Ad Area

ब्वाँसोको आक्रमणबाट २० घाईते, धर्नाबासी त्रसित


घोराही, २४ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्नामा जंगली ब्वाँसोको आक्रमणबाट करीव २० जना घाईते भएका छन् । गाउँ नजिकै रहेको सामुदायिक वन क्षेत्रबाट आएको एऊटा जंगली ब्वाँसोले आक्रमण गर्दा महिला, बालबालिका तथा घरमा काम गरिरहेका पुरुष घाईते भएका हुन् ।

हिजो र आज बिहान गरी स्थानीयलाई पटक पटक आक्रमण गरी ब्वाँसोले घाईते बनाएको छ । हिजो बिहीबार बेलुकी करीव ६ बजेतिर जंगलबाट आएको ब्वाँसोले बसन्तापुरकी ६३ वर्षीया दुर्गाकुमारी केसीलाई घरको आँगनमा खाना पकाई रहेको बेला एक्कासी आएर आक्रमण गरी घाईते बनाएको उहाँका छोरा जुद्ध केसीले जानकारी दिनुभयो । ब्वाँसोले दुर्गाकुमारीलाई घुँडादेखि माथि आक्रमण गरी घाईते बनाएको छ । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर लगिएको छ ।

लगत्तै सोही ठाउँका १० वर्षीय निशान चौधरीलाई उक्त ब्वाँसोले आक्रमण गरेको स्थानीयले जनाएका छन् । निशानलाई शरीरका विभिन्न स्थानमा आक्रमण गरेको हुँदा जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ । स्थानीयका अनुसार खैरो रंगको उक्त ब्वाँसोले बिहीबार बेलुकी गाउँका धेरै जनालाई आक्रमणको प्रयास गरेको र केहीलाई घाईते बनाएको छ । उत्त, घटनाका कारण धर्नाको सिंगो गाउँ त्रसित बनेको छ । आज बिहान करीव ४ बजे गाईभैसीलाई दाना पकाउन उठेको व्यक्तिलाई पनि आक्रमण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष विवेक बुढाथोकीले जानकारी दिनुभयो ।

मानिसलाई देखेपछि एक्कासी झम्टिन आउने गरेको हुँदा आफुहरु त्रासमा रहेको गैरीगाउँका मानबहादुर बस्नेतले बताउनुभयो । ब्वाँसोको आक्रमणबाट उहाँ पनि घाईते हुनुभएको छ । सो ठाउँका मालती डाँगी बस्नेत, बरलाबोटका जोगबहादुर बुढाथोकीलगायतलाई आज शुक्रबार बिहान आक्रमण गरी ब्वाँसाले घाईते बनाएको छ । घाईतहरुलाई रेविज विरुद्धको सुई लगाईएको र उपचार गरिएको वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो । गाउँमा पसेर आक्रमण गरेको ब्वाँसो नजिकै रहेको दिपेन्द्र सामुदायिक वन र जनसेवा सामुदायिक वनमा लुकेको हुन सक्ने स्थानीयले बताएका छन् ।

घटना भएलगत्तै प्रहरी, डिभिजन वन कार्यालयको उद्धार टोली, स्थानीयले ब्वाँसो नियन्त्रणको प्रयास गरेपनि सफल हुन सकेका छैनन् । डिभिजन वन कार्यालय घोराहीका प्रमुख मोहन श्रेष्ठले धर्नामा ब्वाँसोले मानिसलाई आक्रमण गरेको भन्ने जानकारी आउनासाथ ७ जनाको टोली परिचालन गरेको बताउँदै ब्वाँसो नियन्त्रणको प्रयास भईरहेको बताउनुभयो । उहाँका अनुसार, मानिसलाई आक्रमण गरेको जन्तु ब्वाँसो नै भएको दावी गरिएकाले मार्न मिल्दैन ।

ब्वाँसो संरक्षित वन्यजन्तु अन्तरगत पर्ने भएकाले नियन्त्रणमा लिएर सरक्षित गर्नुपर्ने उहाँको भनाई छ । ब्वाँसो मारेमा वन्यजन्तु संरक्षण ऐन अनुसार कारवाही हुने हुँदा स्थानीयबासीलाई पनि ब्वाँसो देखेमा तत्काल खबर गर्न अपिल गरिएको उहाँले बताउनुभयो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad