Ad Area

राप्तीमा देखियो फड्के किराको प्रकोप, किसान चिन्तामा


घोराही, ३ असोज । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानीका मदन पोख्रेलले जेठको पहिलो साता रोपेको धानका बोट राम्रो भएको भए अहिले बाला झुल्ने बेला हो । विगत वर्षमा जस्तै यो पटक पनि उहाँले धानको कलमी गरेर, खेत राम्रोसँग खनजोत गरेर रोप्नुभयो । रोपेको करीव सय दिनसम्म राम्रै रहेको धानका केही बोटमा भदौको १८ गतेतिर किराले असर गर्न थाल्यो । अचानक धानका बोट सुकेर पहेँलो हुन थालेपछि उहाँले स्थानीय एग्रोभेटमा सम्पर्क गर्नुभयो ।

त्यहाँबाट समस्या समाधान हुने अवस्था नभएपछि राप्ती गाउँपालिकाको कृषि शाखालाई धानमा देखा परेको समस्या बारे जानकारी गराउनुभयो । लगत्तै पालिकाबाट कृषि प्राविधिक आएर धानको बोटमा देखा परेको समस्याका बारेमा जानकारी लिए । भदौको २२ गतेतिर उहाँले कृषि प्राविधिकबाट सल्लाह सुझावका आधारमा धानमा देखा परेको समस्याका बारेमा राय सुझावका आधारमा विषादी छर्के पनि धान मर्ने क्रम रोकिएन ।

‘सुरुमा थोरै बोटमा समस्या देखियो, के भएको रहेछ भनेर स्थानीय एग्रोभेटमा कुरा राखेँ । यो ठाउँमा पहिलो पटक यस प्रकारको समस्या देखिएकाले पनि यही भएको हो भन्ने पत्ता लागेन । पछि पालिकाको कृषि शाखामा सम्पर्क गरेर धानमा भएको समस्याका बारेमा जानकारी गराएँ’, मदनले भन्नुभयो ‘पालिकाका कृषि प्राविधिकले स्थलगत अध्ययन अनुगमन गरेर अवस्था बारे जानकारी लिनुभयो । औषधी छर्कन विषादी पनि सिफारिस गर्नु भयो । छर्केको हो तर यसले पनि काम गरेन । औषधी जहाँ छर्यो त्यहाँ किरा मर्छ । जमीनको चिसो र ओसका कारण केही किरा फेरी बाँचेर अरु ठाउँमा असर गरिरहेको छ ।’

भदौको १८ गतेतिर धानका बोटमा देखा परेको समस्या भदौको अन्तिममा आईपुग्दा करीव ६ कट्ठामा रोपेको धान सुकेर पराल बनेको छ । दक्षिण कुनाबाट फैलिएको रोगको प्रकोप फैलिँदै उत्तरतिर लागेको छ । छोटो समयमा यति धेरै क्षति भएपछि मदनलाई चामल किनेर खानुपर्ने बाध्यता आई लागेको छ । ‘अहिलेसम्म धान खेतमा यस्तो समस्या भएको थिएन । यो पटक खै के भयो यस्तो बिजोग बनायो । वर्षभरी खाने धान सखाप भयो । विगत वर्षमा गोरखनाथ धान रोप्ने गरेको थिएँ’, उहाँले भन्नुभयो ‘यो पटक साँवा मन्सुली रोपेको तर सबै चौपट भयो । धानका बोट सबै सुकेर पराल बनेको छ । पराल पनि गाईबस्तुलाई खुवाउन मिल्दैन । किराले असर गरेको छ । त्यसमा विषादी पनि छरेको छ । सबै बर्बाद भयो ।’

मदनको धान खेतमा रोपेको धान पसाउने बेलाका धान बाली पहेँलो हुँदै जाने र मर्ने समस्या देखिएको जानकारी आएपछि पालिकाले कृषि प्राविधिक पठाएर समस्याको कारण पहिचान गर्दा फड्के किराले असर गरेको पुष्टि भयो । धानमा देखा परेको समस्या बारे अनुसन्धान गर्दा फड्के किरा अर्थात राइस होपरको प्रकोप पुष्टि भएको राप्ती गाउँपालिका कृषि शाखा प्रमुख सीमा भट्टले बताउनुभयो । जानकारीमा आए अनुसार राप्ती गाउँपालिकाको वडा नम्बर १, २, ५, ७ का वडामा फड्के किराको प्रकोप देखा परेको छ । जसले किसानलाई धान बाली भित्र्याउने बेलामा चिन्ता थपेको छ ।

Blog Post Ad

धानका बोट धमाधम पहेँलो हुन थालेपछि पालिकाले के भएको हो भन्ने बारेमा बुझेर प्रकोप नियन्त्रणका लागि विषादी सिफारिस गरी थप प्रकोप नियन्त्रण गर्ने काम गरिरहेको कृषि शाखा प्रमुख भट्ट बताउनुहुन्छ ।

‘फड्के किराको कारण धानको बोट मर्न थालेको जानकारी आए लगत्तै अन्य ठाउँबाट पनि धानमा फड्ने किराको प्रकोप फैलिएको बारेमा जानकारी आएपछि हामीले प्रकोप धेरै ठाउँमा नफैलियोस् भने कृषकलाई सुतर्क गराउने काम गरेका छौँ । यसको प्रकोप निकै छिटो फैलिने हुँदा सावधानी पनि उत्तिकै रुपमा अपनाउनु पर्ने हुन्छ’ उहाँले भन्नुभयो ।

राप्ती गाउँपालिका वडा नम्बर ७ का रामचरण चौधरीले आफुले रोपेको धानमा पनि फड्के किराको समस्या देखा परेको बताउनुभयो । केही दिनसम्म राम्रो रहेको धानमा अहिले फड्के किराले असर गर्दै लगेको बताउनुभयो । कृषि प्राविधिकसँगको सल्लाहमा विषादी छर्केर उपचार गरिरहेको उहाँ बताउनुहुन्छ ।

फड्के किराको आक्रमणका कारण हालसम्म राप्तीमा करिब १५ बिगाहाभन्दा बढी क्षेत्रको धान बाली पहेँलो भएर सुक्न थालेको किसानको गुनासो छ ।  सुरुमा धानको बोटमा तल्लो भागका पातहरु र पछि माथिल्ला पातहरु समेत पहेँलिँदै जाने गरेको कृषकको भनाई छ । विरुवाहरु गाँजिन र बढ्न नसक्ने र किराको आक्रमण बढ्दै गएपछि पुरै बोटहरु डढेलो लागे जस्तो गरी मर्ने गरेको राप्ती ५ अर्का किसान पुरन चौधरीको भनाई छ ।

राप्ती नदीको आसपासका खेत धान उत्पादनका लागि जिल्लामै चर्चित छ । नदी किनारका फराकिला फाँटमा उत्पादन हुने धानबाट स्थानीय किसानको जिविका चल्दै आएको छ । मुख्य बालीका रुपमा रोपिएको धानमा फड्के किराको प्रकोप फैलिएपछि किसान चिन्तित छन् । फड्के किराले धानको गाँजमा बसेर चुस्न थालेपछि बोट पहेँलो हुँदै जाने र मर्ने गरेको कृषि प्राविधिकको भनाइ छ ।

फड्के किरा उफ्रेर वा उडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने गरेकाले यसबाट धान बाली बढी जोखिममा पर्ने गरेको किसानको भनाइ छ । राप्ती गाउँपालिकामा विगतका वर्ष गहुँमा फड्के किरा लाग्ने गरेको भए पनि यसपल्ट धानका बोटमा महामारीका रुपमा देखा परेको छ ।

धान बालीमा फैलिएको फड्के किरा नियन्त्रणका लागि प्रकोप देखा परेको धानमा पालिकाले विषादि छर्न कृषकलाई सुझाव दिएको छ । धानमा समस्या देखिएपछि अहिले कृषकहरुको भीड एग्रोभेट पसलमा बढेको छ । पालिकाले पनि किसानको खेतमा पुगेर फिल्ड अनुगमन गरिरहेको र फड्के किराको प्रकोपको रोकथामको लागि किसानहरूलाई सचेतना फैलाउने काम गरिरहेको कृषि शाखा प्रमुख भट्टको भनाई छ ।

‘निरन्तर आफ्नो बालीको अनुगमन गर्न पनि हामीले किसानहरूलाई आग्रह गरेका छौँ । फड्के किराको प्रकोप भएका धानका बिरुवा पुरै सुक्ने र पुरै जल्ने भएका कारण धान बालीको निरन्तर अनुगमन तथा निरीक्षण गरी समयमा नै रोगको व्यवस्थापन गर्न आम कृषकलाई सचेत गराउने काम गरिरहेका छौँ’ उहाँले भन्नुभयो ‘सिफारिस मात्रामा औषधिको प्रयोग गर्न, प्रकोप नियन्त्रणका उपायका बारेमा थप जानकारी गराउने काम पनि हामीले गरिरहेका छौँ ।’

धानबालीको मुख्य शत्रु जीवका रूपमा रहेको फड्के किरा धानको पात र आधारमा रस चुसेर खाई धान बालीलाई नोक्सानी पुर्याउँछ । धानको फेदमा पानीको सतहभन्दा माथि बस्ने गरेका किराले धान बालीलाई पुरै सखाप पार्ने गरेको उहाँको भनाई छ ।

धान बालीमा सामान्यतया ३ किसिमका फड्के किराहरुले क्षति गर्ने गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार, खैरो फड्के, हरियो फड्के र सेतो पिठ्युँ भएको फड्के किरा नै धानको प्रमुख शत्रु जीव रहेका छन् ।

खैरा, हरिया वा सेता रंगका उफ्रने किसिमका मसिना भुसुना जस्ता कीराहरु धानको गाँजको फेदमा बसेर पात र फेदबाट रस चुसेर खाइ नोक्सानी गर्दछन् । धान खेतमा पानीको सतह भन्दा माथिको डाँठको भागमा यी कीराहरुले निकालेको चिपचिपे पदार्थले गर्दा कालो ढुसी देखिन्छ । फड्के कीराहरुले धानबालीमा ठूलो क्षति पुर्याउनुको साथै टुङ्ग्रो, ग्रासी स्टण्ट र रेग्ड स्टन्ट जस्ता भाइरस जन्य रोगहरु समेत सारेर बालीलाई नोक्सान पुर्याउने उहाँँ बताउनुहुन्छ ।

उता, कृषि ज्ञान केन्द्रले राप्ती गाउँपालिकाका विभिन्न वडामा देखा परेको फड्के किराको प्रकोप जिल्लामा पहिलो पटक भएको जनाएको छ । यसअघि यस प्रकारको कुनै समस्या नदेखिएको हुँदा त्यहाँको अवस्थाका बारेमा स्थलगत अध्ययन गरेर मात्रै जानकारी गराउन सकिने बताएको छ । फड्के किरा धान बाली पसाउने बेलामा बढी मात्रामा देखा पर्ने हुँदा कृषकले अबका दिनमा बढी सावधानी अपनाउनु पर्ने अवस्था रहेको उहाँको भनाई छ ।

देउखुरी क्षेत्रमा देखा परेको समस्याका बारेमा ज्ञान केन्द्रलाई आईतबार अपरान्ह मात्रै औपचारिक जानकारी आएको कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो । उहाँले पालिकाबाट आईतबार करीव ४ बजेतिर पालिकाको विभिन्न वडामा फड्के किराको प्रकोप बढ्दै गएको हुँदा प्राविधिक टोली पठाई प्रकोप रोकथाममा सहयोग गरिदिन अपिल गरेको पत्र आएको बताउनुभयो ।

उहाँका अनसार पालिकाले तत्काल थप प्राविधिक टोलीबाट प्रकोप क्षेत्रको अनुगमन गरि रोकथाम नगरिए स्थिती भयावह आउने तर्फ पनि सचेत गराएकाले आफुहरु यस बारेमा बुझ्ने तयारी रहेको कृषि प्रसार अधिकृत लामिछानेले जानकारी दिनुभयो । यद्दपि, अहिले चाडपर्वका कारण प्राविधिक टोली विदामा बसेको हुँदा विदापछि मात्रै प्रकोप प्रभावित क्षेत्रको बारेमा बुझ्न प्राविधिक टोली पठाउने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

देउखुरी क्षेत्रमा करीव साढे १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जसमा सबैभन्दा बढी धान खेती राप्ती गाउँपालिकामा हुने गरेको तथ्यांक छ ।

Blog Post Ad Blog Post Ad