Ad Area

पाठेघर क्यान्सरको जोखिम बढ्दै


घोराही, २४ कात्तिक । लुम्बिनी प्रदेशमा पाठेघरको क्यान्सरको जोखिम बढ्दै गएको देखिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले एक वर्षको अवधिमा विभिन्न जिल्लामा गरेको परीक्षणले पाठेघरको क्यान्सरको जोखिम बढ्दै गएको जनाएको छ ।

आर्थिक वर्ष २०७९÷०८० मा प्रदेशका कूल १२ जिल्लामा करिब ४१ हजार चार सय २५ जना महिलाको पाठेघरको मुखको क्यान्सर भए÷नभएको परीक्षण गर्दा एक हजार चार सय ९९ जनामा क्यान्सरको सङ्केत देखिएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद गिरीले जानकारी दिनुभएको छ । यो भनेको महिलाको पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको सङ्केत हो । त्यसका लागि अस्पतालमा गएर बायोप्सी (मासुको जाँच) परीक्षण गरेपछि पत्ता लाग्ने भन्दै निर्देशक गिरीले भन्नुभयोे,‘असुरक्षित यौन सम्पर्कसँगै सरसफाईमा ध्यान नदिँदा पाठेघरको मुखको क्यान्सरको जोखिम बढेको देखिन्छ ।’

उहाँका अनुसार गत वर्ष प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रूपन्देही जिल्लामा परीक्षण गर्दा पाठेघर क्यान्सरको सङ्केत देएिको थियो । १० हजार चार सय ८ जना महिलाको पाठेघरको मुखको परीक्षण गर्दा ६ सय ३२ जना महिलामा क्यान्सरको लक्षण देखिएको निर्देशक डा गिरीले बताउनुभयो । उहाँले भन्नुभयोे,‘प्रारम्भिक जाँचका क्रममा धेरै महिलामा पाठेघर क्यान्सरको लक्षण देखिएको छ, तथापि यकिन गर्नका लागि बिरामीले भरपर्दाे सुरक्षा जाँच गर्नु पर्छ ।’

यसैगरी पाल्पा जिल्लामा ५ हजार सात सय ३९ जनाको पाठेघर परीक्षण गर्दा दुई सय २५, दाङमा ६ हजार सात सय १७ जनाको परीक्षण गर्दा एक सय २८ जना, बर्दियामा चार हजार एक सय १५ जनाको परीक्षण गर्दा एक सय १५ जना, नवलपरासी पश्चिममा एक हजार चार सय २६ जनाको परीक्षण गर्दा एक सय ३ जना र बाँके जिल्लामा चार हजार एक सय एक जनाको परीक्षण गर्दा एक सय २ जनामा पाठेघरको क्यान्सरको लक्षण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैगरी गुल्मीमा एक हजार ९ सय ४२ जनाको परीक्षण गर्दा ८२ जना, प्युठानमा दुई हजार तीन सय ६४ जनाको परीक्षण गर्दा ५७ जना, रोल्पाको एक हजार तीन सय ८ जनाको परीक्षण गर्दा २३ जना, अर्घाखाँचीमा एक हजार चार सय ९० जनाको परीक्षण गर्दा २० जना, रुकुम पूर्वमा चार सय ३० जनाको परीक्षण गर्दा आठ जना र कपिलवस्तुमा एक हजार तीन सय ८५ जनाको परीक्षण गर्दा चार जना पाठेघरको क्यान्सरको लक्षण देखिएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गिरीले जानकारी दिनुभएको छ ।

पाठेघरको मुखमा क्यान्सर भए÷नभएको पहिचान गर्न यो परीक्षण पाठेघरमा सामान्य समस्या देखिए पनि हरेक महिलाले गर्नु पर्ने निर्देशनालयका निर्देशक डा गिरीले दिनुभयो । निर्देशक डा गिरीले भन्नुभयोे,‘यो परीक्षणले क्यान्सर रोग पहिचान गर्नुका साथै भविष्यमा हुने क्यान्सरको जोखिमबाट बच्न विभिन्न यौन रोगको पनि बेलैमा पहिचान र उपचार गर्न सकिन्छ ।’

Blog Post Ad

पछिल्लो समय कम उमेरमा विवाह, असुरक्षित यौनसम्पर्कलगायतका कारण पाठेघरको क्यान्सरको जोखिम बढेकाले हरेक महिला आफ्नो स्वास्थ्यप्रति सचेत बन्न आवश्यक रहेको बताउनुभएको छ । पाठेघरको क्यान्सर ‘ह्यूमन पपिलोमा भाइरस’ सङ्क्रमणको कारणले हुने र त्यो सङ्क्रमणबाट क्यान्सरमा परिणत हुन सक्ने भएकाले महिलाले पाठेघरको परीक्षण समयमै गर्न आवश्यक रहेको सुझाव गिरीको छ ।

Blog Post Ad Blog Post Ad