Ad Area

पर्यटनसँगै कला, संस्कृति संरक्षणमा वडा सरकार


सुशीला वली
दाङ, १८ असार । घोराही उपमहानगरपालिका–१४ ले वडाभित्र रहेका विभिन्न पर्यटकीय स्थल तथा कला, संस्कृति संरक्षणमा जोड दिँदै आएको छ । कला, संस्कृतिलाई प्रबद्र्धन गर्न निकै महत्वपूर्ण कार्य गर्दै आएको हो ।

जसका कारण सहिद लखन थापा पार्क पछिल्लो समय रमणीय र आकर्षक बन्दै गएको छ । बजारको मध्यभागमा रहेको पार्कमा दिनहु घुमफिर र रमाइलो गर्न त्यहाँ पुग्ने गर्छन् । शनिवार तथा बिदाको दिनमा मानिसको भिडभाड नै हुन्छ । पार्कमा फोटो खिच्ने, टिकटक बनाउनका लागि आम नागरिक जाने गर्दछन् । त्रिभुवन पार्कको रूपमा परिचित पार्कमा नेपाल मगर सङ्घ दाङले २०७२ सालमा सहिद लखन थापाको शालिक निर्माण गरेको हो ।

फागुन २ गते थापाको शालिक अनावरण गरएको थियो । त्यसयता लखन थापा पार्कको रूपमा चिनिन थालेको हो । लखन थापाको शालिक निर्माणका लागि सङ्घले २०६४ सालदेखि पहल थालेको थियो । घोराही बजारको मध्यभागमा रहेको पार्कलाई सुन्दर बनाउने काम अहिले पनि जारी रहेको छ । पार्कको भित्रि भागलाई समथर बनाउने, फुटपाथ, फुल रोप्न अझै बाँकी नै रहेका छ । फुटपाथ वरिपरि रोपिएका फूल हुर्किएर पार्क सुन्दर देखिन थालेको छ । पार्कलाई सुरक्षित र आकर्षक बनाउन फलामे गेट, हिड्नका लागि फुटपाथ तयार गरिएको छ ।

पार्कलाई आकर्षक बनाउन धेरै काम गरिएको भएको पनि अझै केही काम हुन बाँकी रहेको वडाध्यक्ष भानसिंह बुढा बताउँछन् । वडाध्यक्ष बुढाकाअनुसार गत आर्थिक वर्षमा १ लाख ५० हजार रूपैँयाको आर्थिक सहयोगमा फूल उत्पादन तथा लखनपार्क व्यवस्थापनको काम भएको छ । यसैगरी सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सिसिटिभी क्यामेरा जडान गरिएको छ भने प्रदेश सरकारको सहयोगमा लखन थापाको शालिक समेत निर्माण गरिएको छ ।

घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा पार्कभित्र पानीको फोहोरा जडान गरिएको छ भने त्यसलाई व्यवस्थित गर्न बाँकी नै छ । देश–विदेशमा रहेका मगर समुदायको सहयोगमा पार्कको बाहिरी भागमा बस्नका लागि सिमेन्टको बेन्च निमार्ण गरिएको छ । पार्कमा वडाबाट वाईफाईको समेत व्यवस्था गरिएको वडाध्यक्ष बुढाले बताए । पार्कभित्र चमेनागृह सञ्चालन गर्ने उद्देश्य रहेको छ । पार्कभित्र घुमफिरका लागि पार्कको चारैतिर गेट राखिनेछ भने गेटबाट मूर्तिसम्म पुग्न टायल विछ्याउने काम बाँकी रहेको छ ।

पार्कमा घुम्न आउने पर्यटकका लागि भेषभूषा र क्यामराको व्यवस्था गरेर फोहोरा बत्तीका लागि जडान गरिए छ । पार्कमा जडान भएको विद्युतको शुल्क तिर्न सहज होस भनेर पार्क व्यवस्थित गरेर आगामी दिनमा थोरै भए पनि प्रवेश शुल्कको व्यवस्था गर्ने वडाध्यक्ष बुढाले बताए । पार्कलाई व्यवस्थित गर्न एकराज खनालको अध्यक्षतामा ११ सदस्यीय समिति समेत गठन गरेर काम गरिदै आएको छ । उनकाअनुसार २०७६÷०७७ मा प्रदेश सरकारको ५८ लाख, घोराही उपमहानगरपालिकाको ४० लाख र वडा कार्यालयको ७ लाख रूपैयाँ खर्च गरिएको थियो ।

Blog Post Ad

यसैगरी घोराही उपमहानगरपालिका वडा नंं १४ स्थित मनकामना सामुदायिक वनको रँग फेरिएको छ । जङ्गललाई आकर्षक पार्क बनाइएको छ । पार्कमा घुम्न, फोटो खिच्न र टिकटक बनाउन पुगेका घोराही–१५ का सरिता घर्तीले पार्कमा घुम्न आउँदा मन निकै खुसी भएको बताइन् । ‘पहिले जङ्गलका रूपमा रहेको ठाउँलाई पार्कका रूपमा विकास गर्दा आकर्षक देखिएको छ’, उनले भनिन्, ‘बजारमा व्यस्त जीवन बिताउने मानिसका लागि आकर्षक ठाउँ बनेको छ ।’

२०७७ साल फागुन महिनाबाट घोराही १४ वडा कार्यालयले सहरी पार्क निर्माणको काम सुरु गरेको हो । गत वर्ष पार्कमा स्थानीय सहिदहरूको शालिक निर्माण गरिएको छ । जङ्गलको बीचमा अहिले हिड्नका लागि फुटपाथ तयार गरिएको छ । फुटपाथमा टायल बिछ्याइएका छन्, वरिपरि थरि–थरिका फूल रोपिएका छन् । अवलोकन गर्न आएकाका लागि आराम गर्न गोलघर निर्माण गरिएको छ । यही रमणीय पार्कले स्थानीय तथा घोराही बाहिरका अवलोकनकर्ताको ध्यान तानेको छ । पछिल्लो समय पार्कमा मानिस घुमफिरका लागि जाने गरेका छन् । पार्कमा कार्यक्रम समेत हुने गरेका छन् ।

गत माघ महिनामा वडाको ७० हजार रूपैयाँ आर्थिक सहयोगमा माघिमिलन कार्यक्रम भएको थियो । थारु समुदायलाई आप्mनो कला, संस्कृति जगेर्ना र संरक्षणका लागि अनुदान प्रदान गरिएको हो । वडाले कला पर्यटन क्षेत्र, सांस्कृतिक सम्पदासँगै कला संस्कृतिको विकास र संरक्षणका लागि भूमिका खेल्दै आएका स्थानीय बताउँछन् । सोही ठाउँमा दाङ देउखुरी होटल व्यवसायी समितिको आयोजना तथा घोराही उपमहानगरपालिका–१४ को एक लाख रूपैयाँको सहयोगमा तीनदिने होटल हस्पिटालिटी प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

वडाध्यक्ष बुढाले व्यावसायिक विकास गर्दै आर्थिक आम्दानी बढाउन प्रशिक्षण कार्यक्रम गरिएको बताए । प्रशिक्षण कार्यक्रमले होटल व्यवसायलाई मर्यादित र सरसफाईमा कसरी ध्यान दिने विषयमा जोड दिएको बताए । दाङ पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको जिल्ला भएकाले यसको प्रचारप्रसारलाई व्यापक बनाउँदै पर्यटकको सङ्ख्या बढाउन आवश्यक रहेको उनले बताए ।

Blog Post Ad Blog Post Ad