Ad Area

‘सार्वजनिक शिक्षा ध्वस्त पार्ने षडयन्त्रको प्रयास’


घोराही, १६ कार्तिक । नेपालको सार्वजनिक शिक्षा ध्वस्त पार्न योजना बद्ध ढंगले ऐन लागु गर्न खोजिएको भन्दै शिक्षक तथा शैक्षिक अभियन्ताहरुले असन्तुष्टि पोखेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दाङले बुधबार घोराहीमा आयोजना गरेको विजया दशमी, दीपावली, छठ पर्व, नेपाल सम्वत् लगायत नेपालीहरुको राष्ट्रिय पर्वहरुको उपलक्ष्यमा शुभकामना आदानप्रदान र स्मारिका विमोचन कार्यक्रममा लामो समयपछि ल्याउन खोजिएको विद्यालय शिक्षा ऐन नेपालको समग्र शिक्षा क्षेत्रको उत्थानका लागि नभएको तर्क गरिएको छ ।

‘२०७२ को संविधान आएको ८ वर्षपछि शिक्षा ऐन ल्याउन लागिएको भएपनि विद्यालय शिक्षा ऐन मात्रै आउनु ठिक छैन । अहिलेको अवस्थामा समग्र देशको शिक्षा ऐन ल्याउनुपर्छ’ शिक्षा क्षेत्रका जानकार जीवन गौतमले भन्नुभयो मौलिक हकका रुपमा रहेको शिक्षालाई प्रभावकारी बनाउन यो ऐन पूर्ण छैन ।’

उहाँले विद्यालय शिक्षा लागू गर्न संघ सरकार दायित्वबाट भाग्न खोजेको बताउनुभयो । उहाँले संघ सरकारले स्थानीय सरकारलाई पनि अंकुश लगाएको हुँदा स्थानीय पालिकाहरु पनि सहज रुपमा काम गर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो ।

‘विद्यालय खोल्ने, तह थप गर्ने अधिकार, विद्यालय संचालन गर्ने अधिकार स्थानीय तहलाई दिन नसक्ने हो भने कसरी स्थानीय तहमा रहेका विद्यालयहरु सहज रुपमा संचालन हुन्छन्’ उहाँले भन्नुभयो ‘श्रोत र शिक्षक दरबन्दीको ग्यारेन्टी नहुँदासम्म यो काम गर्न नपाईने भनेर दोहोरो रुप देखाएको छ । यो सरासर सामुदायिक विद्यालय बन्द गर्ने नीति हो । मौलिक हक कार्यान्वयन गर्नबाट वन्चित हेन खोजेको छ । सार्वजनिक विद्यालय खोल्न नदिने नीति हो ।’

Blog Post Ad

सार्वजनिक शिक्षामा नयाँपन दिने तथा शैक्षिक क्रियाकलाप बदल्ने कुरा नभएको जनाउँदै नियोजित रुपमा वाह्य राष्ट्रको चलखेल हुन सक्ने आशंका व्यक्त गर्नुभयो । ‘अंग्रेजी भाषालाई बाध्यकारी बनाउन खोज्नु, ऐन लागू भएको भोलि पल्टबाट अंग्रेजीमा पढाउनु पर्छ भन्दा जनशक्ति व्यवस्थापन चुनौतिपूर्ण छ । काम गर्दा प्रकृयागत रुपमा अघि बढाउनुपर्छ’ उहाँले भन्नुभयो ‘ऐनको बुँदा बुँदामा कैफियत छ, बेलैमा यसको सुधारका लागि सबैले पहल नगर्ने हो भने भोलि नेपालको सार्वजनिक शिक्षा तहस नहस नहोला भन्न सकिँदैन ।’

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दाङका अध्यक्ष दामोदर बस्नेतको अध्यक्षता तथा संगठनका पूर्व अध्यक्ष हरिप्रसाद गौतमको प्रमुख आतिथ्य एवम् घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी, टीकाराम खड्काको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा अन्य वक्ताहरुले पनि नेपालको शिक्षा प्रणालीको सुधारमा राज्यको चासो निकै कमजोर भएको तर्क गर्नुभएको छ ।

उहाँहरुले ५२ वर्षपछि ल्याउन थालिएको शिक्षा ऐन पूर्ण नरहेको तर्क गर्दै यसले नेपालको सार्वजनिक शिक्षा थप धरासयी हुने खतरा रहेको बताउनुभयो । ऐनमा समावेश धेरै जसो बुँदाहरु नियोजित रुपमा आएको बताउँदै शिक्षक र शिक्षा क्षेत्रका पक्षमा आउनुपर्ने धारणा राख्नुभयो । स्थानीय पालिकाका प्रमुखले स्थानीय सरकारले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि प्रयासरत रहेको बताउँदै संघ सरकार विभिन्न कारणले बाधक बन्ने गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका ईतिहासकार तथा स्मारिका प्रकाशन समिति सल्लाहकार पद्मप्रसाद शर्मा, पेशागत महासंघ दाङका अरुणकुमार शर्मा, एकीकृत अखिल नेपाल शिक्षक संगठन दाङका अध्यक्ष झग्गु केसी, पेशागत महासंघका अध्यक्ष खीमबहादुर डाँगी, लुम्बिनी प्रदेश नेपाल राष्ट्रिय शिक्षक संगठनको सहसचिव अम्बिका बिष्ट रावत, नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका पूर्व अध्यक्षहरु विकास गौतम, हुमबहादुर केसी, निजामती कर्मचारी संगठन दाङका अध्यक्ष शेरबहादुर केसी, पेशागत महासंघ दाङका अध्यक्ष श्याम आचार्य, शिक्षक महासंघ दाङका अध्यक्ष नवराज डाँगी, प्रगतिशील प्राध्यापक संगठन दाङका अध्यक्ष नवराज सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा संगठनले संगठनको विगतदेखि वर्तमान अवस्थासहित शैक्षिक गतिविधि समावेश गरिएको स्मारिका समेत विमोचन गरेको छ । उपाध्यक्ष श्यामा रावतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव मिनराज शर्मा पण्डितले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad