Ad Area

शिक्षा अधिकृतलाई हातपात गरेको आरोपमा वडा अध्यक्ष वली पक्राउ


घोराही,८ असार । दाङमा शिक्षा अधिृकतलाई हातपात गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष सुनिल वलीलाई पक्राउ गरेको छ ।

बिहीबार दिउँसो शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेको आरोपमा उजुरी परेपछि प्रहरीले आज वडा अध्यक्ष वलीलाई पक्राउ गरेको हो । वडा अध्यक्ष वलीलाई घोराही उपमहानगरपालिका–१० बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिएका छन् ।

वडा अध्यक्ष वलीले विहीवार गाउँपालिकाको शिक्षा शाखामा प्रवेश गरी सरकारको सशर्त बजेट अन्तर्गत जनकल्याण माध्यमिक विद्यालय सिमसुन्दरपुरमा कार्यान्वयन हुने पुस्तकालय स्थापना कार्यक्रमको फाइल च्यात्नुका साथै शिक्षा अधिकृतलाई हातपात गरेको प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले बताएका छन् ।

प्रमुख प्रशासकिय अधिकृत खड्काका अनुसार वडा अध्यक्ष वली र शिक्षा अधिकृत पाण्डेको समेत उपस्थितिमा छलफल चलिरहँदा विवाद बढेपछि वडाध्यक्ष वलीले कार्यक्रमसँग सम्बन्धित सम्झौताको फाइल च्यातेका थिए । त्यसक्रममा आफुले भने अनुसार नभएको भन्दै हातपात गरेको खड्काले बताए । वली स्वतन्त्र रूपमा निर्वाचित वडा अध्यक्ष हुन ।

गत फागुनमा पनि वडा अध्यक्ष वलीले गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कामाथि कार्यकक्षमै हातपातको प्रयास गरेको आरोप लागेको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad