आयआर्जनमा जोडिँदै महिला

पार्वती बस्नेत
दाङ, २ साउन । गढवा गाउँपालिका–८ कोइलाबास डाँडागाउँका महिलाहरू अहिले सङ्गठित रूपमा आयआर्जनमूलक तालिम सिक्न थालेका छन् । घरको कामकाज सकेर फुर्सदमा बस्ने गरेका दिदीबहिनीले अहिले बाख्रापालन सहितका आयआर्जनमूलक विभिन्न तालिमहरू सिक्न थालेका हुन् ।
आपूm आयआर्जनमूलक कार्यमा लागे मात्रै परिवारलाई आर्थिक रूपमा सवल बनाउन सकिने भएकाले तालिम सिक्न थालेको गढवा गाउँपालिका–८ कोइलाबास डाँडागाउँ निवासी अनन्तकुमारी चौधरी बताउँछिन् । चौधरी ग्रामीण महिला उत्थान केन्द्र दाङ, गढवा गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सञ्चालित गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजनाबाट गठन भएको लालिगुराँस उद्यमी महिला समूहको अध्यक्ष हुन् ।
२५ जना सदस्य रहेको उक्त समूहका दिदीबहिनीले मासिक बचत गर्दै आएका छन् । बचतसँगै परियोजनाबाट लिएको विभिन्न तालिमले आफूहरूलाई जीवन जिउन सिकाएको भन्दै समूहका अध्यक्ष चौधरीले वर्षौँपछि दुःखलाई सुखमा परिणत गर्ने स्थानीय सरकार छ भन्ने महशुस गर्न पाएको बताइन् । चौधरीजस्तै खुसी छिन् गढवा गाँउपालिका–५ सिमलतारा निवासी सावित्रा राना । उनले अहिले २६ वटा बाख्रा पालेकी छन् ।
श्रीमान् र २ छोरी रहेका रानालाई आफू आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचले अहिले परियोजनाअन्तर्गत् गठन भएको सिमलतारा उद्यमी महिला समूहमा आबद्ध छिन् । समूहमा आबद्ध भइ पशुको उचित व्यवस्थापन तालिमबाट प्राविधिक ज्ञान प्राप्त गरी रानाले बाख्रापालन व्यवसाय गर्न थालेको बताउँछिन् । उनले परियोजनाबाट बाख्राका लागि नमुना खोर निर्माण गर्न ७५ हजार रकम अनुदान स्वरूप प्राप्त गरेकी छिन् ।
नमुना खोर निर्माणका लागि अनुदान पाउने गढवा गाउँपालिका ६ मतपुर पिपलडाँडा निवासी सरला हमाल पनि हुन् । उनका अहिले ४१ वटा बाख्रा छन् । हरियाली उद्यमी महिला समूहको सदस्य रहेकी हमालको आयआर्जनको मुख्य स्रोत भनेकै बाख्रापालन भएको बताउँछिन् । गढवा गाउँपालिकाका महिला तथा युवाहरूको आर्थिक तथा सामाजिक सशक्तिकरणका लागि स्थानीय स्रोत र साधनको अत्यधिक प्रयोग गरी परियोजना सञ्चालन हुँदै आएको छ ।
परियोजनाबाट ८ जना विपन्न परिवारलाई जनही ७५ हजारका दरले जम्मा ६ लाख रूपैयाँ नमुना खोर निर्माणका लागि अनुदान सहयोग गरिएको छ भने ७९ जना विपन्न तथा गरिब परिवारलाई जनही २० हजारका दरले १५ लाख ८० हजार रूपैयाँ बराबरको सुधारिएको बाख्रा खोर निर्माणका लागि अनुदान रकम हस्तान्तरण गरिएको परियोजना संयोजक बसन्तकुमार शर्माले जानकारी दिए ।
गढवा गाउँपालिका–७, मोतीपुरमा गठन गरिएको सरस्वती उद्यमी महिला समूहका २२ जना र गढवा ५, प्रनाहवा कोशेली उद्यमी महिला समूहका १२ जनालाई तरकारीको स्रोत केन्द्रको रूपमा विकास गरी नमुना स्रोत केन्द्रको रूपमा स्थापित गर्न परियोजनाबाट प्रविधि हस्तान्तरणसँगै ७ लाख ५५ हजार ८ सय रूपैयाँ अनुदान सहयोग गरिएको छ ।
परम्परागत तरिकाबाट तरकारी खेती गर्दै आएका सरस्वती समूहका दिदीबहिनीलाई अहिले परियोजनाबाट प्राविधिक ज्ञान, सीप, टनेल निर्माण, थोपा सिँचाइ, बिउविजनलगायतका सामग्रीहरू सहयोग उपलब्ध गराएको समूहका अध्यक्ष रीता चौधरीले बताइन् । प्राविधिक ज्ञान र सीपसँगै उत्पादित वस्तुलाई बजारीकरणको लागि सहयोग गरिदिन सबैले सहयोग गर्नुपर्ने बताइन् । कृषिप्रधान भए तापनि व्यावसायिक उत्पादनमा जोड नहुनु र उत्पादित वस्तुले बजार नपाउँदा अधिकांश कृषकहरू लगानी डुब्ने जोखिममा पनि रहने गरेका हुन्छन् ।