Ad Area

ग्लोबल तेक्वान्दो मास्टर तालिममा भाग लिन सुनिता कोरिया जाँदै


घोराही, १६ असोज । तेक्वान्दो खेलाडी तथा प्रशिक्षक  सुनिता बिष्ट प्रशिक्षणका लागि दक्षिण कोरिया जान लाग्नु भएको छ ।
विश्व तेक्वान्दो हेडक्वाटर कुक्कीवनद्वारा विश्वभरबाट तेक्वान्दो खेलमा विशेष योगदान पुर्याएका ५२ जना खेलाडीका लागि प्रदान गर्न लागिएको ग्लोबल तेक्वान्दो मास्टर तालिममा भाग लिन बिष्ट दक्षिण कोरिया जान लाग्नु भएको हो ।
बिष्टसहित नेपालबाट २ जना छनौट भइ १ महिने तालिममा सहभागी हुन दक्षिण कोरीया जान लाग्नुभएको हो ।

यसैबीच, तालिम लिन काेरिया जान लाग्नु भएकी बिष्टलाई बधाईसहित विदाई गरिएको छ । घोराही उपमहानगर नगर खेलकुद विकास समिति सदस्य, तेक्वान्दो खेलाडी एवं राष्ट्रीय रेफ्री बिष्टलाई तालिममा भाग लिन जान लागेकाले मंगलबार एक समारोह बीच विदाई गरिएको हाे । घोराही १४ स्थित अल्फा तेक्वान्दो डोजाङ तथा नगर खेलकुद विकास समितिले संयुक्त रुपमा कार्यक्रम गरि बिष्टलाई बिदाइ गरेको हो।
यही असोजको २० देखि कार्तिक २० सम्म सम्पन्न हुने तालिमका लागि जाँदा आउँदा लाग्ने हवाइ टीकट तथा अन्य सबै खर्च आयोजक विश्व तेक्वान्दो हेडक्वाटरले व्यहोर्ने छ ।
तालिममा भाग लिन जान लाग्नु भएकी खेलाडी बिष्टले यो स्तरको तालिममा देशको प्रतिनिधित्व गरेर जान पाउनु गौरवको विषय भएको बताउँदै पाएको महत्वपूर्ण अवसर खेर जान नदिने प्रतिवद्धता जनाउनुभयो ।

विश्व स्तरको तालिमले खेलकुद क्षेत्रको विकासमा योगदान दिन थप प्रेरणा मिलेको प्रतिकृया दिनुभयो ।

कार्यक्रममा नगर खेलकुद विकास समिति संयोजक एवं फुटबलका पूर्व राष्ट्रीय खेलाडी नरेन्द्र पुन तथा नगर खेलकुद विकास समिति सदस्य एवं तेक्वान्दो खेलाडी दामु शर्माले टीका तथा खादा लगाएर तालिम सफलताको शुभकामना दिनुभएको थियो ।

विदाइ कार्यक्रममा तेक्वान्दो प्रशिक्षक संघर्ष बुढामगर, डोजाङका अन्य सिनियर खेलाडीहरुले पनि टीका तथा खादा लगाएर केक काटेर सुखद र फलदायी यात्राको कामना गरेका थिए ।

घोराही १७ स्थायी घर भएकी बिष्ट अल्फा तेक्वान्दो डोजाङको प्रशिक्षक हुनुहुन्छ भने विभिन्न विद्यालयमा पनि तेक्वान्दो तालिम प्रदान गर्ने काम गर्दै आउनु भएको छ ।