Ad Area

दाङको दीर्घकालीन विकासका रणनैतिक योजना


दाङ । जिल्लाको दीर्घकालीन विकासका लागि रणनैतिक योजना बनाउन आवश्यक भएको जनप्रतिनिधिले बताएका छन् । जिल्लाको समग्र विकासका लागि स्थानीय तहको भूमिका र दीर्घकालीन रणनैतिक योजनासम्बन्धी समन्वयात्मक बैठकमा जनप्रतिनिधिले स्थानीय तहभन्दा माथि जनप्रतिनिधिले जिल्लाको समग्र विकासका लागि साझा एजेण्डामा एकताबद्ध भएर लाग्नु पर्ने बताएका हुन् ।

लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी दाङ जिल्ला भएको भन्दै सहभागीले जिल्लामा नियमित हवाई सेवा, घोराही–तुलसीपुर चारलेन सडक निर्माण, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पतालको प्रभावकारी सञ्चालन, खेलकुद मैदान र पयर्टन क्षेत्रको विकासका लागि सामूहिक पहल आवश्यक रहेको भन्दै दशवटै स्थानीय तह एक भएर अगाडि बढ्नु पर्ने बताएका थिए । त्यसका लागि स्थानीय तहले नेताका दबाब र प्रभावबाट हुने विकासभन्दा पनि आवश्यकताका आधारमा विकास निर्माणका काम गर्नु पर्ने भन्दै परिणाममुखी योजनामा सहकार्य गरेर अगाडि बढ्ने जनप्रतिनिधिले सहमति समेत जनाएका छन् ।

हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रबाट विकास निर्माणका काम नियमित रूपमा गर्दै आए पनि जिल्लाको विकासका लागि दीर्घकालीन रूपमा असर पार्ने योजनामा सामूहिक पहल आवश्यक रहेको जनप्रतिनिधिको भनाइ थियो । कार्यक्रमका सहभागीले आजका लागि मात्रै नभएर भोलिका दिनमा स्थानीय तहको मर्जको अवस्था पनि आउन सक्ने भएकाले आ–आफ्नो स्थानीय तहमा मात्रै नभएर जिल्लाको समग्र विकासका लागि सामूहिक विकासका साझा मार्गमा सँगै अघि बढ्नु पर्ने आवश्यकता रहेको बताएका थिए । सामूहिक छलफल र पहलले एजेण्डामा विकासका लागि एकमत बनाउने र त्यसले समग्र जिल्लालाई अघि बढाउन भूमिका खेल्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले समग्र जिल्लाको विकासलाई माथि उठाउन सहकार्यमा जोड दिनु पर्ने आवश्यकता रहेको बताए । हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रबाट विकास निर्माणका काम नियमित रूपमा गर्दै आए पनि जिल्लाको विकासका लागि दीर्घकालीन रूपमा असर पार्ने योजनामा जनप्रतिनिधिको सामूहिक पहल आवश्यक रहेको बताए ।

‘पालिकाको विकासका लागि हरेक स्थानीय तहमा जनप्रतिनिधिले भूमिका खेल्दै आउनुभएको छ । हामीले पनि कृत्रिम जलाशय, गाउँलाई सहरसँग जोड्ने सडक कालोपत्रेसँगै कृषि सुधारमा लागिरहेका छौँ’, नगर प्रमुख चौधरीले भने, ‘तर ती कामको प्रचारभन्दा घोराही–तुलसीपुर फोरलेन बाटो किन बनेन भनेर जनप्रतिनिधिले गाली खाने अवस्था छ । त्यसैले हामीबाट हुने ठुला विकास निर्माणका काममा सहकार्य र नहुने काममा सामूहिक दबाब सिर्जना गर्नतर्फ लागौँ ।’

यसैगरी तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले पनि विकास निर्माणका लागि सामूहिक पहल आवश्यक रहेको बताइन् । ‘म जनप्रतिनिधिका रूपमा निर्वाचित भएदेखि एयरपोर्टको विकासका लागि निरन्तर काठमाडौं जाने र क्यानमा गएर दबाब दिने काम गरिरहेको छु तर एक्लै हुने रहेनछ’, उपप्रमुख चौधरीले भनिन्, ‘क्यानको अफिसमा तपाईँ एक्लै आएर हुँदैन, दबाबका लागि पनि जनप्रतिनिधि एक भएर आउन आवश्यक छ भन्छन् तर हाम्रो दाङका जनप्रतिधि कोही नारायणपुर, कोही देउखुरी र कोही तुलसीपुर भनेर विभाजित छौँ अनि कसरी चल्न एयरपोर्ट ?’

Blog Post Ad

दाङ सोसाइटीको आयोजनामा भएको छलफल कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले जिल्लाको सर्वाङ्ग विकासका लागि जनप्रतिनिधिको एकताबद्ध प्रयास आवश्यक रहेको बताए । पालिकाले आफ्नो तर्फबाट विकास निर्माणका राम्रा काम गरे पनि एयरपोर्ट, शिक्षा र स्वास्थ्यलगायतका महत्वपूर्ण क्षेत्रमा पछि पर्दा जनताले दुःख पाउने गरेको भन्दै जिल्लाको विकास र जनताको सेवाका लागि सामूहिक रूपमा काम गर्न सकिने बताए । त्यसका लागि स्थानीय तह, प्रदेश तथा सङ्घीय संसद्मा पहल गर्ने जनप्रतिनिधिको सामूहिकता आवश्यक रहेको बताए ।

समग्र जिल्लाको विकास निर्माणसँगै स्थानीय तहले प्राप्त गर्ने अधिकारका सवालमा स्थानीय तहमा भएका जनप्रतिनिधि एक ठाउँमा उभिन आवश्यक रहेको बताए । ‘जनताको नजिकको सरकार भनेको स्थानीय तह हो । स्थानीय सरकारप्रति जनताका धेरै अपेक्षा छन्’, बबई गाउँपालिका अध्यक्ष कूलबहादुर खत्रीले भने, ‘भौगोलिक रूपमा विकट र धेरैजसो जङ्गल क्षेत्रमा पर्ने भएकाले हामीलाई काम गर्न धेरै कठिन भएको छ, ती कठिनाइका समाधान गर्न सबैको सामूहिक पहल आवश्यक छ ।’

कार्यक्रममा शान्तिनगर गाउँपलिका उपाध्यक्ष प्रेमाकुमार बुढाथोकी, गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी, राजपुर गाउँपलिका उपाध्यक्ष धनपति यादव, बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीलगायतले सुझावसहितको मन्तव्य राख्दै जिल्लाको समग्र विकासका लागि सामूहिक पहलको विकाल्प नभएको बताएका थिए । कार्यक्रममा दाङ जिल्लाको सर्वाङ्ग विकासका लागि स्थानीय तहका भूमिका र दीर्घकालीन रणनैतिक योजनासम्बन्धी कार्यपत्र दाङ सोसाइटीका अध्यक्ष अधिवक्ता निकेशकुमार लम्सालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै लम्सालले जिल्लाको विकासका लागि लमही–घोराही–तुलसीपुरसम्म रात्रिकालीन बस सञ्चालन गर्नु पर्ने, सबै पालिकाले एउटा साझा यातायात कम्पनीको स्थापना गरेर विद्युतीय बस सञ्चालन गर्नु पर्ने, एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्तरोन्नति गर्न प्रत्येक पालिकाले आर्थिक सहयोग गर्ने र यथाशीघ्र एमविविएस कक्षा सञ्चालन गर्ने, एकीकृत स्वास्थ्य सेवा विकास नीति बनाइ कार्यान्वयन गर्ने, लमहीभन्दा पश्चिमको क्षेत्रमा राजमार्गलाई आधार बनाएर करिब ५ किलोमिटर क्षेत्रलाई मिल्क स्ट्रिट घोषणा गर्नु पर्ने, लमहीभन्दा पूर्वको भागलाई केन्द्र बनाएर राजमार्गको आपसामा पाँच किलोमिटरलाई रिफ्रेस स्ट्रिट घोषणा गर्नु पर्ने, दंगीशरण गाउँपालिकालाई थारुहरूको सांस्कृतिक राजधानी घोषणा गर्नु पर्ने र भिजिट दाङ २०२५ स्थापना गरी पर्यटकका लागि विशेष प्याकेज ल्याएर जिल्लाको विकासमा पहल गर्न सकिने बताएका थिए ।

Blog Post Ad Blog Post Ad