Ad Area

दुधमा आत्मनिर्भर बन्दै दाङ


घोराही, १४ कार्तिक । दाङ दुधमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय जिल्लामा उन्नत नश्लका गाई र भैँसीको व्यवसायिक पालन बढ्दै गएपछि जिल्ला दुधमा आत्मनिर्भर बन्दै गएको हो ।

दुधबाट राम्रो आम्दानी लिन सकिने भएपछि पछिल्लो समय गाईभैसी पाल्ने मानिसको संख्या बढ्दै गएको छ । जिल्लाको आवश्यकता अनुसार दुध पुगेर पछिल्लो समय जिल्ला बाहिर समेत जाने गरेको छ । दुग्ध विकास सस्थान (डिडिसी)ले लमही तथा तुलसीपुर क्षेत्रबाट किसानले उत्पादन गरेको दुध सहकारीमार्फत् खरिद गरेर लग्ने गरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ । वार्षिक रूपमा प्रतिव्यक्ति ५४ लिटर दुध आवश्यक रहेको र जिल्लामा उत्पादन भएको दुधले पुर्ती गर्ने विज्ञ केन्द्रले जनाएको छ ।

जिल्लामा राजपुर दुधका लागि पकेट क्षेत्र भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख सुधाम भट्ट बताउँनुहुन्छ । भैँसी स्रोत केन्द्रका रूपमा रहेको राजपुरलाई आधुनिकीकरण गर्दै लग्नसके जिल्लामा प्रशस्त मात्रामा दुध उत्पादन गर्न सकिने केन्द्रका प्रमुख भट्ट बताउँनुहुन्छ । कार्यालय प्रमुख भट्टले भन्नुभयो,‘जिल्लामा राजपुर भैँसी स्रोत केन्द्रका रूपमा रहेपनि त्यहाँका अधिकांस किसानले परम्परागत रूपमै भैसी पाल्ने गरेका छन् । जस्ले गर्दा किसानले सोचे अनुसार आम्दानी लिन सकेका छैनन् । त्यसलाई व्यवस्थित गर्दै व्यवसायिक रुपमा भैसीपाल्न सके किसानले आम्दानीसँगै दुधको मात्र पनि बढ्ने थियो ।’

दाङको देउखुरी क्षेत्रमा राजपुर गाउँपालिकासँगै राप्ती गाउँपालिका, गढवा र लमहीका विभिन्न क्षेत्रमा दुधका लागि किसानले गाई तथा भैसी पाल्ने गरेका छन् । त्यसैगरी दाङ उपत्यकाअन्तर्गत तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिकासँगै घोराहीका केही ठाउँमा दुधका राम्रा ठाउँहरु रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख भट्टले बताउनुभयो ।

सरकारले व्यवसायिक गाई तथा भैँसीपालनमा अनुदानसँगै गोठ सुधार, घाँस खेतीका लागि सहयोग गर्दै आएको लमही निवासी किसान हरि केसी बताउँनुहुन्छ । उहाँका अनुसार पछिल्लो समयमा दुधमा उत्पादनका आधारमा दुई रुपैयाँ प्रतिलिटर अनुदान दिन थापेपछि थप सहयोग मिलेको किसान केसी बताउनुहुन्छ । किसान केसीले भन्नुभयो,‘दुध बिक्रीका लागि समस्या छैन । उत्पादन गर्न सकेको दुध बिक्री हुन्छ । बरु जिल्लामा किसानलाई घाँसको समस्या हुने गरेको छ ।’ सिजनमा घाँसको समस्या नहुने भएपछि गर्मी समयमा जिल्लामा पशुपालन गर्ने किसानलाई घाँसको समस्या हुने गर्दछ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा जिल्लमा वार्षिक ४४ हजार ४ सय एक मेट्रिकटन दुध उत्पादन भएको छ । जसमा गाईको ३२ हजार १३ मेट्रिक टन र भैँसीको १२ हजार ४ सय ६ मेट्रिकटन दुध उत्पादन हुने गरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र घोराहीका सूचना अधिकारी कृष्ण न्यौपानेले जानकारी दिनुभएको छ । उहाँका अनुसार गतवर्षको तुलनामा केही बढी उत्पादन भएको छ ।

Blog Post Ad

आर्थिक वर्ष ०७८÷०७९ मा ४४ हजार २ सय ६२ मेट्रिकटन दुध उत्पादन भएको थियो । जसमा गाईको ३२ हजार ९ मेट्रिकटन र भैँसीको १२ हजार २ सय ५३ मेट्रिकटन दुध रहेको थियो । यसैगरी ०७७÷०७८ मा गाईको ३१ हजार ९ सय ६८ मेट्रिकटन र भैँसीको ११ हजार ७ सय ८९ मेट्रिकटन गरेर वार्षिक ४३ हजार ७ सय ५७ मेट्रिकटन दुध उत्पादन भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभएको छ । कार्यालयका अनुसार जिल्लामा व्यवसायिक रूपमा गाई तथा भैँसी पालन गर्ने ५ सय ८२ वटा फर्म दर्ता भएका छन् । जसमा करिब २५ हजार बढी गाईभैँसी रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ ।

दुधमा ४३ लाख अनुदान

यसैबिच जिल्लामा प्रतिफलमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत किसानले दुधमा ४३ लाख बढी अनुदान प्राप्त गरेका छन् । आर्थिक वर्ष ०७८÷०७९ को रेकर्ड अनुसार जिल्लामा ४३ लाख ९९ हजार दुई सय रुपैयाँ किसानले अनुदान प्राप्त गरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ । घोराही, तुलसीपुर, लमही, शान्तिनगर र राप्ती गाउँपालिकामा रहेका सातवटा सहकारी संस्थामार्फत् किसानलाई प्रतिलिटर दुई रुपैयाँका दरले उक्त रकम वितरण गरिएको कार्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad