Ad Area

सबै प्रकारका हिंसा रोक्न सामुहिक प्रतिवद्धता  


घोराही, २६ भदौ । समाजमा बढ्दो बालविवाह, लैंगिक हिंसा न्यूनीकरण गर्न र मुक्त कमलरीहरुका सवालमा उनीहरुको सामाजिक, आर्थिक र न्यायीक पहुँचमा भूमिका खेल्ने जनप्रतिनिधि, महटावाँ, टोल विकास संस्था, संघसंस्था एवम् अगुवाहरुले प्रतिवद्धता जनाएका छन् ।

उनीहरुले बालविवाह, लैंगिक हिंसा हुन नदिने, कहीँ कतै भई हालेमा रोकथाम गर्ने, बालविवाह गरिसकेकाहरुलाई उमेर नपुग्दै आमा बन्नबाट रोक्ने, बालविवाह र प्रजनन् स्वास्थ्यका बारेमा जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिने, कानूनी कारवाहीका लागि सम्बन्धीत निकायमा पहल गर्ने तथा कमलरीहरुका सवालमा वहस, पैरवी गर्ने सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् ।

मुक्त कमलरी विकास मन्चको पहलमा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मधुसुदन घिमिरेले बालविवाह रोकथामका लागि वडास्तरमा सचेतना कार्यक्रम संचालन गर्न आवश्यक पर्ने बजेटको व्यवस्था गर्ने वचन दिनुभयो । बालविवाह विरुद्धको सचेतनामुलक कार्यक्रम टोल टोलमा संचालन गराउने, कसैको घरमा बालविवाह हुन लागेको सूचना प्राप्त भएमा तत्काल कानुनी विषयमा जानकारी गराउने, कोही कसैले अटेरी गरी बालविवाह गरे वा गराएमा सम्बन्धित निकायमा तुरुन्तै जानकारी गराई बालविवाह हुनबाट रोक्ने प्रतिवद्धता जनाउनुभएको छ ।

यसैगरी, उहाँले समुदायमा बढ्दो लैंगिक हिंसा रोकथामका लागि यस विरुद्ध सचेतनाका कार्यक्रम संचालन गर्न आवश्यक बजेट व्यवस्था गर्ने, लैंगिक हिंसा प्रभावित क्षेत्र, टोलको पहिचान गरि ती टोलहरुको प्रतिनिधित्वलाई प्राथमिकता दिई सम्बन्धित क्षेत्रका व्यक्तिहरुलाई समावेश गरी वृहत सचेतनामुलक कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

आर्थिक हिंसा अन्तरगत महिला पुरुष कामदार बीचको पारिश्रमिक विभेदलाई अन्त्य गर्न अनिवार्य रुपमा उपभोक्ता समितिलाई निर्देशनसँगै कार्यान्वयनका लागि दवाव दिने, सामाजिक, राजनीतिक नेतृत्व विकासका लागि महिलाहरुलाई उत्साह प्रदान गर्ने वातावरण तयार गर्ने तथा महिला नेतृत्व विकासका लागि बजेटको व्यवस्था गरी कार्यक्रम संचालन गर्ने प्रतिवद्धता वडाका तर्फबाट गर्नुभयो ।

यसैगरी, मुक्त कमलरीहरुको अवस्था पहिचान गर्न वडा स्तरमा तथ्यांक संकलन गर्ने, समस्या पहिचान गरी समाधानका उपाय अन्तरगत वडाले आवश्यक बजेट व्यवस्था गरी कार्यक्रम संचालन गर्ने, मुक्त कमलरीहरुलाई रोजगार वा आय मुलक व्यवसायको लागि सहयोग सामग्री वितरण गर्ने तथा उनीहरुलाई कृषि उत्पादनका लागि आवश्यक औजार, बीउबिजन वितरण गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

Blog Post Ad

स्थानीय महटावाँ हीमलाल चौधरीले पनि व्यक्ति, गाउँ, टोल समाजको हीतका लागि बालविवाह, लैंगिक हिंसा, मुक्त कमलरीका साथै अरु सामाजिक सवालहरुमा कुनै पनि काम राज्यका निकायबाट जानकारी लिन आएमा गाउँटोलमा भएका कुनै पनि घटनाका बारेमा यथार्थ जानकारी गराउन भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभएको छ ।

गाउँ टोलमा कुनै प्रकारको हिंसा, विभेद हुन नदिन समुदायमा नियमित छलफल गराउने, कुनै पनि व्यक्ति हिंसामा परेर बेसाहारा भएको अवस्थामा गाउँटोलले संरक्षण गरी न्यायका लागि पहल गर्ने र गाउँ टोलमा कुनै पनि अपराधका घटना भएको अवस्थामा कानूनी उपचारका लागि सम्बन्धित निकायमा जानकारी गराउने महटावाँ चौधरीको प्रतिवद्धता रहेको छ ।

टोल विकास संस्थाहरुले पनि समाजमा कुनै प्रकारको समस्या नआओस्, कानूनले बर्जित गरेका काम र कुराहरु नहोऊन् भन्ने बारेमा आफूहरु प्रतिवद्ध रहेको जनाएका छन् । टोल विकास संस्थाहरुका तर्फबाट देवीराम पाण्डेले टोल विकासको बैठकमा बालविवाह रोकथाम सम्बन्धित छलफल गर्ने र कानूनी प्रावधानका बारेमा जानकारी गराउने प्रतिवद्धता जनाउनुभयो ।

बालविवाहको भोज कार्यक्रममा टोलबासीहरु सहभागी हुनबाट रोक्ने र तत्काल बालविवाह हुन नदिन सम्बन्धित निकायमा जानकारी गराउने, त्यस्ता व्यक्तिहरुलाई टोल विकास संस्थाहरुबाट प्रदान हुने सेवा, सुविधाबाट वन्चित गर्ने प्रतिवद्धता जनाउनुभयो । टोलका अगुवा पाण्डेले मुक्त कमलरीहरुका लागि सीपमुलक तालिमको व्यवस्था गर्न टोलबाट वडा वा नगरमा समन्वयको काम गर्ने, टोलमा कसैले कमलरी राखेको पाईएमा मुक्त गराउने तथा जुन सुकै प्रकृतिको हिंसा न्यूनीकरण गर्न टोलमा बारम्बार सचेतनाका कार्यक्रम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

महिला, अन्य संस्था, अभिभावक र समुदायका अगुवाका तर्फबाट भुमिका थारुले कमलरीहरुको पुनस्थापनाका लागि तीन तहकै सरकारसँग गास, बास, कपास, रोजगारी, शिक्षा र स्वास्थ्यको पहल गर्न भूमिका खेल्ने बताउनुभयो । उहाँले कमलरीहरुका लागि सरकारले दिनुपर्ने परिचय पत्र चाँडो उपलब्ध गराउन दवाव दिने, उद्यमशीलताका लागि सहुलियत दरमा अनुदान, ऋणको व्यवस्था गर्न, बीउ पूँजी स्वरुप लगानी गर्न माग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कुमारी आमा बनेका मुक्त कमलरी र उनीहरुको परिवारका लागि न्यायको आवाज उठाउने र नेतृत्व विकास गर्न विशेष भूमिका बढाउन भुमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो । विहेबारी २० वर्ष पारी नारालाई घरघरमा पुर्याउने र लागू गर्न प्रोत्साहित गर्ने, समुदायमा बालविवाह र यसको असरका बारेमा सडक नाटक तथा चेतनामुलक कार्यक्रम गर्ने, लैंगिक हिंसा विरुद्धको कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

समाजमा सबैभन्दा बढी हिंसामा पर्ने महिला, बालबालिका, मुक्त कमलरीहरुको सवालमा आम नागरिकलाई बोध गराउने र सचेतनाका बारेमा जिम्मेवार बनाउने काम मुक्त कमलरी विकास मन्चले पैरवी गर्दै आएको छ । खासमा मुक्त कमलरीहरुले लामो समय बिति सक्दा पनि सरकारसँग भएको १० बुँदे ७ वटा बुँदाहरु अझै पनि कार्यन्वयका दवाव दिदै आएको छ । मुक्त कमलरी मध्ये छात्राबासमा रहेर अध्ययन गरिरहेकाहरुलाई उच्च शिक्षा अध्ययनमा समस्या भईरहेको प्रति पनि उनीहरुको गुनासो छ ।

हिजोको दासताबाट माथि उठेर अघि बढ्न संघर्ष गरिरहे पनि राज्यले आफुहरुको घाँटी निमोठ्ने काम गरिरहेको आरोप मुक्त कमलरीहरुको छ । हालसम्म चार हजार नौ सय ३४ जना मुक्त कमलरीले परिचय पत्र पाएपनि सात हजार आठ सय ३५ जना परिचय पत्र पाउनबाट वन्चित हुँदा अनेकन समस्या भोग्न बाध्य भएको उनीहरु बताउँछन् ।

कमलरी मुक्ति भएको १० वर्ष बित्दापनि उचित पुनस्थापना हुन नसक्नु नै सबैभन्दा चुुनौति रहेको मुक्त कमलरीहरुको ठहर छ । अहिलेसम्म पनि छुट कमलरीको लगत संकलन नहुनु, उच्च शिक्षाका लागि छात्रवृत्तिको पर्याप्त बजेट नहुनु, घरबास र अभिभावक नभएका मुक्त कमलरीहरुलाई जग्गा र आवासको व्यवस्था अहिलेसम्म हुन नसक्दा पीडा सहेर बस्नु परेको मुक्त कमलरीहरुको दुखेसो छ ।

यसका लागि आफुहरुले विगतदेखि भोगेको बालविवाह, लैंगिक हिंसा, शिक्षा, स्वास्थ्य रोजगारी, सीपलगायत विषयमा समुदायमा रहेर सरोकार निकायलाई सचेतना प्रदान गर्ने र बेथिती रोकथामका लागि पैरवी गर्ने काम गर्दै आएका छन् । जस अन्तरगत जनप्रतिनिधि, टोल विकास संस्था, महटावाँ, अगुवाहरुलाई पनि यस प्रकारको काममा ध्यान दिन दवाव दिने काम गर्दै आएको मुक्त कमलरी विकास मन्चकी केन्द्रीय अध्यक्ष हिरा चौधरी बताउनुहुन्छ ।

Blog Post Ad Blog Post Ad