Ad Area

घोराही–४ को वार्षिक समिक्षा : कृषिमा आधारीत योजनाहरु ल्याउन सुझाव


घोराही, ३० असार । घोराही उपमहानगरपालिका वडा नं. ४ ले वार्षिक समिक्षा गरेको छ । वार्षिक समिक्षा कार्यक्रममा वडाले वर्षभरी गरेको कामहरुको सार्वजनिक गर्दै वडावासीबाट सुझाव संकलन गरेको हो ।

वडावासीहरुको सहभागीता भएको कार्यक्रममा वडाध्यक्ष मुनाल घिमिरेले आफू निर्वाचित भएर आइसकेपछि वडबाट वर्षभरी भएका विकास निर्माणका योजनाहरुको जानकारी दिनुभएको हो । उहाँले वर्षभरी वडाले गरेका भौतिक पूर्वाधार विकास तथा सामाजिक विकासका योजनाहरुहरुको विवरण प्रस्तुत गर्नुभएको हो । वडाध्यक्ष घिमिरले वडामा सडक, नाला, कुलो कल्भर्ट, विद्यालय भवन जस्ता महत्वपूर्ण पूर्वाधार विकास निर्माणका काम सम्पन्न भएको बताउनुभयो ।

उहाँका अनुसार भौतिक पूर्वाधार तर्फ गुरागाई टोलमा ४५ लाखको नाला, आधारभुत विद्यालय सवारीकोटमा १ करोड ५ लाखको भवन निर्माण, लक्ष्मीपुर–तार्केनी सडक स्तरउन्नती, गोग्ली–लक्ष्मीपुर सडक पक्की गर्ने लगायतका काम भएको थियो ।

त्यस्तै स्वास्थ्य सेवालाई सहज बनाउन वडामा नमुना काम भएको उहाँले बताउनुभयो । ‘वडावासीलाई स्वास्थ्य सेवा पु¥याउँन लक्ष्मीपुर स्वास्थ्य चौकीबाट निशुल्क भिडियो एक्सरे र ल्याब परिक्षणको व्यवस्था गरेका छौं’ उहाँले भन्नुभयो । कार्यक्रममा सहभागी वडावासीले वडाले सडक, कृषि उत्पादन जस्ता विषयलाई प्रथामिकतामा राख्नुपर्ने बताए । उनीहरुले शिक्षा, सरसफाई, रोजगारी, पर्यटकीय विकासलाई पनि जोड दिएर योजनाहरु ल्याउँन सुझाव दिए ।

वडा नं. ४ का स्थानीय भोला अधिकारीले लक्ष्मीपुर योग्य क्षेत्र भएकाले कृषि उत्पादनमा आधारीत रहेर योजनाहरु ल्याउँन सुझाव दिनुभयो । उहाँले त्यसका लागि सिचाईको व्यवस्था गर्नुपर्ने गर्नुपर्ने बताउनुभयो । ‘वडामा कृषिको उत्पादनको राम्रो सम्भवना छ’ उहाँले भन्नुभयो, ‘तर सिचाईको व्यवस्था नहुँदा कृषि उत्पादनमा समस्या भइरहेको छ ।’

त्यस्तै स्थानीय कृलराज अधिकारीले किसानले हरेक वर्ष मलको अभाव भोग्नु परेको भन्दै समयमै मलको व्यवस्था गरिदिन आग्रह गर्नुभयो । उहाँले वडाबाट पशुजन्य भेटनरी सेवा पनि प्रवाह गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा वडावासीबाट उठेका प्रश्नको जावफ दिदै वडाध्यक्ष घिमिरले वडावासीको चाहना र आवश्यकता अनुसार योजना बनाउने बताउनुभयो । उहाँले अगामी वर्षदेखि गाउँमै तरकारीका लागि हाट बजार सञ्चालन गर्ने, सवारीकोटमा होम स्टे सञ्चालन गर्ने लागिएको बताउनुभयो । त्यस्तै कृषि उत्पादन, सिचाई र सडक पूर्वाधार जोड दिने उहाँको भनाई थियो ।

कार्यक्रममा वडाले उत्कृष्ट काम गर्ने उपभोत्ता समितिलाई सम्मान गरेको छ । गुणस्तरिय र समयमै योजना सम्पन्न गरेको भन्दै वडाले लक्ष्मीपुर शिव टोल हिउँदे सिचाई कुलो पक्की निर्माण उपभोत्ता समितिलाई सम्मान गरेको हो ।