Ad Area

अलपत्र आयोजना : करोडौंका सरकारी लगानी खेर


 

०७४ मा स्थानीय, प्रदेश र संघको निर्वाचन भयो । चुनावका बेला विकासले फड्को मार्ने प्रतिवद्दता गरेका जनप्रतिनिधिले महत्वकांक्षी तर अब्यवहारिक योजना बनाए । करोडौँको लगानीमा नमुना बस्ती, भ्यु टावर, नाँच घर बनाइयो । यी अहिले उपयोग भएका छैनन् । योजना छनोटमा ध्यान नदिँदा करोडांैका सरकारी लगानी खेर गएको छ । यसमा कसैको ध्यान पुगेको छैन् ।

बंगलाचुलीका नमुना बस्ती खाली

बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा गरिव विपन्न परिवारका लागि ५ ठाउँमा ३० वटा घर बनायो । भूकम्प प्रतिरोधी घर बनाउन संघिय सरकारको २ करोड ६४ लाख र पालिकाको ३६ लाख लगानी भएको छ । घरका भित्ता चर्किएका छन्, छानो हावाले उडाएको छ, झ्याल ढोका उखेलेर फालिएका छन् ।

बंगलाचुली गाउँपालिका ५ हाँसीपुरमा ६ घर छन् । दुई घरमा परिवार बस्छन् । तापाका ६ घर मध्ये ४ घरमा मानिस बस्छन् । यि बाहेक २४ घर खाली छन् । ५१ वर्षिय एकल महिला ठगी खत्रीले अतिनै दुख भएपछि बस्न आएको बताइन् । ‘जमीन छैन्, बस्ने ठाउँ नभएपछि बाध्यताले यहाँ आएको हो उनले भनिन् । बंगलाचुली ८ का शिक्षक रोबरसिंह कवर मगरले यी घर बसोवासका लागि उपयुक्त नभएको बताए । यहाँ खानेपानी र वत्तिको सुविधा छ्रैन्, एकान्त डाँडाँमा भएकाले सुरक्षित छैन् । बासको सुविधा भएर मात्रै पनि हुदैँन्, खानपानका लागि नजिकै कमाउने ठाउँ छैन्, यसले गर्दापनि पालिकाले बनाएको घरमा कोही बस्न मान्दैनन् ।

बंगलाचुली ८ का वडा अध्यक्ष झविन्द्र गाहाले प्रहरी विट नजिकै भएपनि सुरक्षा नभएकाले घरको संरक्षण हुन नसकेको बताए । सिसाका झ्याल चर्पीका ढोका कसले तोडफोड गरेको हो भन्न नसकिने बताए ।

Blog Post Ad

बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले घर बनाउने ठाउँ छनोटमा गल्ती भएको बताए । नगर प्रहरी र कार्यालय सहयोगिलाई घर रेखदेखको लागि निर्देशन दिए पनि सबै ठाउँमा पुग्न नसकेको बताए । पालिकाले घर संरक्षण र परिवार छनोट गरी बसोवासमा ध्यान दिने बताए ।

प्रयोगमा नआउँदै भत्कियो शीत भण्डारण गृह

बंगलाचुली गाउँपालिका वडा नं. ५ मुर्कुटीमा आर्थिक वर्ष २०७६/०७७ मा १०० टन क्षमताको शीत भण्डारण गृह बनाइयो । यस काममा १ करोड १७ लाख खर्च गरियो । गाउँपालिकाको ६० लाख, साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिजम) को ५३ लाख, लोहारपानी कृषि सहकारी संस्थाको १३ लाख १५ हजार लगानी छ । तर यो गृह प्रयोगमा नआइ भत्किएको छ ।

बनाउँदा सही ठाउँ छान्न नसक्दा यस प्रकारको समस्या भएको लोहारपानी कृषि सहकारी संस्थाका कोषाध्यक्ष गोपाल भण्डारीले बताए । अहिले प्रयोग गरिएका सामान अलपत्र छन् । प्रयोग गरिएका औजारमा खिला लाग्न थालेको छ । बनाएको बर्ष बर्खाको पानीले थोरै क्षती भएको थियो । गएको बर्ष असोज–कात्तिकमा पहिरो आएकाले भवन कामै नलाग्ने गरी भत्किएको छ ।

मर्मतका लागि बजेट माग गरे पनि पालिकाले विनियोजन नगरेको कोषाध्यक्ष भण्डारीले बताए । सहकारीसँग क्षतीको मर्मत गर्न प्रयाप्त पैशा छैन् । बंगलाचुलीमा उत्पादन हुने सुन्तला, अदुवा, टिमुर, कागती, तरकारी राख्न शीत भण्डारण गृहको आवश्यकता छ ।

बंगलाचुली गाउँपालिका–५ का निवर्तमान अध्यक्ष तथा स्थानीय यनुराज खत्रीले कोल्ड स्टोर सही प्रयोजनका लागि निर्माण भए पनि गलत ठाउँमा बनाएकाले भत्किएको बताए ।

२ करोड बढी भ्युटावर अलपत्र

आर्थिक वर्ष २०७४÷०७५ मा दाङको पहाडी पालिकाको अग्ला डाँडाँलाई पर्यटकीय स्थल बनाउन बंगलाचुली गाउँपालिकामा भ्युटावर बनाउने योजना बन्यो । वडा नं. ८ हाँसीपुर, २ नम्बर वडाको धिमधिमे लेक र ५ को बंगलाचुलीमा तीन तले टावर बनाइयो । यि टावर बनाउन २ करोड भन्दा बढी खर्च भएको छ । स्थानीय सरकारले यि ठाउँमा बजेट खर्च गर्दा स्थानीय सन्तुष्ट छैनन् । उनीहरु अनावश्यक र अनुत्पादक क्षेत्रमा लगानी गरेको बताउछन् ।

बंगलाचुली गाउँपालिका–८ की नीमा गाहाले भ्युटावर आवश्यक नभएको बताइन् । डाँडाँहरु अग्ला छन्, टावर चढ्नै पर्देन । ०७४ मा निर्वाचित भएका जनप्रतिनिधिको कार्यकालमा बनेको भ्युटावर हालसम्म उपयोग भएको छैनन् । यी टावर बनाएर छाडिएका छन् । स्याहार सम्भार नभएकार्ले संरचनाहरु कमजोर बन्दैछन् । ‘ बरु गाईबस्तुलाई खुवाउन पानी छैन्, नीमाले भनिन्’ ।

टावर संगै सौचालय बनाइएको छ । संरक्षण नहुँदा सौचालयका ढोका चोरी भएका छन्, तोडफोड भएका छन् । पालिका उपाध्यक्ष जिसीले गाउँपालिकाले बनाएका संरचना सुरक्षित नहुनु दुखद भएको बताए । पर्यटकीय क्षेत्रको रुपमा पालिकालाई विकास गर्ने योजना अनुसार यी काम भएका थिए । योजना अनुसार काम भएको भए आम्दानीको स्रोत बन्न सक्थे तर बनाएर छोडिएको छ । हाम्रो सम्पत्ति हो र यसलाई संरक्षण गर्ने जिम्मेवारी पनि छ भन्ने महशुस गर्न पर्ने उनी बताउछन् । यि आयोजनालाई कसरी उपयोगि बनाउने भनेर योजना बनाइने उनी बताउछन् ।

 

उपयोग भएन नाचघर

घोराही उपमहानगरपालिका वडा नं. १८ घोरदौरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना बनाइयो । ०७४ को स्थानीयतह, संघ, प्रदेशको निर्वाचनमा यो बिषयले प्राथमिकता पायो । लुम्बिनी प्रदेशको मुख्यमन्त्री शंकर पोख्रेल हुँदा घोरदौरामा नाचघर बनाउदा स्थानीय कला संस्कृतिको संरक्षण हुने र यसबाट यस ठाउँको विकासमा भूमिका खेल्ने अपेक्षा थियो । नागरिकहरु अवलोकनका लागि जाँदा सडक बन्ने, त्यहाँ उत्पादन भएका बस्तु बेचविखन सजिलो हुने, पसल होटेलहरु खुल्दा घोरदौरा बासीलाई प्रत्येक्ष आम्दानी हुने अपेक्षा थियो । विस्तारै खानेपानी लगाएत सबै विकासका योजनाहरु बन्दै जाने भनिएको थियो । सांस्कृतिक डवलीका लागि बजेट विनियोजन गरियो । अहिले यही संरचना भताभुंग छन् । लगानी खेर गएको छ ।

यस काममा प्रदेश सरकारको एक करोड ६० लाख खर्च भएको छ । नाचघाको भवन, दर्शक बस्नका लागि सिँढी, शौचालयलगायतका संरचना निर्माण गरिएका थिए । २०७८ असारमा परेको वर्षामा माटो दबेपछि निर्माणाधीन अवस्थामा नाचघरको संरचना भत्किएको थियो । यो सांस्कृतिक डबली बनाउन भिरालो जमिनलाई सम्याइएको थियो । पुरेको जमिन भासिएर भवनको पश्चिमतिरको गाह्रो भत्किएको थियो । दर्शक बस्नका लागि बनाइएका पाँचवटा सिंँढी र शौचालयलगायतका अन्य संरचनासमेत काम नलाग्ने गरी चर्किएको स्थानीय टेक बहादुर पुनले बताए । अहिले यो सांस्कृति डवली बेवारिसे बनेको छ ।

पहिले वन कार्यालय अन्तर्गत भइरहेको यो काम आर्थिक वर्ष २०७८–०७९ मा प्रदेश पर्यटन कार्यालयलाई दिइयो । अहिले मर्मत गरिएको छैन् । अस्वभाविक बजेट खर्च भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा उजुरी परेपछि यसो गर्न नसकिएको हो ।

हापुरमा बोटानिकल गार्डेनको काम अगाडी बढेन

प्रदेश सरकारको लगानीमा घोराही उपमहानगरपालिका वडा नं. १२ हापुर विजौरी डाँडामा करिव ७ हेक्टर जग्गामा वनस्पति उद्यान बनाउन थालिएको थियो । कृषि तथा वन विज्ञान अध्ययन गर्ने प्रदेशका एक हजार विद्यार्थीलाई अध्ययन अनुसन्धान गर्न सहयोग पुग्ने गरी उद्यान बनाउने योजना अगाडी सारिएको हो । सम्भाव्यता अध्ययनको समयमा ३५ करोड लाग्ने अनुमान गरिएको थियो ।

उद्यान बनाउनका लागि सिचाइँ पाइपलाईन विच्छ्याउने, उद्यानमा माटो भर्ने, फुटपाथ बनाउने बाहेकका काम भएका छैनन । यति काम गर्दा ३४ लाख खर्च भएको छ । उद्यानमा हुनुपर्ने आवश्यक संरचना संगै उद्यानकोे दक्षिण भागमा तीन सय मिटर अग्लो बुद्धको मुर्ति र घण्टाघर निर्माण गरिने, टिमुर, गुर्जाे, बर्राे, साल, साज, खयर, सुगन्ध कोकिला लगायतका विभिन्न प्रजातिका विरुवा, फलफुलका विरुवा रोप्ने काम भएका छैनन् ।

निर्माण सुरु गरिएको चार वर्षमा पहिलो चरणको काम भएको छ । लुम्विनी प्रदेश सरकार अन्तर्रगतको बोटानिकल गार्डेन बनाउने काम डिभिजन वन कार्यालयले हेर्दे आएको थियो । २०७८ बाट भने घोराही उपमहानगरपालिका पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखाले हेर्दे आएको छ । २ बर्ष काम भएर रोकिएको उद्यानको लागि बजेट विनियोजन नभएको घोराही उपमहानगरपालिका १२ का वडा अध्यक्ष दोरण बहकरीले बताए । योजना अनुसार यो कामलाई पुर्णता दिन प्रदेश सरकारले नै प्राथमिकता दिनुपर्ने बताए ।

छिल्लीकोट भ्यु टावर

तुलसीपुर उपमहानगरपालिकामा पनि भ्युटावर बनाउने लहड चल्यो । पर्यटन बढाउने भनेर वडा नं. १९ छिल्लिकोट पहाडमा २५ लाखको लागतमा भ्युटावर बनाइयो । अग्लो डाँडाँमा तीन तले भ्युटावरले सुरुमा स्थानीय पर्यटकलाई तान्यो । तर अहिले यसको महत्व कम हुँदै गएको छ । सडकको राम्रो सुविधा नहुँदा सजिलै त्यहाँ पुग्न सकिदैँन् । जिल्ला बाहिरका पर्यटन भित्राउने र छिल्लिकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना पुरा हुन सकेन् । पालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले भ्यु टावर लगायतका संचना संरक्षण र रेखदेखका लागि स्थानीयलाई जिम्मा दिइएको बताए ।

भ्युटावर चढेर दृश्यअवलोकन गर्ने पर्यटकलाई टिकटको व्यवस्था गर्ने र त्यसलाई आम्दानीको स्रोत बनाउन सकिने योजना थियो । तर हाल सम्म आम्दानी गर्न सकिएको छैन् । टावर चढ्न कसैले रुचि नदेखाएको संरक्षण समितिले जानकारी दिएको न्यौपानेले बताए । तुलसीपुरको पहाडी विकट बस्तीमा पुग्न सडक, स्वास्थ्य सेवा, खानेपानीको आवश्यकता थियो । तर पालिकाले टावर संरचना बनाउन बजेट विनियोजन गर्दा स्थानीय उत्साहित छैनन् । स्थानीय विनोद रोकाले यसले कुनै फाइदा नभएको बताए । टावर भन्दा अग्ला पहाड छन्, यसमा चढ्नुको अर्थ छैन्, उनले भने । जनताबाट कर उठाएर कामै नलाग्ने अनुत्पाक क्षेत्रमा लगानी भएको उनले बताए ।

सात बर्षमा पनि सम्पन्न भएन

लमहीमा ०७४ सालमा फोहोर व्यवस्थापनको योजना बनाइएको थियो । बजारको फोहोर राम्रोसँग तह लाग्ने र फोहोरबाट पैसा कमाउने भनिएको थियो । तर०७४ मा निर्वाचित सरकारले यो काम पूरा गर्न सकेनन् । बरु भ्यु टावर बनाउने योजना बन्यो । लमही नगरपालिका–५ को अजम्बरी सामुदायिक वनमा १ करोड २२ लाख अनुमानित लागतमा ७ तले भ्यु टावर बनाउने योजना बनाइयो ।

आर्थिक बर्ष ०७३÷७४ मा लमही नगरपालिकाको ३५ लाख रुपैयाँ अनुदान र अजम्बरी सामुदायिक बन समूहको १५ लाख रुपैयाँ लगानीमा तीन तला निर्माण गरिएको थियो । लमही नगरपालिकाले फेरी आर्थिक वर्ष ०७४÷७५ बाट तला थप गर्न बजेटको विनियोजन गरेको थियो । अहिले पाँच तले भ्यु टावर ठडाइएको छ ।

यो भ्यु टावर निर्माण सुरू भएको सात वर्ष भयो । रङरोगन लगायत अन्तिम चरणको काम बाँकी छ । अजम्बरी सामुदायिक वनका अध्यक्ष पवन रिजालले आफू अध्यक्ष पदमा आउनुभन्दा अघि नै भ्यु टावर बनाउन सुरु भएको तर अझै काम पूरा नभएको बताए । रिजालले डेढ करोड लगानी गरिएको भ्युटावर लगाएत संरचना कसरी उपयोग गर्ने विषयमा सोच्नुपर्ने बताए । ‘बनमा टावर आवश्यक थिएन्, यसमा करोडौँ लगानी गर्नुभन्दा अरु आवश्यक कुरामा खर्च गर्नुपर्ने बताए । अहिले यसले एक रुपैँया पनि आम्दानी नगरेको र अलपत्र भएको बताए । भ्यु टावरका नामका यी संरचना संरक्षण गर्ने ठोस योजना पनि छैन ।

गढवा गाउँपालिकामा पनि भ्यु टावर बनाइएको छ । वडा नंं. ८ कोइलावासमा वडाको २१ लाख लागतमा संरचना बनाइएको हो । जिल्लाको ऐतिहासिक स्थल भएकाले भ्यु टावरले क्षेत्रको विकासमा सहयोग गर्ने पूर्व पालिका अध्यक्ष सद्दाम सिद्धिकीले बताए ।

Blog Post Ad Blog Post Ad