Ad Area

घोराहीमा मंसीरदेखि फागुनसम्म खेलकुद गतिविधि हुने


घोराही, ३० असोज । घोराही उपमहानगरपालिका स्तरीय नगर खेलकुद विकास समितिले खेलकुदका गतिविधि संचालन गर्ने निर्णय गरेको छ । नगर खेलकुद विकास समिति अध्यक्ष नरेन्द्र पुनको अध्यक्षता तथा नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा मंगलबार घोराहीमा बसेको बैठकले विभिन्न प्रकारका खेलकुद संचालनदेखि खेलकुदको संस्थागत विकासका लागि काम गर्ने निर्णय गरेको छ ।

मंसीरमा तेक्वान्दो, बक्सिङ, कराँते, ब्याडमिन्टन प्रतियोगिता गर्ने, पुस महिनामा अन्तर वडा मेयर कप फुटबल प्रतियोगिता गर्ने, माघमा उपमेयर भलिबल प्रतियोगिता गर्ने, फागुनमा अन्तर पालिका स्तरीय मेयर गोल्ड कप प्रतियोगिता गर्ने तथा अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता गर्ने निर्णय भएको छ । यसैगरी १९ वटै वडामा वडा स्तरीय खेलकुद समिति बिस्तार गर्ने निर्णय भएको समिति अध्यक्ष पुनले जानकारी दिनुभयो ।

यसअघि खेलकुद विकास समितिले पालिकामा रहेका क्लव, संस्था, एकेडेमीलाई दर्ता प्रकृयामा आउन गरेको आग्रहलाई पालना गर्दै दर्ता प्रकृयामा सूचीकृत भएका ती संस्था, क्लब र एकेडेमीलाई खेलकुद सामग्री वितरण गर्ने भएको छ । तथा, दर्ता प्रकृयामा आउन छुट भएकाहरुलाई पुनः मंसीर मसान्तसम्म सूचिकृत हुन आग्रह गरेको छ ।

समितिका अनुसार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रिय मान्यता प्राप्त खेलबाट सहभागी भई पदक जितेका खेलाडी, प्रशिक्षक, रेफ्रीलगायतको अभिलेख समितिले राख्ने भएको छ ।

बैठकमा पालिकामा व्यवस्थित रुपमा खेलकुदका गतिविधि संचालन गर्दै खेलकुद क्षेत्रबाट दक्ष खेलाडी उत्पादन गर्न नयाँ अवधारणाका साथ काम अघि बढाएको नगर प्रमुख चौधरीले बताउनुभयो । उहाँले स्वस्थ युवाबाट मात्रै स्वस्थ समाज निर्माण सम्भव भएकाले खेलकुदका हरेक विधालाई पालिकाले ध्यान दिने बताउनुभयो ।

बैठकमा उपप्रमुख हुमा डिसी, सामाजिक विकास समिति संयोजक एवम् प्रवक्ता राममणि पाण्डे, वडा नम्बर १४ का अध्यक्ष भानसिंह बुढा, सामाजिक शाखा अन्तरगत शिक्षा महाशाखाका प्रमुख विनोद गौतमलगायतको उपस्थिति रहेको थियो । बैठकमा दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान पनि गरिएको थियो । खेलकुद विकास समितिका सदस्य सचिव शेरबहादुर बिष्टले विषय प्रवेश गराउनुभएको कार्यक्रमको सहजीकरण समिति सदस्य श्रवणकुमार खनालले गर्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad