Ad Area

दाङमा बढ्दो वैदेशिक रोजगार ठगी, दुई महिनामै सवा करोड ठगीको उजुरी, ४५ जना पीडित


घोराही, १८ असार । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का यमलाल भुसाल र वडा नम्बर १७ का मेघलाल भुसाललाई पोर्चुगल पठाई दिन्छु भन्दै दलाललाई जनही १५–१५ लाख रुपैयाँ बुझाए । तुलसीपुर १८ का ज्ञानबहादुर डाँगी र तुलसीपुर १६ का पिताम्बर डाँगीले उनीहरुबाट ३० लाख बुझेर पोर्चुगल पठाउने आश्वासन दिए ।

सोही आधारमा भुसालद्वय घरबाट विदा भएर विदेशीय । तर, उनीहरुले घर छाडेको लामो समय बिति सक्दा पनि गन्तव्य मुलुक पुग्न सकेनन् । पोर्चुगल देश पठाई दिने भनेर दलालले अफ्रिकासम्म पुर्याएर अहिले अलपत्र पारेपछि उनीहरुको बिचल्ली भएको छ ।
ललपत्र परेको भन्दै दलाल विरुद्ध भुसाल परिवारले जिल्ला प्रशासन कार्यालय दाङमा साउन ३२ गते उजुरी दिएको छ ।

घोराही ४ का देवराज घिमिरेले क्यानडा पठाई दिनेभन्दै दलाललाई पाँच लाख ७० हजार बुझाउनुभयो । रकम बुझाएको लामो समयसम्म पनि दलाल भनिएका विराटनगर ७ मोरङका सुरोविक कटुवालले देवराजलाई पठाएनन् । अनेक बहानाबाजी हुन थालेपछि आफु ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा साउन २४ गते उजुरी पर्यो ।

घोराही १८ का मनोज गौतमलाई अमेरिका पठाई दिन्छु भन्दै तुुलसीपुर ६ डुम्रीगाउँका दलाल भनिएका महाबीर चौधरीले ८ लाख लिएर अलपत्र पारे । मोटो रकम बुझेर काम हुने बेलासम्म पनि नभएपछि आफु ठगिएको भन्दै मनोजले पनि साउन ११ गते प्रशासनमा उजुरी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का भीष्म भण्डारी वैदेशिक रोजगारीका लागि क्यानाडा जाने भन्दै दलालको सम्पर्कमा पुग्नुभयो । भण्डारीले विदेश पठाउने दलाल तुलसीपुर ७ कै अंकित अधिकारीलाई आकर्षक तलब र काम पाईने प्रलोभनमा बीस लाख नब्बे हजार रुपैयाँ बुझाउनुभयो । रकम बुझाएपछि अब विदेश जान पाईने भयो भन्दै दिन पर्खेर बस्नुभएका भण्डारी अन्ततः दलालको ठगीमा पर्नुभयो । उहाँको करीव २१ लाख डुबेको छ भने मानसिक तनाव सहनु परेको छ ।

घोराही ४ का विनोद चौधरी पनि विदेश जाने नाममा ठगीमा पर्नुभएको छ । गत वर्षको असारमा फ्रान्स पठाई दिनेभन्दै दलालले ९ लाख ५४ हजार रकम लिएर फरार भएपछि विनोदको परिवार पनि तनाव छ । उहाँसँगै अरु ६ जनाले पनि माल्टा र फ्रान्स जान पाईने प्रलोभनमा परेर जनही १० लाख बुझाएका थिए । उनीहरुले गुल्मीका लालबहादुर परियार, कैलालीका रेवती बिष्ट र अर्का एक महिला दलाललाई रकम बुझाएका हुन् ।

Blog Post Ad

दाङमा पछिल्लो समय अस्वाभाविक रुपमा वैदेशिक ठगीका घटना बढ्दै गएको छ । वैदेशिक रोजगारीका लागि दलालको विश्वास गर्दा दाङमा धेरै युवाहरु ठगिने क्रम बढेको छ । जिल्लाको विभिन्न स्थानबाट पछिल्लो समय ठगीका उजुरी पर्न थालेपछि दलालले लाखौँ रकम ठगी गरेको तथ्य बाहिरिएको छ ।

चालु आर्थिक वर्षको बितेको २ महिनामा मात्रै विदेश पठाई दिनेभन्दै दलालबाट ठगिनेको संख्या २७ वटा रहेको छ । जसमा ४५ जना ठगिएका छन् । वैदेशिक रोजगारका लागि जानेभन्दै दलालबाट ठगिएकाहरुले जिल्ला प्रशासनमा दिएको उजुरी अनुसार, १ करोड ४४ लाख ८० हजार ३ सय ५० रुपैयाँ ठगिएका छन् ।

साउन महिनामा २४ जना ठगिँदा १ करोड ६ लाख ७५ हजार ३ सय ५० रुपैयाँ दलालले लगेका छन् । भदौमा २१ जना ठगिँदा ३८ लाख ५ हजार रुपैयाँ दलालले लगेका छन् । ठगीमा पर्नेहरु आकर्षक तलब र काम पाईने लोभमा परेर दलालको भर पर्दा ठूलो रकम ठगीमा परेका हुन् । माल्टा, क्यानाडा, फ्रान्स, अमेरिका, पोल्याण्ड जस्ता देशहरुमा आकर्षक तलब र काम दिलाई दिनेभन्दै लाखौँ रकम असुली गरेर अन्तिममा दलाल सम्पर्क बिहीन हुने गरेपछि पीडितहरु न्यायका लागि प्रहरी प्रशासनमा पुगेका छन् ।

ऋण लिएर दलाललाई बुझाएको रकम फिर्ता पाउनुपर्ने, दलाललाई कारवाही हुनुपर्ने माग गर्दै उजुरी परेको वैदेशिक रोजगारका क्षेत्रमा काम गर्दै आएको सुरक्षित आप्रवासन सामी कार्यक्रमकी सहजकर्ता रीता लामाले जानकारी दिनुभयो । यसअघि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपनि यसको छानबीन र न्यायका लागि प्रहरीमा पठाउने गरिएकोमा साउन १ गतेबाट जिल्ला प्रशासन कार्यालयमै उजुरीको छानबीन गरी ठगी गर्नेलाई कारवाही र पीडितलाई न्याय दिने अख्तियारी दिईएको छ ।

वैदेशिक रोजगार ठगीका समस्यालाई मेलमिलाप तथा विभागमा सिफारिस गर्ने कार्यविधि २०७९ अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका वैदेशिक रोजगारको ठगी सम्बन्धी कसुर हेर्न प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइए अनुसार मुद्दा फाँटमार्फत कामको थालनी भई सकेको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताउनुभयो ।

ठगीमा परेको वा दलालले समस्यामा पारेका लगायतका उजुरी परेको आधारमा वैदेशिक रोजगार नियमावली २०६४ को नियम ५२ क को उपनियम २ ले दिएको अधिकार प्रयोग गरी जारी कार्यविधिमा रहेर कार्य सम्पादन अघि बढाएको सहायक प्रमुख जिल्ला अधिकारी पुनले बताउनुभयो । उहाँका अनुसार, हालसम्म ४ जनाको उजुरीको सुनुवाई गर्दै पीडित र पीडक बीच मेलमिलाप गराउने काम भएको छ ।

मुद्दा फाँटबाट एक जना कर्मचारी खटाएर उजुरी दर्ता गर्ने, अभिलेख राख्ने, मिलापको वातावरण बनाउने लगायत कामको थालनी भएको उहाँले जानकारी दिनुभयो । यद्दपि, अझै अपेक्षा गरिए अनुसार कार्य सम्पादन अघि बढ्न नसकेको उहाँको भनाई छ । साउन १ गतेबाट जिल्ला प्रशासनमै उजुरीको सुनुवाई गर्नुपर्ने नियम बनेपछि सोही कार्यविधिमा टेकेर कामको शुरुवात भएपनि ठगीका उजुरी पर्ने क्रम बढेको र पर्याप्त जनशक्ति अभावमा अपेक्षा अनुसार काम अघि बढाउन नसकिएको उहाँले बताउनुभयो ।

यसअघि सुरक्षित आप्रवासन सामी कार्यक्रमको सहायत कक्षमा ठगी सम्बन्धी उजुरी पर्ने गरेको थियो । विदेशमा अलपत्र परेको, मृत्युभएको, समस्यामा परेको लगायत समस्या लिएर पनि उजुरी आउने गरेकोमा पछिल्लो समय वैदेशिक रोजगारको लागि युरोपलगायतका देशमा जान दलालको भर परेर मोटो रकम बुझाउँदै अलपत्र पर्नेहरुको संख्या बढेको छ । जसलाई जिल्लामा सकेसम्म निरुपण गर्न वैदेशिक रोजगार विभागले साउनबाट नयाँ कार्यविधि लागु गरेको हो । जिल्लामा सम्भव नभएकाहरुको हकमा प्रहरी कार्यालय, जिल्ला अदालत वा विभागबाट सहयोग लिन सकिने व्यवस्था गरिएको छ ।

सामी कार्यक्रम संयोजक बसन्ता पुनले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएपनि नागरिकहरुबाट पनि लापरवाही बढेको तर्क गर्नुभयो । वैदेशिक रोजगारमा जानेले अपनाउनु पर्ने प्रकृयाका बारेमा बारम्बार जानकारी गराउने, बस्ती टोलमा समेत सचेतनाका कार्यक्रम गरिरहँदा पनि लापरवाही भईरहेकाले सबै सचेत हुनुपर्ने बताउनुभयो ।

विदेश भन्दा स्वदेशमा नै आर्थिक गतिविधिसँग जोडिँदै उत्पादनमुलक क्षेत्रमा लाग्न सामीमार्फत प्रेरित गरिँदै आएको उहाँको भनाई छ । सामी कार्यक्रमले दाङको घोराही, तुलसीपुर, लमही र बबई गाउँपालिकामा अहिले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन काम गर्दै आएको छ । सूूचना तथा परामर्श, सीप तालिम, न्यायमा सहजीकरण, वित्तिय व्यवस्थापन र मनोसामाजिक परामर्शको काम गर्दै आएको हुँदा यसबाट धेरैले लाभ उठाएको उहाँ बताउनुहुन्छ ।

देशको अवस्थाका कारण आन्तरिक रोजगारीमा निकै कमी आएको छ । यहाँ नयाँ उद्योगधन्दा खुल्न सकेका छैनन् भने खुलेका उद्योगका लागि पनि आवश्यक कर्मचारी मजदुरको पूर्ति हुन नसक्दा अवसरको कमी भएपछि युवाहरु रोजगारीको विकल्प खोजि रहँदा दलालको फन्दामा पर्ने गरेका छन् ।

मुलुकमा जनशक्ति अनुसारको रोजगारीको अवसर कम हुँदै गएपछि युवा वैदेशिक रोजगारीतर्फ आकर्षित भएका छन् । बढ्दो बेरोजगारी, पारिवारिक दबाव, सामाजिक प्रतिष्पर्धा, अस्वस्थ खर्च, बिलासी जीवनशैलीका कारण खर्च धान्न नसक्ने अवस्था भएपछि ऋण धन गरेर भएपनि अमेरिका, युरोप जाने लहडले गर्दा युवाहरु ठगीमा पर्ने गरेका छन् ।

नेपालको कानुनले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेमाथि कडा कारबाही हुने व्यवस्था गरेपनि अपवादबाहेक त्यस्ता ठगहरूका उजुरीमाथि पनि कारबाही हुन सकेको छैन । अहिले पनि ठगीका उजुरीलाई मेलमिलापमै टुंग्याउन जोड दिईएको छ ।

Blog Post Ad Blog Post Ad