Ad Area

बाँकेमा अनिश्चितकालीन कर्फ्यु जारी


 घोराही, १६ असोज । बाँकेमा मुस्लिम र हिन्दु समुदाय बिच धार्मिक तथा सामाजिक सद्भाव भड्किने जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु आदेश जारी गरेको छ । मुस्लिम र हिन्दु समुदायबीच सामाजिक सद्भाव भड्किन गई क्षति हुन सक्ने आँकलन गर्दै बाँके प्रशासनले केहीबेर अघिबाट कर्फ्यु लगाएको छ ।

आज बिहान ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीको क्रममा विवाद उत्पन्न भई नेपालगंज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिती देखिएकोले नेपालगंज नगर क्षेत्रमा आज दिउँसो १ बजे देखि अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) १ (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार, नेपालगंज उपमहानगरको पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका गरि चार किल्ला सिमा क्षेत्र भित्र कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस प्याली गर्न, हुल हुज्जत गर्न र हिडडुल गर्न समेत नपाईने गरी कर्फ्यु लगाईएको छ ।

असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि सामाजिक संजालमा लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध र्यालीका कारण उत्पन्न परिस्थिती एवम आज हिन्दु समाजले निकालेको र्यालीको क्रममा विवाद उत्पन्न भएको थियो । जसका कारण नेपालगन्ज अशान्त बनेको छ । कर्फ्यु आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारवाही समेत गर्न सक्ने चेतावनी दिईएको छ ।।

Blog Post Ad Blog Post Ad