Ad Area

च्याउ खाँदा छैन सावधानी


दाङमा विषालु च्याउ खाँदा २ जनाको मृत्यु, ३० जना बिरामी
गोरक्ष समाचारदाता
दाङ, २ भदौ । वर्षायामसँगै वनजङ्गलमा च्याउ उम्रने गर्छन् । जङ्गलमा उम्रने च्याउमध्ये कतिपय खान योग्य हुन्छन् त कतिपय हुँदैनन् । जङ्गली च्याउ खाँदा सावधानी अपनाउनु पर्ने देखिन्छ । जथाभावी रूपमा उम्रने च्याउ खाँदा ज्यान समेत जाने खतरा हुन्छ । जङ्गलमा उस्तै रँग र आकारमा पाइने च्याउका धेरै प्रजातिमध्ये खान योग्य र विषालु छुट्याउन नसक्दा ज्यान समेत खतरामा पर्ने गरेको छ ।
अधिकांश ठाउँमा खान योग्य र अयोग्य च्याउ छुट्याउन परम्परागत ज्ञानको प्रयोग हुँदै आएको छ तर कतिपय अवस्थामा च्याउ खाएकै कारण अकालमा ज्यान गुमाउने खतरा रहने भएकाले स्वयम् व्यक्तिले च्याउ खाँदा सावधानी अपनाउन आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए । वर्षा सुरु भएसँगै जङ्गलमा उम्रने च्याउले जोखिम बढाएको छ ।
साउनको ३१ गते बुधवार बंगलाचुली गाउँपालिका–६ छोड्के निवासी ११ वर्षीया अस्मिता सुनारको विषालु च्याउ खाँदा मृत्यु भयो । मङ्गलवार घर नजिकै जङ्गलमा उम्रेको च्याउको तरकारी भातसँग खाएपछि बुबा, आमासँगै बिरामी परेकी अस्मिताको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएपछि थप उपचारका क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
छोरीको मृत्यु भएको तीन दिनपछि आमाको पनि मृत्यु भएको छ । उनको उपचारको क्रममा शुक्रवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनीहरूले साउन २९ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउ खाएका थिए । च्याउ खाएसँगै श्रीमान, श्रीमती र छोरी बिरामी भएका थिए । च्याउ खाएर बिरामी भएकामध्य आमा र छोरीको मृत्यु भइसकेको छ भने बाबु अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
जिल्लामा विषालु च्याउ खाएर आर्थिक वर्ष २०८०÷०८१ मा हालसम्म दुई जनाको मृत्यु भएको छ भने ३० जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिएका छन् । प्रहरी नायव उपरीक्षक गौतमका अनुसार विषालु च्याउ खाएर बिरामी पर्नेमा २४ जना महिला र ६ जना पुरुष रहेका छन् । जिल्लामा गत आर्थिक वर्ष २०७९÷०८० मा २३ जना महिला र १४ जना पुरुष गरेर ३७ जना च्याउ खाएर बिरामी परेका थिए ।
बर्सातको समयमा जङ्गलमा पाइने च्याउ खाँदा जिल्लामा धेरै मानिस बिरामी पर्ने गरेको भन्दै गौतमले भने, ‘बर्सातको समयमा जङ्गलमा धेरै च्याउ उम्रने गरेका हुन्छन् । ती च्याउहरू खान योग्य हुन् या होइनन्, नछुट्याएर खाँदा धेरै मानिस बिरामी पर्ने गरेका छन् ।’ प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार आर्थिक वर्ष ०८०÷०८१ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा विषालु च्याउ खाएर ५९ जना बिरामी परेका छन् ।
जसमा सबैभन्दा धेरै दाङमा ३० जना, बर्दियामा १२ जना, रोल्पामा ८ जना, कपिलवस्तुमा ७ जना र बाँकेमा एक जना बिरामी परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिएका छन् । उनका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा विषालु च्याउ खाँदा ९३ जना बिरामी परेकोमा ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा रोल्पा र बाँकेमा ३÷३ जना थिए । गत आर्थिक वर्ष दाङमा ३४, बर्दियामा १९, अर्घाखाँचीमा १०, रोल्पामा ९, कपिलवस्तुमा ६, गुल्मीमा ५, नवलपरासीमा ४, बाँकेमा ३, प्युठानमा २ र रुकुम–पूर्वमा एक जना बिरामी परेका थिए ।
कसरी चिन्ने विषालु च्याउ ? 
बाहिरी आवरण हेरेर मात्र च्याउ विषालु हो कि होइन भन्ने छुट्याउन सकिँदैन । तैपनि विषालु च्याउको छाता खस्रो हुने र खान हुने च्याउको छाता छुँदा चिप्लो हुने विज्ञहरू बताउँछन् । जङ्गलमा उम्रिएको कुनै च्याउबाट नमीठो गन्ध आएको छ र त्यसमा झुसको मात्रा अत्यधिक छ भने त्यो च्याउ विषालु हुन्छ ।
च्याउबाट तीतो स्वादको गन्ध आएको छ र च्याउ रङ्गीचङ्गी छ भने पनि त्यो विषालु हुन्छ । त्यस्तै च्याउलाई भाँच्दा त्यसबाट चोप निस्कन्छ र हातले छुँदा त्यसको रँग फेरिन्छ भने पनि त्यस्तो च्याउ विषालु हुने गर्छ । विषालु च्याउ झट्ट हेर्दा आकर्षक र सफा देखिन्छ । खानयोग्य च्याउको आयु छोटो हुने र केही दिनमै ओइलाउँछ । विषालु च्याउ भने धेरै दिनसम्म उस्तै रहिरहन्छ ।
कतिपय विषालु च्याउ खाँदा मान्छे तत्कालै मर्न पनि सक्ने हुँदा जथाभावी च्याउको सेवन गर्न नहुने विज्ञहरूको सुझाव छ । च्याउले खास गरी कलेजोलाई असर गर्छ र पित्तमा पुगेर त्यसले नयाँ पदार्थ बनाउँछ र त्यसले मृगौलाको काम गर्ने क्षमता पनि कमजोर बनाउँछ, जसले गर्दा कलेजो र मृगौला फेल भएर मान्छे मर्न सक्छ । विषालु च्याउको असर बालबालिका र वृद्धवृद्धामा अधिक हुन्छ ।
विभिन्न च्याउ एकै ठाउँमा राखेर पकाउन नहुने पनि उनी सुझाउँछन् । कुनै विषालु च्याउले भने खाएको ८–१० घन्टामा मात्रै असर देखाउँछ । च्याउमा अनेक थरि विष हुने भएकाले छुट्याउनलाई एउटा मात्रै विधिले काम नगर्ने च्याउविज्ञको भनाइ छ । कुनै च्याउको विषालु तत्त्व पकाउँदा नष्ट हुन्छ भने कुनैको हुँदैन । सेतो दुध आउने च्याउ प्रायः विषालु हुने गरेका छन् ।
विषालु च्याउ खाँदा देखिने लक्षण
विषालु च्याउ खाएपछि शरीरमा विभिन्न लक्षण देखिन्छन् । जस्तै– आँखाबाट आँसु आउने, मुखबाट ¥याल निस्कने, जिब्रो सुन्निने, बान्ता आउने, पखाला चल्ने, घाँटीमा खसखस हुने तथा सुन्निने, बेहोस हुने लक्षण देखिन्छ । यसर्थ विषालु च्याउ खाएर समस्या हुनासाथ अस्पताल लैजानु पर्छ । सम्भव भएमा विषालु जङ्गली च्याउ खाएको थाहा हुने बित्तिकै बान्ता गराउने र बिरामीलाई जतिसक्दो छिटो स्वास्थ केन्द्र लैजानुपर्ने चिकित्सक बताउँछन् ।
सन् १८३८ देखि हालसम्मको अनुसन्धानमा नेपालमा एक हजार २७१ प्रजातिका च्याउ भएको पत्ता लागेको छ । प्राकृतिक विज्ञान संग्रहालय छाउनीले नेपालका विभिन्न स्थानबाट सङ्कलन गरेको च्याउका ११४ नमूनामध्ये २५ वटा विषालु रहेको पहिचान गरेको छ ।
Blog Post Ad Blog Post Ad