था भनेका छौँ । ती योजना वडाबाटै सिफारिस भएका हुनुपर्छ नत्र काम गर्न समस्या हुन्छ पनि भनेका छाँै । स्थानीय सरकारसँग समन्वय नगरेर व्यक्ति विशेषको पहुँचका आधारमा बजेट बिनियोजन गर्दा काम गर्न समस्या हुने र एउटै योजनामा बजेट समेत दोहोरिने समस्या भएकाले वडाबाट सिफारिस गरेको स्थानीय सरकारको आवश्यकताका आधारमा बजेटको व्यवस्था गर्न माग गरेका छौँ ।