Ad Area

मकै पोलेर परिवार पाल्दै जितबहादुर


प्रियास्मृति गजमेर
लमही, २० असार । भेरीगंगा नगरपालिका–१० गोमीगाउँ सुर्खेत निवासी जितबहादुर खड्का ४ वर्ष पहिले कामको खोजीमा दाङको लमही आइपुगेका थिए । दुई छोरा र श्रीमतीसहित लमही आएका खड्का कामको खोजीका लागि धेरै ठाउँ पुगे तर आपूmले चाहेको जस्तो काम नपाएपछि निराश भएर परिवारसहित घर फर्किने तयारीमा थिए ।

‘साँझ घर फर्किने कुराकानी भइरहेको थियो, यत्तिकैमा श्रीमतीले कि मकै पोल्ने काम गर्ने हो भनेर भनिन्, एकछिन् म घोरिएर सोँचे, त्यसपछि हुन्छ गरौँ न त, भनेपछि सपरिवार नै मकै पोल्ने काममा लागेका हौँ’ जितबहादुरले भने । उनले मकै पोल्न लागेको पनि चार वर्ष पुगिसकेको छ ।

बेरोजगार भएर रन्थनिएका खड्का अहिले दाङको लमहीस्थित सडक छेउमा बसेर मकै पोल्ने काम गर्दै आएका छन् । ‘गर्मी सिजनमा गाह्रो हुन्छ, गाह्रो मानेर के गर्ने, परिवार पाल्नै प¥यो’, उनले भने, ‘अरू काम नभएपछि मकै पोलेर परिवार पाल्दै आएको छु ।’ गर्मी सिजनमा घामको राप, यसैगरी आगोको रापले कहिलेकाहीँ बिरामी समेत गराउने उनी बताउँछन् । बर्सामा पानी पर्दा त्रिपाल टाँगेर भए पनि मकै पोल्ने गरेको उनी बताउँछन् ।

मकै पोलेर दैनिक २ हजार पाँच सयदेखि ४ हजार रूपैयाँसम्म आम्दानी गर्दै आएको उनी बताउँछन् । मकै सँगसँगै भोला, गुट्का, मिनिरल वाटर (बोत्तलको पानी) पनि बेच्ने गरेका छन् । ‘मकै पोलेर बेच्ने गरे पनि सँगसँगै अन्य सामग्री पनि बेच्ने गरेको छु’, उनले भने, ‘त्यसबाट थोरै भए पनि आम्दानी हुन्छ ।’

खड्काका दुई छोराले लमही स्थित आदर्श नमुना माध्यामिक विद्यालयमा पढ्छन् । फुर्सदको बेला दुई भाइले बुवाआमालाई सघाउने गरेको आमा ममता खड्का बताउँछिन् । आगोको रापले हत्केला कलेटी परेका छन् । मुहारमा कोइला र खरानीका दाग देखिन्छन् । यसरी खड्काको दैनिकी बित्न थालेको करिब चार वर्ष भयो ।

पूर्व–पश्चिम राजमार्गको एक छेउमा पाल टाँगेर मकै पोल्न लागेको वर्षौँ भएको उनी भन्छिन् । मकै, भोला, पानी बेचेको पैसा सङ्गालेर लमहीमै ६÷७ धुर जग्गा किन्ने योजनामा रहेको खड्काकी श्रीमती ममताको भनाइ छ ।

Blog Post Ad

दाङमा अन्य सिजनमा पनि मकै राम्रो उत्पादन हुने भएकाले बाह्रैमहिना बजारमा हरियो मकै पाइन्छ । देउखुरीको लमही बजारमा खड्का परिवारले मात्र मकै पोलेर बेच्ने गरेकाले व्यापार निकै राम्रोसँग चल्ने गरेको खड्का बताउँछन् । पोलेको हरियो मकै प्रतिकोसा २० देखि ३० रूपियाँमा विक्री हुन्छ ।

प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले मकै सुपरजोन कार्यक्रम सञ्चालन गरेका कारण यो क्षेत्रमा बाह्रैमहिना मकै पाइन्छ । देउखुरी मकै खेतीका लागि पकेट क्षेत्रका रूपमा चिनिन्छ । यहाँका अधिकांश कृषक मकैखेती गर्दछन् । देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका, राप्ती पारिका गढवा र राजपुर गाउँपालिकासम्म पुगेर खड्काले हरियो मकै खरिद गरेर ल्याउने गछैन् ।

लमही नगरपालिकाले सडकपेटीमा बसेर खुद्रा व्यापार नगर्न पटक–पटक अनुरोध गर्दै आएको छ । दुर्घटना हुने र बजार कुरूप देखिने भएकाले यसरी सडकपेटीमा बसेर व्यापार नगर्न सूचना जारी गर्ने गरेको छ । नगरपालिकाको सूचनाले मकै पोलेर परिवार पाल्ने खड्का परिवारलाई भने पेसाबाट भाग्नु पर्ने हो कि भन्ने चिन्ताले पिरोलिरहेको छ ।

Blog Post Ad Blog Post Ad