Ad Area

अटवारीमा हराउँदै बर्कीमार गाथा, पर्व मनाउने पनि घट्दै


घोराही, ३१ भदौ । अटवारी पर्व, पश्चिमा थारू समुदायको चाड हो । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने यो पर्वमा पुरुषहरू निराहार व्रत बस्ने गर्छन् । यो पर्वको विशेष महत्व भएपनि थारु समुदायको पछिल्लो पुस्ताले यसको सांस्कृतिक महत्वलाई निरन्तरता दिन नसकेको थारु संस्कृतिविद बेझलाल चौधरी बताउनुहुन्छ ।

अटवारी पर्वमा बर्कीमारको महाभारतको कथा गाउँदै पाँच पाण्डवमध्येका भीमको वीरता र शक्ति महिमा गानसँग जोडिएको विषय अहिलेको पुस्तालाई थाहै नभएको बेझलाल बताउनुहुन्छ ।

बर्कीमार अटवारीको पर्यायका रुपमा रहेको बताउँदै थारु संस्कृतिविद चौधरीले अटवारी पर्वका नाममा बाह्य संस्कृति भित्रिने क्रम बढेको प्रति दुखेसो पोख्नुहुन्छ । ‘थारु समुदायमा महाभारतको कथाको वृत्तान्तमा उल्लेख भएका धेरै जसो मिथक मिल्न जान्छ । पाँच पाण्डवको भक्ति साधना गरेर भीमको जस्तै शक्ति र बल प्राप्त होस् भनेर दिव्य साधना गर्ने परम्पराकालदेखि चल्दै आयो’, बेझलाल भन्नुहुन्छ ‘अहिले त बर्कीमार केहो भन्ने कुरा केही थाहा पत्तो छैन । हिजोको पुस्ताले जोगाएर यहाँसम्म ल्याएको यसको सांस्कृतिक, धार्मिक महत्व कमजोर बन्दै गएको छ । यो चिन्ताको विषय हो ।’

हिजोको अटवारी पर्व सांंस्कृतिक र धार्मिक महत्वलाई उजागर गर्ने गरिएकोमा अहिलेको अटवारी पर्व निकै महंगो बन्दै गएको पनि बताउनुहुन्छ । खानपान र मनोरन्जनको रुपमा मात्रै लिन थालेपछि यसको खास कृयाकलाप कमजोर बन्दै गएको प्रति नयाँ पुस्ताले गम्भीर रुपमा अटवारी पर्वलाई लिन आग्रह गर्नुहुन्छ ।

खासमा भीमको जस्तै शक्ति माग्ने उद्देश्यले पुरुष जातिले निराहार ब्रत बसेर भीम अर्थात सूर्यको पूजा गरेर पूजा आराधना गर्ने र आफुले पाएको शक्ति आफ्ना चेलीबेटीहरुमा पनि बाँड्ने काम अटवारी पर्वमा हुने उहाँको भनाई छ ।

उसो त, बिदेशी संस्कृतिको प्रभाव, आधुनिकताको असरले पनि आफ्नो कला संस्कृतिलाई बेवास्ता गर्ने क्रम बढेको उहाँ बताउनुहन्छ । ‘बाउबाजेले माने म त मान्दैन मैले नमाने के हुन्छ भनेर आफ्नो संस्कृति भुल्ने परिपाटी आएको छ । हाम्रा संस्कृति अमुल्य सम्पत्ति हुन् । आफ्नो धर्म, संस्कार, संस्कृति मान्नुपर्छ । आधुनिकतामा गएपनि आफ्नो मौलिकता भुल्न हुदैन’ बेझलाल भन्नुहुन्छ ‘यो पहिचान र अस्तित्वको विषय हो । हिजोका खराब र गलत काम छाडेर असल कामलाई अनुशरण गर्नुपर्छ । यदि संस्कृति रहेन भने हाम्रो समाजको अस्तित्व कहाँ पुग्छ ? यो निकै गम्भीर कुरा हो ।’

Blog Post Ad

हिजोका दिनमा थारु गाउँमा गुरही पर्व शुरु भएपछि चाड पर्वको रौनकता आउने गरेकोमा अहिले सबै हराउँदै गएको उहाँ बताउनुहुन्छ । अटवारी पर्व मनाउनेको संख्या पनि वर्षेनी घट्दै जान थालेको प्रति उहाँ चिन्ता गर्नुहुन्छ ।

यसरी मनाईन्छ अटवारी पर्व

अटवारीमा बर्तालुहरूले आफै पकाएको पकवानहरूबाट पूजा अनुष्ठान र ग्रहण गर्ने परम्परागत मान्यता छ । यसकारण रोटी, पक्की र खुर्मा जस्ता पिठोजन्य खान्की बेल्ने र पकाउने अभ्यास नभएका पुरुष बर्तालुहरूको घरका महिलाहरूले सहयोग गर्ने गर्छन् । यसरी सहयोगीको रूपमा काम गर्ने महिलाहरूलाई पनि व्रत बस्नु पर्ने हुन्छ । ब्रत नबसेकाहरू पकाउने ठाउँ र पूजा स्थलमा जान र छुन समेत पाउँदैनन् । उनीहरुले छोए जुठो पर्ने मान्यता छ । यसैले पनि पुरुष बर्तालुहरूको सहयोगी महिलाहरूले ब्रत बस्नै पर्ने हुन्छ ।

अटवारी पर्व ठाउँ अनुसार चालचलनमा विविधता छ र यसको ऐतिहासिक, धार्मिक, सामाजिक पृष्ठभूमिको बारेमा पनि विभिन्न धारणाहरू अगाडि आएको देखिन्छ । यसकारण पछिल्लो समय यस पर्वको निश्चित समय हुनु पर्ने कुरा थारू समुदायका बौद्धिक वर्गहरूको बहसको विषय पनि बन्दै आएको छ । कुशे औंसी पछिको पहिलो आइतबार प्रायः तीज पछि नै पर्छ । योे एउटा संयोग मात्र हो । यसले पनि तीज पछिको आइतबारलाई मान्ने भन्ने कुराको बढावा दिन सक्छ । तर योे सत्य नभएको थारु अगुवाहरु बताउँछन् ।

प्रकृति पुजक थारू समुदायमा खास गरेर योे पर्व सूर्यको पूजा गरेर मनाइन्छ । सूर्यलाई उज्यालो, अग्नी र शक्ति अर्थात उर्जाको प्रतीकको रूपमा मानिन्छ । आइतबारलाई रविबार पनि भनिन्छ । रवि भनेको सूर्य अथवा अग्नी । जब भयावह कालरात्रि चिरेर सूर्यको उदय भएपछि योे संसार उज्यालो भयो भन्ने किम्बदन्ती छ ।

सूर्यले अँध्यारो चिरेर उज्यालो गराउँछ । जसले गर्दा मान्छे मात्रै होेइन यस पृथ्वीमा बस्ने हरेक प्राणीलाई सजिलो हुन्छ । सुर्यले वातावरणीय चक्र प्रणालीलाई सन्तुलित बनाउन छ । जसको आधारमा ऋतु अनुसारको काम र समयको निर्धाण पनि हुन्छ । प्रकृतिप्रति विश्वास गर्ने थारू समुदाय सूर्य उज्यालोको प्रतीक भएकोले यसको पूजा उज्यालोदाताको रूपमा गरेका हुन् ।

अर्को मिथक महाभारत कथासंग जोडिएको छ । पाँच पाण्डव मध्ये सबैभन्दा बलियो भेवाँ (भीम) थिए । जब कौरव र पाण्डवको लडाइ भयो । त्यसै समय भीम रोटी पकाउँदै थिए । लडाई चरमोत्कर्षमा पुगेपछि उनी रोटी पकाउँदा पकाउँदै टावामै छोडेर लडाईमा हिंडेँ । जब लडाईबाट फर्किदा उनी निकै भोकाएका थिए । तावामा छोडेर गएको एक पट्टी मात्र पाकेको रोटी खाएर पेट भरेको मिथक छ ।

अटवारीमा अक्केकरे रोटी अर्थात एक पट्टी मात्र पकाएको रोटी पकाउने चलन छ । यसरी अक्केकरे रोटी उनै भीमलाई पुज्ने गरिन्छ भन्ने किम्बदन्ती छ भने भीम, थारू राजा दंगीशरणलाई लराइमा सघाएको र सबैभन्दा बलियो पुरुष भीम भएकोले उनी जस्तै बलियो हुने संकल्पका साथ पुरुषहरू उनकै पूजा गरेर अटवारी व्रत बस्ने विचार पनि जनमानसमा छ । यसरी अटवारी पर्वको बारेमा अध्ययन गर्दा वैचारिक एकरूपता रहेको पाइदैन । ठाउँ अनुसार फरक फरक विचार, चालचलन र प्रक्रिया रहेको पाइन्छ ।

अटवारी, व्रत बसेर मनाउने पर्व भएकोले यसमा पनि ‘डटकट्टन’ (दर) खाने चलन छ । दर खानाका लागि शनिबार दिनभरि माछा मार्ने र अरु तरकारीको जोहो गरिन्छ । माछाको सुखौरा धेरैजसो पहिल्यै तयार गरिएको हुन्छ । अटवारीमा माछाको सुखौरा विशेष मानिन्छ । तर कुनैै चीजको मासु भने हुँदैन ।

सागमा पोइँ अनिवार्य जस्तै हुन्छ । भिन्डी, घिरौलां, ठुसा मास अर्थात एक प्रकारको दाल बाली, झिलिङ्गी, सिल्टुङ लगायतका तरकारी हुन्छ । ‘डटकट्टन’ व्रत बस्नेहरू भाले बास्नु भन्दा पहिले खानु पर्छ । यदि खानुभन्दा पहिले भाले बासे भने ‘डटकट्टन’ खान पाइदैन । खाए भने उसले व्रत बस्न पाउँदैन । उसलाई जुठो मान्ने चलन छ ।

आइतबार अथवा अटवारीको दिन व्रत बस्नेहरूको खान भान्सामा पाक्दैन । उनीहरू बिहानै नुहाएर बहरी (घरको प्रवेशद्वारको पहिलो कोठा) या आँगनमा गाईको गोबरले लिपपोत गर्छन् । लिपपोत गरेर ‘कोरे आगी’ (भान्सामा पहिले प्रयोेग नभएको आगो, चोखो आगो) मा रोटी पकाइन्छ । पुरानो आगो आज अपवित्र मानिन्छ । त्यसकारण गनयारी काठ या फोर्सा काठ घोटेर निकालेको चोखो आगो प्रयोग गर्ने गरन्छि । बाटुलो रोटी सूर्यको प्रतिकात्मक परिकारको रूपमा लिइन्छ । योे पर्वमा रोटी अनिवार्य हुन्छ । अन्य खानेकुरा भने सहायक हुन्छन् । अटवारीमा अन्डी र र गहुँको गरी, दुई थरीको रोटी हुन्छ भने चिल्लो रोटी, अम्बा, केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी पनि हुन्छ । पहिलो दिन नुन, बेसार, खुर्सानी, माछा, मासु भने आजको दिन बर्जित हुन्छ ।

रोटी पकाएर तयार भयो भने स्नान गरी बिहान लिपपोत गरेको ठाउँमा पिर्का या कुनैै काठको वस्तुमा संगै बसेर आफ्नो प्रक्रिया अगाडि बढाउँछन् । खानुभन्दा पहिले अगयारी (अग्यारी) दिने चलन छ । निश्चित ठाउँमा गाईको गोबरले पुनः लिपेर त्यसमा आगो राखिन्छ । त्यही आगोमा सल्लाको धूप, नौनी र खानका लागि तयार गरिएको बस्तु अनदी चामलको रोटी, गहुँको रोटी, पक्की, काँक्रो, अम्बा, केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी अलिअलि सबै चीज एकैमा मिसाएर त्यसमा हवन गरिन्छ । यसरी आगोमा चढाउने कामलाई ‘अगयारी’ दिएको भनिन्छ ।

सूर्य आगोको मुख्य श्रोत हो । सूर्य आफैमा अग्नी हो । त्यसैले सबैभन्दा पहिले अग्नीलाई अथवा सूर्यलाई प्रसादको रूपमा अगयारी दिने चलन आएको होे । अगयारी दिएर तीन पटक दायाँ र तीन पटक बाँयाबाट पानीको घेरो हाल्ने चलन छ । कोइ–कोइ पाँच या सात फेरा पनि पर्छने गर्छन् । त्यसपछि आफ्ना चेलीबेटीहरूका लागि पाहुरको रूपमा ‘अग्रासन’ छुट्याउने चलन छ ।

‘अग्रासन भनेको आफू खानुभन्दा पहिले छुट्टयाएको खान भन्ने बुझाउँछ । जुन आफू खानुभन्दा पहिले आफ्ना चेलीहरूको नाममा छुट्टयाइन्छ । अग्रासन ‘अग’ र ‘रासन’ समास भए बनेको शब्द हो । यहाँ ‘अग’ भनेकोे सबैभन्दा पहिले भन्ने अर्थ हुन्छ र ‘रासन’ भनेको खान भन्ने बुझाउँछ । यसरी चेली बेटीहरूलाई दिनका लागि छुट्टै भाँडोमा निकालेर मात्रै खाने चलन छ । योे काम दिउँसो हुन्छ । अन्य व्रत जस्तो अटवारीमा दिनभरि निराहार बसिरहनु पर्दैन । दिउँसो नै पूजा गरी खाने चलन छ । योे क्रम सूर्यास्त नहुँदासम्म चल्छ । सूर्यास्तपछि खाने काम पूर्ण रूपले बन्द हुन्छ ।

अर्को दिन सोमबार, ‘फर्हार’ गरिन्छ । फर्हार नहुँदासम्म पानी समेत नखाएर निराहार बस्नु पर्छ । फर्हार अटवारीको अन्तिम पूजा होे । यस दिन व्रतालुहरू बिहानैदेखि खानपिनको तयारीमा जुटेका हुन्छन् । घरका अन्य सदस्यहरूले पनि सहयोग गरेका हुन्छन् । आजको खानामा खास गरेर भात, खँरिया, फुलौरी, पोंइ मिसाएको ठुसा, सुखौरा माछा, चिचिण्डो, घिरौला, भिन्डी लगायतका बिजोर संख्यामा तरकारीहरू बनाइएको हुन्छ । माछाको सुखौरा विशेष मानिन्छ तर मासु भने हुँदैन । फर्हारपछि मात्रै मासु ल्याउने या खाने गरिन्छ ।

फर्हार, सबै पकवान तयार भएपछि शुरु हुन्छ । व्रतालुहरू हिजोको जस्तै आज पनि नुहाई धुवाई गरी अगयारी दिएर आफ्ना चेली बेटीहरूका लागि ‘अग्रासन’ निकाल्ने गरिन्छ । अग्रासन धातु वा प्लाष्टिकको भाँडामा निकालिदैन । अग्रासन विशेषताः मालुका पात, कमल या केराको पातमा निकाल्ने गरिन्छ । अटवारी आउनुभन्दा केही दिन पहिले नै पात टिप्ने काम हुन्छ । प्रायः अग्रासन पात खुटेर बनाएको दुना टपरीमा निकालिन्छ । त्यो नभए विकल्पको रूपमा कमलको पात या केराको पात प्रयोेग भएको पनि पाइन्छ । यसरी प्रक्रियागत रूपमा सबै कार्य पूरा भइसकेका पछि मात्र व्रतालुहरू अन्न ग्रहण गर्छन् ।

अन्य पर्वमा जस्तै अटवारीमा आफ्ना चेलीबेटीहरूलाई घरमै बोलाउने चलन छैन । ब्रतालुहरूले निकालेको पहुर अग्रासन उनीहरूकै घरमा पु¥याउन जाने चलन छ । अग्रासन पु¥याउन प्रायः दाजुभाइ नै जाने गर्छन् । दाजु भाइ नभए अन्य सदस्यहरू जान्छन् । चेलीहरू पनि अग्रासन दिन आउनेलाई मानसम्मान गर्छन् ।

योे पर्व भातृत्वप्रेम र सद्भावको पर्वको रूपमा पनि लिने गरिन्छ । लामो समयसम्म आफ्नो माइता जान नपाएका चेलीबेटीहरू यस पर्वमा आफ्ना दाजुभाइ तथा परिवारसंग दुःखसुखका कुरा खुलेर पोख्छन् । यसरी एकै ठाउँमा बसेर सुखदुःखका कुरा र खानपीनले एकापसमा विश्वास र आत्मीयता बढाउँछ । पारिवारिक सम्बन्ध पनि सुमधूर बनाउने हुँदा यसको आफ्नै महत्व रहेको थारु अगुवाहरुको भनाई छ ।

Blog Post Ad Blog Post Ad