Ad Area

अख्तियारको कारबाही छल्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारसहित ३ जनाको राजीनामा


दाङ,१ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्ने देखेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन जना पदाधिकारीले पदबाट राजीनामा दिएका छन्। प्रतिष्ठानका रेक्टार डा वसन्त लामिछाने, रजिष्ट्रार प्रकाश थापा र डेप्यूटी रजिष्ट्रार झंकार लामिछानेले राजीनामा दिएका हुन्।

राष्ट्रिय सतर्कता केन्द्रले ती पदाधिकारीहरुको नियुक्ति नै कानुन मिचेर गरिएको भन्दै कारबाहीका लागि अख्तियारमा फाइल पठाएपछि उनीहरुले कारबाही छल्न पदबाट राजीनामा दिएका हुन्। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार रेक्टार डा लामिछानेले असोज १८ गतेदेखि नै लागू हुने गरी, रजिष्ट्रार थापाले आज बुधबारदेखि लागू हुने गरी र डेप्यूटी रजिष्ट्रार लामिछानेले असोज २५ गतेबाट लागू हुने गरी राजीनामा बुझाएका छन्।

सतर्कताका एसपी गणेशकुमार श्रेष्ठ, डिएसपी बुद्धिराम खनाल र लेखापाल नवराज सुवेदी सम्मिलित छानबिन समितिले उनीहरुको नियुक्तिका विषयमा गरेको छानबिनका क्रममा उनीहरुलाई प्रतिष्ठान ऐन, नियमावली विपरित नियुक्त गरिएको तथ्य फेला पारेका थिए। त्यसपछि सतर्कताले उनीहरुसहित नियुक्तिका लागि सिफारिस गर्नेलाई पनि कानुनअनुसार कारबाही गर्ने सुझाव सहितको फाइल अख्तियारमा पठाएको थियो। अख्तियारमा पठाएको फाइलमा ती पदाधिकारीले हालसम्म खाइपाई आएको तलबभत्ता र सुविधा असुल गर्न पनि भनिएको छ।

मन्त्रालय स्रोतका अनुसार राजीनामा दिए पनि उनीहरुमाथि अख्तियारको छानबिन जारी रहने र अख्तियारले दोषि देखेमा कारबाही गर्न सक्ने छ।  रेक्टार डा लामिछाने र रजिष्ट्रार थापा २०७८ असार २२ असार गते नियुक्त भएका थिए। झंकार लामिछानेलाई प्रतिष्ठानको कार्यकारी परिषदबाट स्वीकृत एवं दर्ता नगरी डेप्यूटी रजिष्ट्रार भन्ने पद बनाएर नियुक्ति दिइएको थियो।

Blog Post Ad Blog Post Ad