Ad Area

देवीपाटन धार्मिक रथयात्रा भव्य बनाउने तयारी


घोराही, १३ कार्तिक । घोराही उपमहानगरपालिका–१७ स्थित गोरक्ष पात्र देवता सिद्धरत्ननाथ मठ चौघेरा दाङको अनादिकालदेखि चलिरहेको ऐतिहासिक धार्मिक देवी पाटन धार्मिक रथयात्रा यो वर्ष भव्य रुपमा गर्ने तयारी भएको छ । विगतदेखिको परम्परालाई निरन्तरता दिने मात्रै नभई यो पटकबाट लुम्बिनी प्रदेशकै गौरवको रुपमा अघि बढाउने गरी गृहकार्य शुरु भएको हो ।

ऐतिहासिक धार्मिक देवी पाटन धार्मिक रथ यात्राको तयारी स्वरुप प्रचार प्रसार उपसमितिको बैठकले यसको प्रभावकारीता कसरी बढाउन सकिन्छ भन्ने बारेमा छलफल समेत गरेको छ । मठाधीश एवम् मूल आयोजक समिति संयोजक सुरतनाथ योगी, सदस्य सचिव डा. गोविन्द आचार्य तथा प्रचार उपसमिति सदस्य सम्मिलित बैठकले गोरक्ष पात्र देवता सिद्धरत्ननाथ मठ चौघेरा दाङको धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वलाई थप उजागर गर्न स्थानीय स्तरमा, जिल्ला स्तरमा र प्रदेश स्तरमा छलफल तथा अन्तरक्रिया गर्ने भएको छ ।

जस अनुसार प्रचारप्रसारलाई व्यवस्थित गर्न राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरसम्म यसको पहुँच बढाउन सबैको साथ चाहिएको हुँदा तीन चरणको छलफल अन्तरक्रिया गर्ने योजना बनाएको प्रचार प्रसार उपसमिति संयोजक लिला शाह योगीले जानकारी दिएकी छिन । उनका अनुसार, अन्तराष्ट्रिय स्तरको छलफल अन्तरक्रिया मंसिरमा, स्थानीय स्तरको छलफल अन्तरक्रिया पुसमा, माघमा जिल्ला स्तरको र फागुनमा प्रदेश स्तरको छलफल अन्तरक्रिया गर्ने निर्णय भएको छ ।

स्थानीय तथा प्रदेश स्तरका संचार माध्यमबाट व्यापक रुपमा प्रचार प्रसार गर्ने, ठाउँ ठाउँमा प्रचार सामग्रीमार्फत सूचना र सन्देश प्रवाह गर्ने लगायत तयारी भएको उनले बताइन । भारतीय भक्तजनलाई दाङसम्म आकर्षण गर्न र यसको गौरवलाई थप उजागर गर्न राज्य स्तरबाट पहल भईरहेको छ । परम्पराका रुपमा मात्रै धानिएको यो कामले आगामि दिनमा बृहत् आयामका रुपमा उजागर गर्न सके यसले थुप्रै सम्भावनाका ढोका खोल्ने सदस्य सचिव डा. आचार्यको भनाई छ ।

करिब १३ सय वर्ष इतिहास बोकेको गोरक्ष पात्र देवता श्री सिद्ध रत्ननाथ मठ चौघेरा दाङको अनादिकालदेखि चलिरहेको ऐतिहासिक देवी पाटन धार्मिक रथ यात्राको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व रहेको छ । राजा रत्न परिषकले गोरखनाथको दर्शन पाएर सिद्धी पाएपछि रतननाथ भएपछि चौघेरास्थित मठमा पूजा आराधना तथा ध्यान सम्पन्न गरी सिद्धि प्रभावले आकाशमार्ग हुँदै पाटन देवी शक्तिपीठको पूजा आराधना गरी पुनः स्वधाम चौघेरामा आएको बताईन्छ ।

प्रचीन कालदेखि दाङ जिल्लाबाट हरेक साल चैत्र नवरात्रामा चल्ने धार्मिक यात्राले भारत र नेपालबीचको सम्बन्धलाई मजबुत बनाउँदै लगेको छ । धार्मिक, सांस्कृतिक, पुरातात्विक रुपमा महत्वपूर्ण मानिएको गोरक्ष रत्ननाथको यो परम्परालाई बचाउन सबैको साथ सहकार्य आवश्यक छ ।

Blog Post Ad

सम्भवतः चैत्र २२ गते घोराही मठबाट सुरु हुने रथ यात्रा लमहीको देउपुर मन्दिरमा पुग्नेछ । देउपुरमा पाँच दिनको बसाईपछि कोइलाबासस्थित काली मन्दिरमा विश्राम लिनेछ । त्यहाँबाट पनि भव्य रुपमा बाजागाजा, सांस्कृतिक भेषभूषासहित भारतस्थित जनकपुर कोठारमा विश्राम गर्नेछ । प्यात्रा नकटी नालाबाट नेपाल तथा भारत देशका भक्तजनको ठूलो स्वागतसहित बाजागाजा गर्दै देवी पाटन पुग्ने गरी तयारी भईरहेको छ ।

देवी पाटनमा ५ दिनसम्म सिद्ध रत्ननाथबाट पूजा–आराधना गरिने परम्परा छ । करीव डेढ सातापछि धार्मिक समारोह गरी पात्र देवतताको फिर्ती सवारी पहिलेकै तरिकाले देवी पाटनदेखि प्रस्थान गरी परम्पराअनुसार कार्यक्रम गर्दै स्वधाम सिद्ध रत्ननाथ चौघेरा मठमा आएर सम्पन्न गरिने छ ।

सिद्ध रत्ननाथले दाङ चौघेरास्थित मठमा पूजा आराधना तथा ध्यान सम्पन्न गरी सिद्धि प्रभावले आकाशमार्ग हुँदै पाटन देवी शक्तिपीठको पूजा आराधना गरी पुनः स्वधाम दाङ चौघेरामा आएको किम्बदन्ती छ । रातिको समयमा आकाशमार्गबाट जाने गरेको उल्लेख गरेको पाइन्छ । सिद्ध रत्ननाथको यो शक्ति र भक्तिबाट देवी प्रशन्न भई अबका दिनदेखि हरेक दिन आउनु पर्दैन । चैत नवरात्रिको अवधिमा आएर दर्शन भेट गर्नु म प्रशन्न हुन्छु भन्ने वचन देवीबाट भएको हो भन्ने कुरा ग्रन्थ तथा लोक कथन रहेको छ ।

Blog Post Ad Blog Post Ad