Ad Area

उत्पादन बढाउन कलमी बनाएर धान रोप्दै किसान


दाङ, २ साउन । कम लगानीमा धेरै उत्पादन हुने भएपछि पछिल्लो समय देउखुरीका किसान धानको ब्याडलाई कलमी बनाएर खेती गर्न थालेका छन् । धानको व्याडलाई कलमी बनाएर रोप्दा कम लगानीमै धेरै खेती गर्न सकिने र उत्पादन पनि बढ्ने किसान बताउँछन् ।

दाङको राप्ती गाउँपालिका–७ जगपुर निवासी किसान भैरव चौधरी विगत १४ वर्षदेखि धानले कलमी बोट बनाएर खेती गर्दै आएका छन् । धानको व्याडलाई कलमी बनाएर रोप्दा कम व्याडमै धेरै खेती गर्न सकिने र हुर्केको धान खेतमा रोप्दा राम्रो फल्ने चौधरी बताउँछनु ।

‘धानले बोटमा गाँज हाली सकेको बेला उखेलेर फेरि रोप्दा सुरुमा धेरैले खेती बिर्गाने भो भन्थे’, उनले भने, ‘तर धान राम्रो फल्न थालेपछि पछिल्लो समय गाउँका धेरै किसानले कलमी विधि अपनाउनुभएको छ ।’ पहिलो वर्ष दुई कट्ठामा कलमी गरेको धान रोपेका चौधरीले पछिल्लो समय १० कठ्ठाबढी खेतमा यही विधि प्रयोग गरेर धान खेती गर्दै आएका छन् ।
पहिलो पटक कलमी गरेर रोपेको धान राम्रो फल्नुका साथै दाना समेत अन्य धानभन्दा राम्रो लागेपछि आपूmले विगत डेढदशकदेखि धानको व्याडबाट निरन्तर कलमी बनाएर खेती गर्दै आएको बताए ।

‘मलाई धानको कलमी गर्ने तरिका भिनाजुले सिकाउनुभएको थियो’, उनले भने, ‘पहिलो वर्ष बिउ उमार्ने अनि त्यसलाई रोप्ने तरिकाबारे सिकेँ र खेती गर्न थालेको हुँ ।’ सुरुमा त एक पटक रोपेर फल्ने धानलाई किन अनावश्यक दुई पटक रोपेको होला भनेर धेरैले आलोचना गरेको बताउने चौधरीले पछिल्लो समय यसरी रोपेको धानमा रोग पनि नलाग्ने र फल पनि राम्रो लाग्न थालेपछि धेरैले यही विधि अपनाएको बताउँछन् ।

किसान चौधरीले भने, ‘बिज्जु गरेर रोपेको धान परम्परागत जस्तै हो । फले पनि बालामा पर्याप्त धान हुँदैन । पोपटा बढी हुन्छ तर कलमी गरेर रोपेको धानमा पोपटा हुँदैन ।’ सामान्यता व्याडबाट रोप्दा प्रतिकट्ठा तीन–साढे तीन क्विन्टल धान फल्ने गरे पनि कलमी गरेर रोपेको धानबाट प्रतिकट्ठा पाँच क्विन्टलसम्म फल्ने गरेको छ ।’

राप्ती गाउँपालिका वडा नम्बर ४, ५, ६, ७ र ८ लाई पालिकाले नै कृषि पकेट क्षेत्र घोषणा गरेको छ । यस क्षेत्रका किसानले धानको कलमी गर्दा यसबाट धेरै लाभ लिने गरेको राप्ती गाउँपालिका वडा नं. ७ निवासी किसान सुनिता चौधरी बताउँछिन् । कलमी गरेर रोप्दा बिउ पनि आधा कम लाग्ने र उत्पादन पनि राम्रो हुने भएकाले विगत पाँच वर्षदेखि धानको कलमी बनाएर खेती गर्दै आएको उनी बताउँछिन् ।

Blog Post Ad

परम्पगत रूपमा धान खेती गर्दा प्रतिकठ्ठा ३ किलोसम्म बिउ लाग्ने गरे पनि कलमी ब्याड बनाएर रोप्दा १ किलो बिउ नै पर्याप्त हुने गरेको उनी बताउँछिन । धानको कलमी बनाउन किसानले बैशाखको पहिलो साता धानको ब्याड राख्ने गरेका छन् । त्यो ब्याड दुईदेखि तीन हप्ताको बीचमै उखेलेर खेतमा बाक्लो तरिकाले रोपेर कलमी बनाउने गरेको सुनिता बताउँछिन ।

बैशाखमा ब्याड राखेका किसानले असारको पहिलो हप्तापछि रोपेको धान फेरि उखेलेर कलमी बनाउने गर्दछन् । पुनः उखेल्दा धानको बोट गाँजिएको हुन्छ । जसलाई किसानले हरेक बोटलाई एउटा–एउटा बनाएर रोप्ने गरेको किसान शिवकुमार चौधरी बताउँछन् । उनकाअनुसार सिँचाइ सुविधा भएका धेरै ठाउँका किसानले धानको कलमी ब्याड बनाएर रोप्ने गरिन्छ । कृषिको राम्रो क्षेत्र मानिएको यस ठाउँका किसानले धानबाली जस्तै अरु अन्नबाली पनि नयाँ ढङ्गले गर्ने गरेका छन् ।

धानको कलमी बनाएर खेती गर्न थालेपछि धानको उत्पादन बढ्नुका साथै किसानले राम्रो आम्दानी लिने गरेको राप्ती गाउँपालिका कृषि शाखा प्रमुख सिमा भट्ट बताउँछिन् । दाङमा करिब ३९ हजार ६ सय हेक्टरमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र दाङसँग तथ्याङ्क छ । जसमा राप्ती गाउँपालिकामा कूल क्षेत्रफलको ६९ दशमलव ६२ वर्ग किलोमिटर कृषि क्षेत्र रहेको छ ।

Blog Post Ad Blog Post Ad