सख्यामा झुम्दै पश्चिम तराई
दाङ । दशैं शुरू भएसँगै पश्चिम तराईका थारू बस्ती सख्या गीत र नाचमा झुमिरहेका छन्।
कहाँमन बाट हो जासु लुहकि कुररिया,
सखि र१ कहाँमन बाट लोहकै बसला।
इह लेहो इसरु लुहके कुररिया,
सखि र१ इह लेहो इसरु लुहकै बसला।
हाँठहिँ ट लेहो इसरु लुहकै बसुलिया,
सखि र१ कँढिया ढरैहो इसरु लुहकै कुररिया,
सखि र१ हाँठहिं ट लेहो इसरु लुहकै बसला।
यो थारू समुदायले डस्या ९दशैं०मा गाउने सख्या गीत हो। अहिले यही गीत थरुहट क्षेत्रमा गुन्जिरहेको छ। थारू समुदायले एक साताअघि नै नाचगान गरेर दशैंलाई स्वागत गर्छ।
यस वेला थारू समुदायका अविवाहित युवती ९बठिन्या० थारू मौलिक वेशभूषामा सजिएर हातमा मन्जिरा बजाउँदै एक स्वरमा सख्या गाउँछन् भने पुरुष ९मन्डर्या०ले मादल बजाएरसाथ दिन्छन्। दशैं शुरू भएसँगै थारू गाउँबस्ती सख्यामय बनेका छन्। यो नाच विशेष गरेर लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशको सुर्खेतका थारू बस्तीमा नाचिन्छ।
करीब एक महीनासम्म नाचिने सख्या नाच महाभारत कथासँग सम्बन्धित रहेको थारू अगुवाहरू बताउँछन्। भदौमा गरिने हार्या गुरै पूजा शुरू भएदेखि बडादशैंपछि एक सातासम्म सामूहिक रूपमा मादल र मन्जिराको साथमा गीत गाउँदै सख्या नाचिन्छ।
कसरी नाचिन्छ सख्या ?
थारू संस्कृतिविद् चन्द्रप्रसाद चौधरीका अनुसार सख्या नाचको नेतृत्व मोह्रिन्या (युवतीको मुख्य व्यक्ति)ले गर्छन्। उनको सहयोगीका रूपमा पछगिन्या (दोस्रो व्यक्ति) हुने गर्छन्। यी दुवै जनाको पछि १५ देखि ४० जना बठिन्याले सघाउँछन्।
गाउँ अनुसार बठिन्याको उपस्थिति हुन्छ। जुन गाउँमा जति धेरै बठिन्या हुन्छन्, त्यही गाउँमा सख्या नाचका लागि उनीहरूको उपस्थिति बाक्लो हुन्छ।
सख्या नाच नाच्ने वेला दुई वटा समूह बनाएर नाच्ने गरेको दंगीशरण गाउँपालिका(३, हेकुलीको मोह्रिन्या सिरु चौधरी बताउँछिन्। एउटा समूहको नेतृत्व मोह्रिन्याले गर्छन् भने अर्को समूहको नेतृत्व पछगिन्याले गर्छन्। सख्या गीत गाउँदा शुरूआतमा मोह्रिन्याको समूहले र दोस्रो पटक पछगिन्याको समूहले गाउने गरेको चौधरी बताउँछिन्।
मन्डर्या भने जुन समूहले गीत गाउँछ त्यही समूहतर्फ गएर मादल बजाउँछन्। यसरी सख्या नाचसँगै बीच बीचमा विभिन्न किसिमका पैया नाच पनि देखाइन्छ।
सख्या नाच र गीत एउटै भए पनि गाउँठाउँ अनुसार फरक फरक किसिमले नाच्ने गरिन्छ। यो नाच मटावा, बडघरको आँगनमा नाचिन्छ। दिनभरि खेतबारीको काम सकाएर राति सख्या नाच्ने चलन छ। राजाटीका अर्थात् नवमीको दिनदेखि बडादशैंको दिनसम्म भने दिउँसै सख्या नाच्ने गरिन्छ।
द्वापर युगदेखिको परम्परा
सख्या नाचको उत्पत्तिबारे थारू संस्कृतिविद्को आआफ्नै तर्क छ। थारू संस्कृतिविद् अशोक थारू सख्या नाचको उत्पत्ति द्वापर युगमा भएको सुनाउँछन्। “मेरो अध्ययनमा सख्या नाच द्वापुर युग अर्थात् पाँच हजार वर्षअघिदेखि चलेको देखिन्छ,” अशोक भन्छन्।
त्यस्तै, थारू अनुसन्धाता कृष्णराज सर्वहारी आजभन्दा दुई हजार ५०० वर्षअघिदेखि थारू समुदायले सख्या नाच नाच्दै आएको बताउँछन्। सख्या नाच कृष्ण जन्माष्टमीसँग जोडिएकाले कृष्णको जन्मदेखि नै शुरू भएको सर्वहारीको भनाइ छ।
थारू संस्कृतिविद् चन्द्रप्रसाद चौधरी थारू समुदायको तन्त्रमन्त्र शुरू भएसँगै सख्या नाच पनि शुरू भएको बताउँछन्। “थारू समुदायमा तन्त्रमन्त्रको माध्यमबाट विभिन्न रोगव्याधि हटाउने, देवीदेवताको पूजापाठ गर्ने परम्परा छ,” चन्द्रप्रसाद भन्छन्, “त्यही तन्त्रमन्त्रसँग यो सख्या गीत जोडिएकोले त्यही वेलादेखि नै नाच्ने गरेको पाइन्छ।”
पूर्व मन्त्री गोपाल दहित सख्या नाच कहिलेदेखि शुरू भयो भन्ने यकीन नभएको सुनाउँछन्। यसबारे अध्ययन र अनुसन्धान भइरहेको बताउँदै गोपाल भन्छन्, “यद्यपि थारूको गीतबाजाको विकास सँगसँगै सख्या नाचको शुरूआत भएको मान्न सकिन्छ।”
लोप हुने सँघारमा
सख्यालाई लोककाव्यको कोटिमा राख्ने सकिने थारू संस्कृतिविद् अशोक थारूको भनाइ छ। सखियालाई थारू भाषामा सख्या भनिन्छ। साथी साथी मिलेर नाचिने भएकाले पनि यो नाचलाई सख्या भनिएको उनको तर्क छ।
धार्मिक तथा सांस्कृतिक महत्त्वसँग जोडिएको सख्या नाचमा थारूका हरेक देवीदेवताका नामलाई सम्बोधन गरेर गीत गाउने गरिएको संस्कृतिविद् चन्द्रप्रसाद बताउँछन्। त्यससँगै जमीनमा बस्ने सबै जीवजन्तुको नाम सम्बोधन गरेर सख्या गीत गाउने गरिएको उनको भनाइ छ।
पछिल्लो समय भने मन्डर्या मादल बजाउने व्यक्ति०को अभावमा सख्या नाच लोप हुने अवस्थामा पुगेको देखिन्छ। घोराही उपमहानगरपालिका ६, लख्वारकी कल्पना चौधरी मन्डर्याको अभावले आफनो गाउँमा चार(पाँच वर्षदेखि सख्या नाच नाच्न छोडेको बताउँछिन्। सानैदेखि सख्या नाच्दै आएको भए पनि अहिले रोकिएको उनको भनाइ छ। “गाउँमा मादल बजाउने मन्डर्या नभएपछि सख्या नाच नाच्न छोडेका हौं,” उनी भन्छिन्।
अधिकांश युवाले विभिन्न पेशा तथा व्यवसायका कारण गाउँ छोड्ने गरेकाले सख्या नाच्ने बठिन्या भए पनि मन्डर्याको अभाव देखिएको चन्द्रप्रसाद बताउँछन्। “पहिला हामीले ३६ ख्वाट ९ताल०को पैया लगाउँथ्यौं, अहिलेका युवा चार(पाँच ख्वाटमा मात्र पैया लगाउँछन्,” उनी भन्छन्, “त्यो पनि रिमिक्स जस्तो भइसक्यो।”
हिमालखवरबाट