Ad Area

प्रयोगमा नआउँदै मर्मतको पखाईमा सवा करोडको कोल्ड स्टोर


घोराही, १६ साउन ।अगाडिबाट हेर्दा सबै ठीकठाक देखिन्छ । निलो रंगको जस्तापाताले छाएको, वर्गाकार शैलीमा निर्मित घर कुनै व्यक्तिले आवासका लागि बनाए जस्तै छ । पूर्वोत्तरमा अग्लो ढिस्को काटेर दक्षिण पश्चिमको भाग सम्याएर बनाईको संरचना मान्छे बस्नका लागि नभई कृषकले उत्पादन गरेका कृषि बस्तुभाउ लामो समयसम्म जोगाएर राख्नलाई बनाइएको चिस्यान गृह हो ।

यही संरचना भएको ठाउँमा पुग्दा अघिल्तिरबाट राम्रै देखिए पनि पछाडिको पुरै क्षतिग्रस्त अवस्थामा छ । लाखौँ रुपैयाँका महत्वपूर्ण सामान काम नै नलाग्ने गरी क्षति भएको छ । गत वर्षको असोज १८ गते परेको वर्षाले माथिबाट ढिस्कोसहित माटो खसाएपछि चिस्यान गृहको पछाडिको भागमा क्षति गरेको छ । दाङको बंगलाचुली गाउँपालिका वडा ५ मुर्कुटी बजारबाट ३ सय मिटर उत्तरतर्फ बनाईएको सवा करोडको चिस्यान गृह कुनै युद्धमा परेर भग्नावशेष भएजस्तै भएको छ । पछाडिको भाग ह्वाङ्गै छ । भित्र राखिएका महत्वपूर्ण सामानमाक्षतिपुगेको छ । चिसो बनाउने प्यानल बोर्ड भाँचिएका छन् । केही सामान छरपष्ट भएका छन् । तर, यसको हेरचाह गर्ने कोही देखिदैनन् ।

असोजमा भारी वर्षापछि झरेको पहिरोका कारण चिस्यान गृह अर्थात कोल्ड स्टोरको भवनमा क्षति पुगेपछि उपयोगविहीन अवस्थामा एक्लै उभिएर मर्मतको पर्खाइमा छ ।गाउँमै उत्पादन गरेका कृषि उपज भण्डारण गर्न मिल्ने कोल्ड स्टोर भवन निर्माण हुँदा बंगलाचुलीबासी जति दंग परेका थिए । स्थानीय लोहारपानी कृषि सहकारीको पहलमा कोल्डस्टोर बनाउने काम हुँदा धेरैले यसको अधिकतम उपयोगको सपनासमेत देख्न भ्याए । फलफूल र तरकारीको मूल्य नपाउँदा भण्डारण गरी राख्ने र मूल्य राम्रो पाएको समयमा बिक्री गर्ने उद्देश्य पूरा हुन भने सकेन । कोल्ड स्टोरमा सामान राख्ने सपना देखेका किसानले विपनामा यो काम गर्न नपाउँदै भत्किएपछि निराश बनेका छन् ।

अहिले यो उनीहरुका लागि सेतो हात्ती जस्तै भएको छ । ‘राम्रै कामका लागि बनाएको हो । किनभने हामी सबैलाई चाहिएरै यति धेरै रकम लगानी गरिएको हो । तर के गर्नु पहिलो गासमै ढुंगा लाग्यो’, लोहारपानी कृषि सहकारी संस्थाका अध्यक्ष खिमबहादुर घर्तीले भन्नुभयो ‘हामी सोझासाझा किसानले सुको जम्मा गरेर बचाएको पैसा पनि त्यसैमा खर्च भयो केही होला भनेर गरेको बर्बाद भयो । कसरी अघि बढ्ने भन्ने कुनै निधो गर्न सकेका छैनौँ ।’ पहिरोले भत्काएपछि कोल्ड स्टोर मर्मतको विकल्प छैन । मर्मतका लागि लाखौँ रुपैयाँ आवश्यक पर्छ । त्यसका लागि सहकारीसँगै रकम छैन । जसले गर्दा आफुहरु निकै समस्यामा परेको संस्थाका अध्यक्ष घर्तीको भनाई छ ।

‘सहकारीले एक्लै मर्मत गर्न नसक्ने अवस्था भएपछि मर्मतको लागि सहयोगी हातको अपेक्षा गरेका छौँ, यसका लागि पालिकामा, वडामा, नेताहरुमा जानकारीसहित मौखिक रुपमा कुरा राखेको छौँ’, उहाँले भन्नुभयो ‘हामीले क्षतिको विवरणसहित लिखित रुपमा समस्या समाधानको पहल गर्नु पर्ने हो । त्यो काम गर्न ढिलाई भयो । अब कसरी गर्दा काम हुन्छ त्यसै अनुसार गर्ने योजनामा छौँ ।’
क्त सहकारीका सचिव मानबहादुर वलीले करीव ३ कट्ठामा निर्मित कोल्ड स्टोरको उत्तरतर्फको भाग माथिबाट खसेको पहिरोले पूरै भत्काएपछि एक पटक पनि प्रयोग गर्न नपाएको बताउनुभयो ।
प्रयोग गर्न सबै सामान तयारी अवस्थामा भएका बेला भएको क्षतिले काम नलाग्ने भएपछि यसले सिंगो सहकारी संस्थाको काममा पनि धक्का लागेको उहाँले बताउनुभयो । कोल्ड स्टोर संचालनका लागि अलग्लै विद्युत जडान भएको छ । जसको मासिक न्यूनतम शुल्क सात हजार ४ सय अनिवार्य तिर्नुपर्ने हुन्छ । ‘उद्योग अन्तर्गत विद्यूत जडानका कारण मासिक रुपमा ७४ सय अनिवार्य बिल आउने गरेको छ’ सचिव वलीले भन्नुभयो ‘आम्दानी सुको छैन तर, विजुलीको बिल अनिवार्य तिर्नु परेपछि हाम्रो हैरानी यसैले गरेको छ । एक सुको आम्दानी नभएको ठाउँमा लगानी मात्रै गर्दा सहकारी नै डुब्ने होकी भन्ने अवस्था भईसक्यो ।’

बंगलाचुली, रोल्पा र प्यूठानसँग सीमाना जोडिएको पहाडी भूभाग हो । यहाँ सुन्तला, अदुवा, कागती, आलु खेती राम्रो हुने गरेको छ । बंगलाचुलीमा सुन्तला, अदुवा, कागती, आलु खेती हुन्छ । पालिकाको मुर्कुटी, साकिने, कुरुले, रिभानलगायत आसपासका किसानले यसको अधिकतम लाभ लिन सक्ने अवस्था पनि छ । उसो त, पछिल्लो समय व्यावसायिक रुपमा फलफूल र तरकारी खेती गर्नेहरूको संख्या पनि बढ्दै जान थालेको छ । गाउँघरका जान्ने सुन्ने र जनप्रतिनिधिले कोल्ड स्टोर आफ्नै ठाउँमा बनेपछि आएपछि खेतबारीमा उत्पादन भएका फलफूल तथा तरकारी भण्डारण गर्न सहज हुने अपेक्षा उनीहरुको थियो ।

Blog Post Ad

‘मूल्य नपाउँदा भण्डारण गरी राख्ने र मूल्य राम्रो पाएको समयमा बिक्री गर्न सकिन्छ भन्ने कुराले हामी जस्ता किसान उत्साहित थियौं,’ सहकारीका सचिव वलीले भन्नुभयो, ‘तर कोल्ड स्टोरमा सामान राख्ने हाम्रो सपना विपनामा परिणत हुन नपाउँदै भत्किएपछि दुख लागेको छ ।’ आफ्नै ठाउँमा विकास हुने भयो, काममा सहजता थपियो । कोल्ड स्टोर निर्माण भएको देख्दा खुसी लागेको थियो । तर पहिरोले कोल्ड–स्टोर भत्किएपछि निकै दुख लागेको स्थानीय पदम थापा बताउनुहुन्छ ।

कृषकलाई लक्षित गरेर बनाइएको कोल्ड स्टोर कसरी संचालनमा ल्याउने भन्ने बारेमा आफु गम्भीर रहेको वडा नम्बर ५ का वडा अध्यक्ष लिलाबहादुर बुढा बताउनुहुन्छ । ‘यो पहाडी भेगमा सवा करोड खर्च गरेर किसानले उत्पादन गरेका बस्तुभाउ राख्ने भनेर कोल्ड स्टोर बनाइनु निकै सकारात्मक पक्ष थियो,’ वडा अध्यक्ष घर्तीले भन्नुभयो, ‘तर के गर्नु त्यो कोल्ड स्टोर प्रयोग गर्न नपाई पहिरोका कारण भत्किएको छ । यसमा हामी निकै दुखी छौँ । यो कसरी संचालनमा ल्याउने भन्ने बारेमा हामीले पनि वडा स्तरबाट पटक पटक पहल थालेका छौँ ।’
आर्थिक वर्ष २०७६–०७७ मा बंगलाचुली गाउँपालिकाको करिब ६० लाख, साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना ९रिजम० को ५३ लाख ४ हजार र लोहारपानी कृषि सहकारी संस्थाको १३ लाख १५ हजार गरी कुल एक करोड २७ लाख लागतमा कोल्ड स्टोर निर्माण गरिएको होे ।

लोहार पानी कृषि सहकारी संस्थाका सचिव वलीका अनुसार उक्त कोल्ड स्टोर एक सय मेट्रिक टन क्षमताको हो । विद्युत नभएको बेला समस्या नआओस् भनेर जेनेरेटर पनि राखिएको छ । सबै चिजबस्तु नयाँ छन् । तर प्रयोगमा नआउँदै धेरै जसो बस्तु काम नलाग्ने भएका छन् । पहिरोले उत्तरपूर्वको भाग काम नलाग्ने बनाएपछि वर्षा हुनासाथ कोल्ड स्टोरभित्र पानी बग्ने गरेको छ ।

२०७७ सालमै वर्षाले कोल्ड स्टोरको भवनमा आंशिक क्षति पुर्याएको थियो । त्यति बेला मर्मत गरेर काम शुरु गर्ने बेलामा विपदले स्थिती अर्कै बनाईदिएको स्थानीय बताउँछन् ।
स्थानीयहरूले भने कोल्ड स्टोर भवन पुनः मर्मत गर्न माग गरिरहेका छन् । मर्मत गर्न स्थानीयले गाउँपालिकासँग बजेट पनि मागेका छन् । जानकारीमा आए अनुसार पहिरोले क्षति गरेपछि जनप्रतिनिधिकै रोहबरमा कोल्ड स्टोरमा भएको क्षतिको मुचुल्का उठाईएको छ ।

करीव ३५ लाख बढीको क्षति अनुमान गरिएको सहकारीका अध्यक्ष घर्तीले बताउनुभयो । पालिकाले विपदका लागि विनियोजन गर्ने बजेट मर्मतमा लगाउने अवस्था भए यो काम गत आर्थिक वर्षमै भईसक्ने थियो । तर, गाउँपालिकाले बजेट नदिएको उनीहरूको गुनासो छ । सचिव वलीले मर्मतका लागि आवश्यक बजेट छुट्याइदिन गरिएको आग्रहमा गाउँपालिकाका पदाधिकारीले चासो नदेखाएको गुनासो गर्नुभयो ।

राम्रो उद्देश्यले कोल्ड स्टोर निर्माण गरिएको भए पनि स्थान छनोट गर्दा ध्यान नदिँदा करोड बढी लगानी खेर गएको कतिपय बताउँछन् । तर, कुनै समस्या नभई कोल्ड स्टोर प्रयोगमा आएको हुन्थ्यो भने मुर्कुटी, साकिने, कुरुले, रिभानलगायत आसपासका किसानले धेरै नै लाभ लिन सक्ने अवस्था भईसक्ने थियो । स्थानीय किसानमा ऊर्जा थप्न र उनीहरूलाई व्यवसाय उन्मुख बनाउन सवा करोड बढी खर्चेर कोल्ड स्टोर बनाउन पालिकाले नै पहल थालेको थियो ।

बनिसकेको संरचना प्रयोगमा नआउँदै भत्किएपछि पालिकाले तत्काल मर्मत गर्न ध्यान दिनुपथ्र्यो तर हुन सकेन । यसमा पालिकाले पनि आफुहरु चुकेको बताउँछ । स्थानीय र सहकारीले कोल्ड स्टोर मर्मत गरेर चाँडो संचालनमा ल्याई दिन पहल गरिरहेकाले चाँडै नै संचालन गर्न मिल्ने गरी काम गर्ने योजना रहेको बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले बताउनुभयो । उहाँले भन्नुभयो ‘गत वर्ष बंगलाचुलीमा विपदले धेरै नै क्षति गर्यो । के के काम गर्दागर्दै समय बित्यो । मानवीय समस्या पहिलो प्राथमिकतामा राखेर काम गर्यो । त्यसो गर्दा पालिकासँग भएको बजेट पनि सकियो । यता, कोल्ड स्टोर मर्मत हुन सकेन । यसमा पालिका चुकेकै हो । अब हामी यस विषयमा कसरी हुन्छ, मर्मत गरेर संचालन गर्ने गरी अघि बढ्छौँ ।’

Blog Post Ad Blog Post Ad