Ad Area

प्रदेश स्तरीय महिला क्रिकेट छनोटमा बाँके र रुपन्देही विजयी


घोराही, २६ मंसीर । पुस पहिलो साता हुने प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता २०८० का लागि लुम्बिनी प्रदेश स्तरीय क्रिकेट छनोट प्रतियोगितामा बाँके ररुपन्देही विजयी भएका छन् ।

दाङको घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा मंगलबार भएको छनोट प्रतियोगितामा बाँकेले पाल्पासँग १ सय ९८ रनको फराकिलो जीत निकालेको छ भने रुपन्देहीले पनि बर्दियालाई १ सय ५४ रनले पराजित गरेको छ ।

बिहान भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बाँकेले बिस्फोट पारी खेल्दै पाँच विकेटको क्षतिमा २ सय २९ रन बनायो । बाँकेका लागि उच्च योगफल बनाउन स्वस्तिका बजगाइँ र चमेली चौधरीले अविजित १ सय ५२ रनको उत्कृष्ट साझेदारी गर्नुभयो ।

शुरुवाती ब्याटरले रन बनाउन नसकेपनि छैठौँ विकेटका लागि स्वस्तिका बजगाइँले ५९ रन र चमेलीले ६३ रन बनाउनुभयो ।
पहिलो ओभरको अन्तिम बलमा शोभा शाहीलाई शुन्य रनमा गुमाएको बाँकेको दोश्रो ओभरको दोश्रो बलमा रन्जु श्रेष्ठको विकेट लिँदै पाल्पाले खेलमा दबाव बनाएको थियो । ७ रनमा दुई विकेट गुमाएको बाँकेले १३ रनमा जिज्ञासा थापालाई, १ रनमा सुस्मिता बजगाइँलाई तथा १६ रनमा एलिना बर्मालाई गुमाएको थियो । लगातार विकेट पतन खेपेको बाँकेले पाँच विकेटको क्षतिमा नवौँ ओभरमा ७६ रन बनाएको थियो । त्यसपछि क्रिजमा आएका वस्तिका बजगाइँ र चमेली चौधरीले बिस्फोटक पारी खेल्दै टीमका लागि उच्च योगफल बनाउनुभयो ।

पाल्पाका लागि सीमा थापाले ३ र रमा न्यौपानेले १ विकेट लिनुभयो । ८ जना बलर प्रयोग गरेको पाल्पाले शुरुवाती दबाबलाई निरन्तरता दिन नसक्दा ठूलो योगफलको सामना गर्नुपर्यो । २ सय ३० रनको विशाल लक्ष्य पाएको पाल्पाले बाँके सामु खेल्न सकेन । पाल्पाका सबै ब्याटरले दोहोरो अंकको रन नबनाई ३० रनमा अलआउट हुन पुगे ।

८ दशमलव १ ओभरमा अलआउट भएको पाल्पाका लागि अपेक्षा थापाले ६, गुन्जन थापाले ५, सीमा थापाले ६, सुमिना गाहाले १ रन बनाउनु बाहेक अरु खेलाडीले खाता नै खोल्न सकेनन् । पाल्पालाई सस्तैमा समेट्न बाँकेकी शोभा शाहीले ३, गायत्री कश्यप र मनिषा रानाले समान २–२ विकेट तथा चमेली चौधरीले १ विकेट लिनुभयो । प्रतियोगितामा बाँकेका लागि ६३ रनसहित १ विकेट लिनुभएकी चमेली चौधरी प्लेयर अफ द म्याच हुनुभयो ।

Blog Post Ad

लगातार दुई हार व्यहोरेको पाल्पा छनोट प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि हिजो भएको खेलमा पनि नवलपरासीसँग १ सय ४४ रनको फराकिलो हार व्यहोरेको थियो ।

यसैगरी, दिउँसो भएको अर्को खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको रुपन्देहीले आफ्नो ७ विकेटको क्षतिमा १ सय ७८ रन बनायो । रुपन्देहीका लागि सुस्मिता भुसालले १८, एन्जी पाठकले २८, आश्मा पुलामीले ५, श्रुति बुढाथोकीले ८, कप्तान कृतिका मरासिनीले १८, कृति अधिकारीले ८, आँचल रेश्मी मगरले ८, सरु तिवारीले अविजित २ र कविता खड्काले ३ रन बनाउनुभयो । बर्दियाले ८० रन अतिरिक्त खर्चेको थियो । बर्दियाका लागि कप्तान दीपा कुँवरले ३, रितिसा मानन्धरले २ तथा कृष्णा क्षेत्री र स्वस्तिका परियारले १–१ विकेट लिनुभयो ।

१ सय ७९ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको बर्दियाको टीम ११ दशमलव ३ ओभरमा अलआउट हुँदै मात्र २४ रनमा समेटियो ।
बर्दियाका ७ जना खेलाडी खाता नै नखोली पेभेलियन फर्किए । स्वस्तिका परियाले ५, श्रुति बुढाथोकीले ३, ममता थापा र कृष्णा क्षेत्रीले १–१ रन बनाउनुभयो ।

बर्दियालाई सस्तैमा समेट्न रुपन्देहीकी कप्तान कृतिका मरासिनीले ३ दशमलव ३ बलमा ६ रन दिएर महत्वपूर्ण ५ विकेट लिनुभयो । यसैगरी, सुस्मिता भुसालले ४ कविता खड्काले १ विकेट लिनुभयो । प्रतियोगितामा कप्तानी प्रदर्शन गर्नुभएकी रुपन्देहीकी कृतिका मरासिनीलाई छनोट प्रतियोगिता संयोजक विशेष अधिकारीले प्लेयर अफ द म्याच दिनुभयो । लगातार दुई हार व्यहोरेको बर्दिया छनोट प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार भएको खेलमा दाङले बर्दियालाई २ सय ३१ रनले हराएको थियो । अब छनोट प्रतियोगिता अन्तरगत बुधबार बिहान बाँके र नवलपरासी तथा दिउँसो दाङ र रुपन्देही बीच खेल हुनेछ ।

आगामी पुस पहिलो सातादेखि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताका लागि प्रदेशबाट खेलाडी छनौट गर्न लुम्बिनीका ६ जिल्लाका महिला खेलाडीको खेल आयोजना गरिएको छनोट प्रतियोगिता संयोजक विशेष अधिकारीले बताउनुभयो ।

दाङ जिल्ला क्रिकेट संघको आयोजना मंसीर २९ गतेसम्म छनोट खेल हुने छ । दुई समुहमा विभाजन गरिएको छनोट प्रतियोगितामा पोल ए मा दाङ, रुपन्देही र बर्दिया रहेका छन् भने पोल बी मा बाँके, नवलपरासी र पाल्पा रहेका छन् ।

राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडीको खेल प्रदर्शनको आधारमा लुम्बिनी प्रदेश महिला क्रिकेट टिम तयार गरिने भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव एवम् प्रतियोगिता खेलाडी छनोट समिति संयोजक कैलाश रोका मगरले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad