Ad Area

राष्ट्रियसभा निर्वाचन, उम्मेदवारी दर्ता आज


दाङ, २३ पुस । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । राष्ट्रियसभामा रिक्त हुन लागेका १९ सिटका लागि माघ ११ मा निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारी दर्ताको मिति तय गरेको हो । यता लुम्बिनी प्रदेशमा रिक्त हुने दुई सिटका लागि निर्वाचन हुने छ ।

घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको अवधि तय भएको छ । लुम्बिनी प्रदेशमा दुई सिटका लागि हुने निर्वाचनअन्तर्गत उम्मेदवारी दर्ताको तयारी पूरा भएको छ । यो प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरेका कांग्रेसकी अनिता देवकोटा र एमालेका कुमार दसौँदीको कार्यकाल सकिने भएपछि दुई रिक्त स्थानमा निर्वाचन हुन लागेको हो ।

उम्मेदवारी दर्ताको तयारी पुरा भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी उम्मेदवारी दर्ताका लागि आवश्यक सुरक्षा प्रबन्ध समेत मिलाइसकिएको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले उम्मेदवारी दर्ताका क्रममा आवश्यक पर्ने सुरक्षा जनशक्तिको प्रवन्ध मिलाइने बताए ।

उम्मेदवारी दर्ताको पूर्व सन्ध्यामा आइतवार वर्तमान गठबन्धनमा आवद्ध केही दलसहित नेकपा एमालेलगायत दलहरूले उम्मेदवार चयन गरेपनि कांग्रेसले राती अवेर उम्मेदवार टुंग्याएको थियो ।गठबन्धनकातर्फबाट कांग्रेस र माओवादीले एक÷एक सिट बाँडफाँड गरेका छन् । गठबन्धनमा आबद्ध केन्द्रीय नेताहरूको बैठकले लुम्बिनी प्रदेशमा रिक्त दुई सिटका लागि कांग्रेस र माओवादीले एक÷एक सिटमा उम्मेदवारी बाँडफाँड गरेका हुन् ।

लुम्बिनी प्रदेश कांग्रेस सभापति अमरसिंह पुनकाअनुसार कांग्रेसले लुम्बिनी प्रदेशबाट बिष्णुदेवी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसलाई लम्बिनी प्रदेशमा महिला सिट भागबण्डामा परेको थियो । गठबन्धनकातर्फबाट माओवादीले भने उम्मेदवार टुंगो लगाएको छ । केन्द्रले लुम्बिनीमा पाउने एक सिटका लागि उम्मेदवार तय गरेको छ । उसले झक्कुप्रसाद सुवेदीलाई यो प्रदेशमा उम्मेदवार बनाउने निर्णय गरेको छ । यो प्रदेशमा माओवादीलाई अन्य समूहको कोटाअन्तर्गतको उम्मेदवारी भागमा परेको छ ।

सुवेदीलाई यो कोटाको उम्मेदवार तय गरिएको हो । गठबन्धनकातर्फबाट ६ सिट पाएको माओवादीले आफूले उम्मेदवारी पाएका सबै प्रदेशमा उम्मेदवार टुंगो लगाएको माओवादीले जनाएको छ । यसैगरी उसले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, र सुदूरपश्चिमबाट रेणु चन्दको नाम टुंगो लगाएको छ ।

यसैगरी प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनीमा निर्वाचन हुने दुईवटै सिटमा उम्मेदवारको टुंगो लगाएको छ । उसले लुम्बिनीमा दाङकी तुलसा केसी र पाल्पाका झपेन्द्रबहादुर बिसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेले माघ ११ मा हुने राष्ट्रियसभाका १९ वटै सिटमा उम्मेदवार तय गरेको छ । यसैगरी राप्रपाले पनि यो प्रदेशमा दुई वटै सिटमा उम्मेदवारी दिने भएको छ । उसले निरञ्जन थापा र महिलातर्फ विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Blog Post Ad

लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा निर्वाचनमा सहभागी हुने कुल मतदाता संख्या ३ सय ५ रहेको छ । प्रदेशसभा सदस्य ८७ र स्थानीय तहका प्रमुख उपप्रमुख २ सय १८ जना गरी कुल ३ सय ५ मतदाता छन् । प्रदेशसभा सदस्यको एक मत बराबर ५३ मतभार कायम हुन्छ भने स्थानीय तहका प्रमुख तथा उपप्रमुखको एक मतको मतभार १९ कायम हुन्छ ।

राष्ट्रियसभामा २ हजार ४७ मतदाता

यसैविच निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले आइतवार विज्ञप्ति जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो ।

आयोगका अनुसार सातवटै प्रदेशमा प्रदेशसभाका मतदाता पाँच सय ४९ रहेका छन् भने स्थानीय तहका एक हजार चार सय ९८ रहेका छन् । जसमा प्रदेशसभामा प्रति मतदाताको ५३ मतभारका दरले जम्मा मतभार २९ हजार ९७ रहेको छ भने स्थानीय तहको प्रतिमतदाताको १९ मतभारका दरले जम्मा मतभार २८ हजार चार सय ६२ रहेको छ । दुवैतर्फ गरेर दुई हजार ४७ मतदाताको जम्मा मतभार ५७ हजार पाँच सय ५९ रहेको छ ।

कोशी प्रदेशमा तीन सय ६७ जना मतदाता संख्या रहेको छ । त्यस्तै मधेस प्रदेशमा तीन सय ७४ जना मतदाता छन् । बागमती प्रदेशमा तीन सय ४७ जना मतदाता कायम भएका छन्। गण्डकी प्रदेशमा दुई सय ३० जना मतदाता कायम भएका छन् ।

लुम्बिनी प्रदेशमा प्रदेशसभामा तीन सय पाँच जना मतदाता कायम भएका छन् । कर्णालीमा प्रदेशसभा सदस्यको संख्या ४० छ । पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक सय ५६ जना छन् ।
सुदूरपश्चिम प्रदेशमा दुई सय २८ जना मतदाता कायम छन् ।

Blog Post Ad Blog Post Ad