Ad Area

सावधान ! बर्खा लागेसँगै डेंगुको जोखिम उच्च


घोराही, ४साउन । गत वर्ष दाङमा डेंगुले धेरैलाई हैरानी बनायो । प्राय घरमा डेंगुका बिरामी हुन पुगे । तथ्यांक हेर्ने हो भने दाङमा डेंगुको संक्रमण दर ४ वर्षयताकै उच्च रह्यो ।

चार वर्षको तथ्यांक भन्दा डेढ महिनामा भएको संक्रमण दर उच्च देखिएको हो । आर्थिक वर्ष २०७६–०७७ मा ७१ जनामा डेंगु संक्रमण भएका बिरामी भेटिएका थिए । २०७७–७८ मा १५ मा मात्रै डेंगु संक्रमण देखिएको थियो । २०७८–७९ मा डेगु संक्रमणको संख्या ६ जना मात्रै थियो । यो तीन वर्षको तथ्यांकलाई हेर्दा डेंगुको संक्रमण कम भएको देखिन्छ । तीन वर्ष कम संक्रमण देखिएको डेंगु चौथो वर्षमा भने एकाएक बढेको हो । २०७९–०८० मा दाङमा डेंगुबाट संक्रमित संख्या २ हजार ४ सय ५ पुग्यो ।
स्वास्थ्य कार्यालय, दाङको तथ्यांक अनुसार, जिल्लामा डेंगुकै कारण २ जनाले ज्यान पनि गुमाए । ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका र दंगीशरण गाउँपालिकाका रहेका छन् ।
दाङमा ५ वर्षदेखि नै डेंगुको उच्च जोखिममा रहेको जिल्लाका रुपमा देखा पर्दै गएको छ । डेंगुका कारण २०७२ सालमा दाङको गढवा गाउँपालिका गोबरडिहामा पनि एक महिलाको मुत्यु भएको स्वास्थ्य कार्यालय दाङको तथ्यांकमा छ ।
स्वास्थ्य कार्यालयका अनुसार २०७३ सालमा ९ जना र २०७४ सालमा ८ जना डेंगु बिरामी फेला परेका थिए । पछिल्ला वर्षहरुमा डेंगुको जोखिम एकाएक बढ्दै गएको छ । स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बरबहादुर कुँवरका अनुसार जिल्लामा महिलाभन्दा पुरूषमा धेरै डेंगुको समस्या देखिने गरेको छ ।
गत वर्षको सुरूवातमै संक्रमणको अवस्था उच्च देखिएको थियो । यो अवस्था यो वर्षपनि दोहोरिने सम्भावना उच्च रहेको छ । जिल्लाको १० वटै पालिकामध्ये घोराहीमा जोखिम सबैभन्दा बढी हुने गरेको छ

घोराही उपमहानगरपालिका १४ स्थित अटोभिलेजलगायत केही स्थानमा डेंगुको संक्रमणको उच्च जोखिम मानिएको छ । जसका कारण गतवर्ष स्वास्थ्य सचेतनासँगै परीक्षण दर पनि बढाइएको थियो ।

‘अस्पतालमा आउने ज्वरोका बिरामीहरूमध्ये लगभग सबैमा डेंगु देखियो’, उहाँले भन्नुभयो, ‘यस वर्ष पनि पोहोर साल जस्तै डेंगुका बिरामी बढ्न सक्छन् । यसमा एकदेखि दुई प्रतिशत मृत्यु दर भएकाले डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै उपयुक्त उपाय हो ।’
जिल्लामा छिटफुट रुपमा डेंगुका बिरामी भेटिन थालेका छन् । तुलसीपुरस्थित अस्पतालमा उपचारका लागि पुगेकाहरुमा डेंगु पुष्टि भएको छ ।
यस वर्षको वर्षायाम शुरुभएसँगै डेंगु संक्रमितको संख्या बढ्न सक्ने हुँदा यसको नियन्त्रण र रोकथामका लागि सबैको सक्रियता आवश्यक रहेको स्वास्थ्य कार्यालय दाङले बताएको छ ।

डेंगुको रोकथामका लागि लार्भा नष्ट गर्ने अभियान उपयुक्त हुने स्वास्थ्य कार्यालय दाङका फोकलपर्सन कमल चन्दले बताउनुभयो । यसभन्दा अगाडिका वर्षमा कोरोना र नियमित मौसमी वर्षाका कारण कम संक्रमण देखिएको उहाँले बताउनुभयो । तर, गत वर्ष धेरै मानिस खुलेआम हिँड्दा, सरसफाईमा ध्यान नदिँदा डेंगुले धेरैलाई संक्रमित बनायो ।

‘यसको कुनै खोप छैन, त्यसैले जोखिम छ, घरमा पानी जम्ने ठाउँ छ भने सफा राख्नुपर्छ, लामखुट्टेको टोकाइबाट बच्नुपर्छ,’ घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले भन्नुभयो, ‘डेंगुको संक्रमण बढ्दै गएपछि विगत वर्षदेखि घोराही उपमहानगर पालिकाले अभियान नै सुरू गरेको छ । खोज र नष्ट गर अभियाननै यसकोसबैभन्दा राम्रो विकल्प हो ।’

Blog Post Ad

डेंगुका बिरामीहरूको घोराही र तुलसीपुरमा रहेका सरकारी तथा निजी अस्पतालहरुमा उपचार हुने गरेको छ । गत वर्ष डेंगुको बासस्थान पहिचान गर्दा कार्यालयमा राखिएका गमलाहरुमा पनि भेटिएको थियो । अहिले दैनिक रुपमा भईरहेको सामान्य वर्षा डेंगुका लागि निकै उपयुक्त मौसम बनेको छ । जसले गर्दा थप सावधानी अपनाउनु आवश्यक रहेको स्वास्थ्यकर्मीको सुझाव छ ।

डेंगुको जोखिमबाट बच्न हरेक दिन १० मिनेट सरसफाइमा ध्यान दिन समय निकाल्न स्वास्थ्य कार्यालय दाङले अपिल समेत गरेको छ । सबैको साझा दायित्वका रुपमा लिँदै घर वरपर, समुदायमा, कार्यालयमा, कलकारखाना, ग्यारेजहरुमा पनि पानी जम्न नदिन, सरसफाई नियमति गर्न स्वास्थ्य कार्यालयले अपिल गर्दै आएको छ ।

‘औषधि छर्केर डेंगु नियन्त्रण असम्भव छ । डेंगु फैलाउने लामखुट्टेले एक पटकमा ५ सय देखि १ हजार अण्डा पार्छ । उसको जीवनकाल १ महिना हुन्छ । यो बेलामा हामीले पानी जम्ने जुन सुकै ठाउँ, भाँडा सफाइ गर्नुपर्ने हुन्छ, उनीहरुको सम्भावित बासस्थान पहिचान गरी नष्ट गर्नु नै सबैभन्द ा उत्तम विकल्प हो’, स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन, कमल चन्दले भन्नुभयो ।

डेंगु लामखुट्टेको एक प्रजातीको टोकाइबाट सर्ने भाइरल रोग हो । एडिस नामक लामखुट्टेका प्रजातीहरु बढ्दै गएको पाइएको छ र मानिसहरुको आवत जावत तथा देश भित्रिने क्रम बढ्नु पनि डेंगुको संक्रमण बढ्ने कारण बन्ने गरेको छ । एडिस लामखुट्टेको माध्यमबाट सर्ने डेंगु भाइरसको नेपालमा चार प्रजाति छन्, जसमध्ये डेंगु भाइरस १ को संक्रमण अधिकांश रहेको छ ।

पहलो पटक सन् २००६ मा नेपालमा संक्रमण फैलिएको पाइएको थियो जसमा मनसुन पश्चातको समयमा तराइका विभिन्न भागमा गरि ३२ वटा संक्रमण भेटिएको थियो । ५ बर्ष यता संक्रमण संख्यामा उल्लेख्य वृद्धि भएको छ । विश्वमा यो रोगका कारण हुने मृत्युदर सरदर वार्षिक १ प्रतिशत भन्दा कम नै रहेको छ ।

सन् २०१९ मा नेपालमा यो रोगका कारण ६ जनाले ज्याज गुमाएका थिए । वढ्दो सहरीकरण, फोहोरको असुरक्षित व्यवस्थापन र जनसंख्याको तीब्र बृद्धिका कारण डेंगुको जोखिम बढ्दै गएको छ । समयमा नै सचेत भई यसलाई नियन्त्रण लिन सकिएन भने कुनैपनि समय यसले महामारीको रुप धारण नगर्ला भन्न सकिन्न ।

डेंगु भएमा के हुन्छ ?

डेंगु लागेको २ देखि ७ दिनमा यस रोगका लक्षणहरु देखिन थाल्छन् । जसमा उच्च ज्वरो १०४ डिग्रि फरेनहाइट प्रमुख लक्षण हो । साथसाथै अन्य लक्षणहरुमा टाउको दुख्ने, मांसपेसि दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाक लाग्ने, वान्ता आउने, ग्रन्थी सुन्निने आदी हुन्छ ।

संक्रमणको ३ देखि ७ दिनपछिको समयमा ज्वरो कम हुदै गएर चेतावनीमुलक लक्षण देखिन सक्छ । जुन कतिपय घातक हुन सक्छ । यी लक्षणहरुमा धेरै पेट दुख्ने, वान्ता भइरहने, गिंजाबाट रगत बग्ने, पेट तथा छातीमा पानी जम्ने, छटपटि हुने आदी पर्दछन् । डेंगुका कारण आउन सक्ने सम्भावित जटिलतामा डेंगु हेमोरेजिक फिभर, डेंगु सक सिन्ड्रम आदी पर्छन् ।

यी अवस्थामा रगतबाट प्लाज्मा खेर जाने, सजिलै रगत बग्ने, निलडाम बस्ने, तथा रगत बाक्लो भइ विभिन्न अंगमा रगत पुग्न नपाएर अंगहरु खराब हुँदै जाने गर्दछ । यो अवधिमा शरीरमा पानी धेरै जमेमा घातक स्वास प्रश्वासको रोग देखिने गर्छ ।

त्यस्तै प्लाज्मा वा रगत धेरै खेर गएर कलेजो तथा अन्य अंग फेल हुने तथा हृदयघात समेत हुने सम्भावना हुन्छ । जसका कारण बिरामीको मृत्यु हुन सक्छ .डेंगु भाइरसको लागि एन्टीभाइरल औषधीहरु प्रभावकारी नभएको पाइएको छ । डेंगुको उपचार गर्न पहिले विभिन्न जानकारी सोधपुछ तथा रगतको जाँच गरिन्छ ।

उपचारको उपाय

सामान्य लक्षण रोकथामका लागि पर्याप्त तरल पदार्थको सेवन, ज्वरोको रोकथाम तथा ओछ्यानमा आराम गर्ने चिकित्सकले सल्लाह दिन्छन् । जटिल लक्षण देखिएका बिरामीलाई अस्पतालमा राखि नशाबाट तरल औषधि चलाएर रगतको अवस्था सुधारिन्छ र बेलाबेलामा रगतको जाँच गरिन्छ । साथसाथै विभिन्न अंगको अवस्थाको मापन गर्ने गरिन्छ ।

जटिल डेंगुको अवस्थामा धेरै मात्रामा नशाबाट तरल पदार्थको पूर्ति गर्नुका साथै जाँचले अंकित गरेअनुसार रगत प्रत्यारोपण समेत गर्नुपर्ने हुनसक्छ । विरामीको अवस्था सुधार हुदै गएपछि तथा रगतको घनत्व घट्दै गएपछि औषधीको मात्रा घटाउँदै लगिन्छ र लक्षण सुधारपछि डिस्चार्ज गरेर घर पठाइन्छ । वृद्ध समुहमा लक्षणहरु सामान्य नै रहेपनि मृत्युदर युवा समुहभन्दा बढी रहेका कारण विशेष ध्यान दिनुपर्ने हुन्छ ।

डेंगुबाट बच्न के गर्ने ?

कीटनाशक प्रयोग गरिएको झुलको प्रयोग गर्ने, घरको कुनाकाप्चा तथा लामखुट्टे बसोबास गर्नसक्ने स्थानमा कीटनाशक औषधी छर्किने, हावामा छर्किन मिल्ने स्पेस स्प्रेको प्रयोग तथा पानी जम्मा हुने सतहहरु सम्याउने गर्नुपर्छ ।

पानी जम्न नदिन भाँडाहरु छोप्ने, पानीको सतहमा लामखुट्टे प्रतिरोधी लार्भा नाशक औषधीहरु छर्किने, किराहरु खाने माछा तथा अन्य जीव पालन गर्ने आदि उपायहरु प्रभावकारी मानिएको छ । आफ्नो सुरक्षाको लागि लोसनहरुको प्रयोग गर्ने, लामखुट्टे भगाउने धुपहरुको प्रयोग गर्ने पनि महत्वपूर्ण हुने गरेको छ । शरीर ढाक्ने कपडा लगाउने, घर वरपरको झाडी सफाई गर्ने काम गर्नुपर्छ ।

Blog Post Ad Blog Post Ad