Ad Area

२ अर्ब विद्युत बक्यौता उठाउन लाईन काट्दै घोराही विद्युत कार्यालय


घोराही, १६ कार्तिक । नेपाल विद्युत प्राधिकरण दाङले समयमा विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्न शुरु गरेको छ । लामो समयसम्म विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्न शुरु गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख दिवाकर प्याकुरेलले जानकारी दिनुभयो ।

विद्युत महशुल नतिर्नेमा उद्योग कलकारखानादेखि सरकारी कार्यालयहरु तथा व्यक्तिसमेत रहेका छन् । न्यूनतम दुई महिनादेखि विद्युत नतिर्ने ग्राहकहरुको लाइन काट्ने अभियान चलेपनि जिल्लामा करिव ६ वर्ष चार महिनासम्म विद्युत महशुल नतिर्ने ग्राहकहरु रहेका छन् ।

पटक पटक सार्वजनिक सूचना जारी गरी समयमै विद्युत महशुल भुक्तानी गर्न ताकेता गर्दा पनि अटेरी गर्ने परिपाटी बढेपछि प्राधिकरणले अभियानकै रुपमा लाईन काट्न थालेको प्रमुख प्याकुरेलले बताउनुभयो ।

‘बारम्बार ताकेता गर्दा पनि विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्न शुरु गरेका हौँ’, प्रमुख प्याकुरेलले भन्नुभयो, ‘एक साताको अवधिमा थुप्रै ग्राहकको लाइन काटेका छौं । कोही कसैको लाईन काट्न नपरोस् भन्ने हो तर ग्राहकले महशुल भुक्तानी नगर्दा बाध्य भएर लाईन काट्न परेको छ ।’

नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रको मात्रै हाल करिव दुई अर्व ९६ करोड बक्यौता बढी बक्यौता उठ्न बाँकी छ । विद्युत प्रयोग गरेवापत ग्राहकले प्रत्येक २-२ महिनामा महशुल तिर्नुपर्ने व्यवस्था भएपनि विद्युत प्राधिकरण घोराही वितरण केन्द्रको विगत ६ वर्षदेखिको एक अर्व ९६ करोड ७६ लाख ७ हजार ९ सय ६५ रुपैयाँ उठ्न बाँकी देखिएको छ । बक्यौता रकम देखिनेमा ठूला उद्योगदेखि व्यक्तिगत लाईन प्रयोगकर्ता समेत रहेका छन् ।

विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार, सर्वसाधारण नागरिकदेखि घोराही सिमेन्ट उद्योग र सोनापुर मिनरल्स एण्ड आयल्स प्रालीसम्म रहेका छन् । विद्युत प्राधिकरण घोराहीका अनुसार घोराही सिमेन्ट उद्योगले ६६ करोड ८५ लाख ३५ हजार नौ सय ९० रुपैयाँ पाँच पैसा र सोनापुर मिनरल्स एण्ड आयल्स प्रालीको ६३ करोड ५२ लाख १९ हजार चार सय ६५ रुपैयाँ ७२ पैसा रहेको छ ।

Blog Post Ad

ठूला उद्योगले विद्याुत जडान गर्दा ननडेडिकेटेड लाईन जडान गरी महशुल भुक्तानी गर्दै आएकोमा पछि प्राधिकारणले नै डेडिकेटेड लाईन अनुसार भुक्तानी गरेमा महशुलमा छुट पाईने बताएपछि ठूला उद्योगले महशुल तिर्न थालेपछि हाल उनीहरुको बक्यौता रकम बढ्दै गएको छ । यद्यपि, उनीहरुले हरेक महिना न्यूनतम महशुल बझाउने गरे भएपनि बक्यौता रहेको रकम खापिँदै गएको नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका सहायक इन्जिनियर नन्दलाल शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार, ठुला उद्योगदेखि साना उद्योगसँगै सर्वसाधारण नागरिकसम्म समयमा विद्युत महशुल नतिर्ने संख्या करिव ११ हजार चार सय ७३ बाट विद्युत महशुल उठ्न बाँकी छ ।

न्यूनतम दुई महिनादेखि विद्युत नतिर्ने ग्राहकहरुको लाइन काट्ने अभियान चलेपनि जिल्लामा करिव ६ वर्ष चार महिनासम्म विद्युत महशुल नतिर्ने ग्राहकहरु रहेको बताउनुभयो । ‘विद्युत प्रयोग गर्ने तर लामो समयसम्म पनि महशुल नतिर्ने देखिएपछि प्राधिकरणले केन्द्रबाटै अभियानका रुपमा अघि बढाएको हो’, सहायक इन्जिनियर शर्माले भन्नुभयो, ‘अभियानअन्तर्गत १२ गतदेखि हालसम्म विद्युत महशुल नतिर्ने दुई बढीको घोराही र बंगलाचुली क्षेत्रमा लाईन काटेका छौँ ।’

विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका सहायक इन्जिनियर शर्माका अनुसार ७० महिनादेखि विद्युत महशुल नतिर्ने ग्राहकको संख्या ६ सय ७३, ५० महिनादेखि नतिर्ने ग्राहकको संख्या ९ सय ५८, २५ महिनादेखि विद्युत महशुल नतिर्ने ग्राहकको संख्या १ हजार ७ सय ३५ र विगत एक बर्षदेखि विद्युत महशुल नतिर्ने ग्राहकको संख्या १ हजार तीन सय ४९ जना रहेका छन् ।

नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रअन्तर्गत घोराही र बंगलाचुली गाउँपालिकामा ४८ हजार ९ सय ६२ ग्राहक संख्या रहेको छ । जसअन्तर्गत सर्वसाधारण व्यवसायिक तीन सय ६८, घरहरु ४७ हजार ८७, उद्योगहरु तीन सय ७२, सिचाई सम्वन्धी चार सय ७२, गैर व्यवसायिक २ सय ९२ लगायतका विभिन्न ग्राहकहरु रहेका छन् ।

नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले पछिल्लो तीन दिनको अवधिमा करिव १४ लाख बढी विद्युत महशुल उठाएको छ । कार्तिकको १२ गतेदेखि हालसम्म तीन दिनको अवधिमा समयमा विद्युत महशुल नतिर्ने दुई सय २३ ग्राहकको लाइन काट्दा बाँकी रहेको १४ लाख २३ हजार ८ सय ३३ रुपैया विद्युत महशुल तिरेर १ सय ४२ जनाले पुन विद्युत जडान गरेको नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका सहायक इन्जिनियर शर्माले जानकारी दिनुभयो ।

उता, नेपाल विद्युत प्राधिकरण तुलसीपुरले यो अभियानलाई तीव्र बनाएको छ । बक्यौता रकम उठाउन सेवाग्राहीलाई सूचनामार्फत अनुरोध गरेपनि विद्युत महशुल नतिरेपछि लाइन काट्न शुरु गरेको विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव गोशेलीले जानकारी दिनुभयो । तुलसीपुर वितरण केन्द्रमा करिव ३ करोड बढी रकम उठ्न बाँकी रहेको छ । लमही वितरण केन्द्रले पनि यो अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

Blog Post Ad Blog Post Ad