थारु समुदायको गुरही पर्व आज
दाङ्, ४ भदौ । थारु समुदायको चाडको शुरुवातको रूपमा लिइने गुरही पर्व आज सोमबार मनाइँदैछ । नागपञ्चमी कै दिन यो पर्व मनाइने हुँदा आज गुरहीलाई थारु समुदायले धुमधामका साथ मनाउँदै छन् । थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पूजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ ।
नागबाबालाई घरको मूल ढोकामा टाँसेर पूजा गर्नुको आशय दुःख, कष्ट र रोग व्याधलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने रहेको थारु अगुवाहरूको भनाई छ । थारु समुदायमा तिहारको सुरुवातको रूपमा मानिने गुरही पव दाङसहित तराईका जिल्लामा भव्यताका साथ मनाउन लागिएको उनीहरूको भनाई छ । जिल्लामा थारु बाहुल क्षेत्रमा बालबालिकाहरूले यो पर्वलाई अझ बढी महत्वका साथ लिने गर्छन् ।
गुरहीकै दिनदेखि वर्षायाम अन्त्य भई हिउँद शुरु भएको मानिने गरेको राप्ती गाउँपालिका वडा नम्बर ६ का स्थानीय भुपाल चौधरीको भनाई छ । हरेक वर्ष गुरहीमा बालबालिकाहरूले यो पर्वलाई विशेष महत्व दिएर मनाउने गरेको उनी बताउँछन् । साना बालबालिकाहरू पुतली झै सजिएर साँझपख चोकमा भेला भई गुरही पर्व मनाउने गरेको उनी बताउँछिन । यो वर्ष पनि गुरही पर्व भव्यताका साथ मनाउने तयारी भएको उनको भनाई छ ।
थारु समाजमा यो पर्वलाई फरक किसिमले लिने गरिन्छ । खेतीपातीको काम भ्याएर सबैजना घरमा फुर्सदिलो भएका बेला आउने यो पर्व पर्दछ । थारु समाजमा ‘गुरही अर्थात गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछ । नागपञ्चमीमा विशेषगरी नेपालीहरू नागबाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ ।
साँझको समयमा गाईगोरु चरेर गोठमा भित्रिएपछि बडघर अर्थात भलमन्साको पहलमा गाउँका दाजुभाइ दिदीबहिनी, अग्रजहरू नयाँ कपडा पहिरेर थालीमा पकाएको क्वाटी, कपडाको रंगीविरंगी गुडीया लिएर गाउँको चौराहामा भेला हुन्छन् । जसलाई ‘गुरही’ ठटाउने स्थान बनाइएको हुन्छ । चौराहामा गाउँका भदौ भलादमीदेखि बच्चाबुढासम्म भेला भएपछि बडघरले एकै सासमा डुबो घाँसमा गाँठो पार्छन । गाँठो पारिसकेपछि त्यसलाई ठटाउने आदेश दिएपछि जम्मा भएका केटाकेटीहरू त्यसलाई आफुसँग ल्याएको रंगीचंगी केराको डाँठ वा काँसको सोँठाले बालिकाहरूले फाल्ने गुडिया ठटाउँछन् । यो बेला निकै रोचक हुने गर्दछ ।
गुरही ठटाएपछि देउ घुघरी, लेउ घुघरी को नारा लगाउँछन् । यसरी ‘गुरही’ ठटाउँदा गाउँघरमा विद्यमान रहेका रोगव्याधी, दुःखबाट छुटकारा पाइन्छ भन्ने जनविश्वास छ । केटाकेटी आकारको लुगाको पुतला बनाएर चौकमा लगेर ठटाउने परम्परा आफैमा थारु लोक संस्कृतिको उपज रहेको छ । थारु समाजभित्र तिरस्कृत रहेको बोक्सी, अर्ध–गुरुवालाई समाजबाटै वहिस्कृत गरेको यसले संकेत गर्दछ पनि भन्ने गरिएको छ । अर्कोतिर थारु समाजभित्र अन्धविश्वासले अझै पनि जरा गाडेको छ भन्ने कतिपयको बझाई छ ।
‘गुरही’ ठटाइसकेपछि त्यहाँ जम्मा भएका थारु दिदी–वहिनिहरू ‘गुरही’ ठटाएकै ठाउँमा भुजा छर्कने र जम्मा भएकालाई प्रसादको रूपमा बाँड्ने प्रचलन गरिन्छ । दिदीबहिनीहरूले चना, मकै, केराउ लगायत क्पाँटीका परिकार प्रसादको रूपमा सबैलाई बाँड्ने गर्छन् । गुरही ठटाउने सदस्यहरू चौकमा ठटाएको कपडाको टुक्रा संकलन गरेर घरतिर लाग्नछन् । ठटाएका ती कपडाको टुक्रा घरको द्वारमा बाँध्दा, क्वाँटीलाई घरको छानामा छर्कदा र डुबोलाई घरमा राख्दा घरमा रहेको दुःखकष्ट र सर्प विच्छीहरू घरबाट निस्केर जाने विश्वास थारु समुदायमा रहेको छ ।
‘गुरही’ लाई ठटाइसकेपछि नदी, कुलोमा अन्त्येष्टी गरिन्छ । त्यसो गरेमा गाउँघरमा रहेको रोग व्याधी र संकट पानीसँगै बगेरजाने र सुखलाभ प्राप्त हुने विश्वास छ । गुरहीलाई नागपञ्चमीको रूपमा मनाइने गरेपनि थारुा पुर्खाले नागको फोटो लगाएर घरमा पूजागर्ने चलन थिएन । गुरही थारु समुदायको शुरुवातको पर्व हो । गाउँघरमा थारु समुदाय प्रायः कृषि कार्यमा आवद्ध हुने गरेका छन् । वर्षदिनलाई पुग्ने खेतबारीमा धान रोपिसकेपछि पर्ने यो पर्वले थकित मनलाई मेटाउने र शितलता दिने गर्छ । गाउँघरका सबै नागरिक एकै थलोमा जम्मा भएर गुरही मनाउनु आफैमा थारु एकताको विषयका रूपमा लिन सकिने थारु संस्कृति विषयका जानकारको भनाई छ ।