Ad Area

मेयर कपको उपाधि वडा वडा नं. १७ लाई, १० उपविजेता


घोराही, १३ माघ । दाङको घोराहीमा भएको छैठौँ संस्करणको मेयर कप फुटबल २०८० को उपाधि वडा नम्बर १७ ले जितेको छ । घोराही उपमहानगरपालिकाको आयोजनामा भएको सर्वाधिक पुरस्कार राशिको वडा स्तरीय मेयर कप शनिबार भएको फुटबलको उपाधि भिडन्तमा वडा नम्बर १० लाई २–१ गोल अन्तरले हराउँदै वडा नम्बर १७ ले पहिलो पटक उपाधि जितेको हो । यसअघिका विजेता क्वाटरफाईनल र सेमिफाईनलबाट बाहिरिएपछि मेयर कपको उपाधि विजेता नयाँ वडा बनेको हो ।

घोराही १८ नवलपुर फुटबल मैदानमा हजारौँ दर्शकहरुको उपस्थितीमा भएको फाईनल खेलमा पहिलो हाफमा वडा नम्बर १७ का युवराज रानाले गोल गर्नुभएको थियो । दोश्रो हाफमा वडा नम्बर १० का दिपेश पुनले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याउनु भएको थियो । निकै प्रतिष्पर्धात्मक खेलमा वडा नम्बर १७ का सुजल बस्नेतले इन्जुरी समयमा गोल गरेपछि वडा नम्बर १७ ले मेयर कपको उपाधि आफ्नो पक्षमा पारेको हो ।

पहिलो हाफको ३१ औँ मिनेटमा वडा नम्बर १७ का युवराज रानाले गनेल गर्दै टीमलाई अग्रता दिलाउनुभएको थियो । मिडबाट आएको बललाई वन टच प्रहार गर्दै रानाले दायाँ बार च्यापेर गरेको प्रहार गोल किपरले छेक्न नसक्दा जाली चुम्न पुगेको थियो । दुवै टीमले खेल अवधिभर गोल गर्न पाएको मौकालाई सही रुपमा सदुपयोग गर्न पाएनन् । डिफेन्डरले रोकि दिँदा गोल हुन सकेन । दोश्रो हाफको २२ औँ मिनेटमा वडा नम्बर १० का दिपेश पुन दोश्रो गोल गर्नुभयो ।

देब्रे साईडबाट आएको बललाई मिडफिल्डर दिपेशले हेड मार्फत उत्कृष्ट गोल गर्नुभयो । कर्नर एरियाबाट आकाशिँदै आएको बललाई दिपेशले हेडमार्फत सही दिशा दिँदा वडा नम्बर १७ का गोल किपर दिवान घर्तीले डाईभ लगाएर बचाउन खोज्दा पनि बार च्यापेर गोलपोष्ट भित्र छिर्यो । वडा नम्बर १७ का कप्तान बिक्रम बिकले उक्त बल क्लियर गर्न नसक्दा वडा नम्बर १० ले फाईदा लिन सफल भयो । योसँगै १–१ को बराबरीमा खेल पुगेको थियो । दुवै वडाका हजारौँ समर्थकले उत्साहपूर्ण हौसलाका बीच भएको खेलको अन्तिम समयमा वडा नम्बर १७ ले पाएको मौकालाई सदुपयोग गर्दै गोलमा परिणत गर्न सफल भयो ।

निर्धारित ९० मिनेटपछि थपिएको ४ मिनेटको समयमा खेल चलिरहेका बेला वडा नम्बर १० का खेलाडीले फल खेलेपछि करीव ४० यार्डको दुरीमा पाएको फ्रि किकको मौकालाई वडा नम्बर १७ ले सही रुपमा प्रमाणित गर्दै नतिजा आफ्नो पक्षमा पार्यो । कप्तान बिक्रम बिकले फ्रि किकमार्फत गोल पोष्टको देब्रे बार च्यापेर गरेको प्रहारलाई वडा नम्बर १० का डिफेन्डरले हेड गरेर क्लियर गर्न खोजे पनि टाउकोमा नलागेर बल पोष्ट नजिक पुगेको बेला पछाडिबाट आउनुभएका सुजल बस्नेतले क्रस वन टचमा बललाई सिधै पोष्टमा छिराउँदै गोल गर्नुभयो । खेल समयको अन्तिम अवस्थामा भएको यो गोलले वडा नम्बर १७ ले यसपछि वडा नम्बर १० लाई गोल गर्ने मौका दिएन ।

‘यो हाम्रा लागि ऐतिहासिक दिन हो, हामीले गरेको मेहनतको प्रतिफल पाएका छौँ, वडा नम्बर १७ का लागि उपाधि दिलाउन मैदानमा खेलाडीले प्रर्दशन गर्नुभयो, अरुले बाहिर बसेर थुप्रै साथ सहयोग हौसला दिनुभएको छ’, यो उपाधिको श्रेय सम्पूर्ण वडाबासीलाई जान्छ, जितपछि टीम कप्तान बिक्रम बिकले भन्नुभयो ।

उपविजेता बनेको वडा नम्बर १० का टीम कोच नारायण बिष्टले गोल किपर डिफेन्डरको बीचमा सही तालमेल नमिल्दा वडा नम्बर १७ ले फाईदा उठाएको बताउनुभयो । ‘हामी उपाधि जित्नेमा ढुक्क थियोँ, तर, पहिलो हाफमा गोल खान पुग्यौँ, यसले टीममा दबाव पर्यौ, कोर्टको फाईदा शुरुमै उठाउन सकेको भए राम्रो हुन्थ्यो’ उहाँले भन्नुभयो ‘मिड र फरवार्डमा राम्रो हुँदा हुँदै गोललाईनमा चुक्दा हामी पछि पर्योँ, अब यो कमजोरी सच्याएर आउने छौँ ।’

वडा नम्बर १७ का अध्यक्ष रामलौटन चौधरीले वडाले पहिलो पटक उपाधि जितेकोमा उपाधिको श्रेय वडाबासीलाई दिनुभयो । ‘करीव ४ महिनादेखिको मेहनतले आज सार्थकता पायो, यो उपलब्धीमा सबैको उत्तिकै भुमिका छ, सबैलाई बधाई छ’, उहाँले भन्नुभयो । निकै उत्साहका साथ भएको फाईनल खेलमा उपाधि जितेसँगै वडा नम्बर १७ ले प्रथम शिल्ड, मेडल, प्रमाण पत्र र नगद १ लाख रुपैया पुरस्कार पाएको छ । उपविजेता बनेको वडा नम्बर १० ले पनि मेडल, प्रमाण पत्र र नगद पचास हजार रुपैयाँ पाएको छ । विजेतासहित प्रतियोगितामा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग र भूमिका निभाउनु भएका सबैलाई सम्मान गरिएको छ ।

पुस २० गतेबाट शुरुभएको लिग कम नकआउट प्रतियोगितामा पालिकाभरका १९ वटै वडाको सहभागीता रहेको थियो । सेमीफाईनलमा वडा नम्बर १० ले ३ लाई र वडा नम्बर १७ ले १३ लाई पराजित गर्दै फाईनल प्रवेश गरेका थिए । लिग कम नकआउटका आधारमा खेलाईएको प्रतियोगितामा साविक विजेता वडा नम्बर १३, ३, १० र १७ ले क्वाटर फाईनलमा वडा नम्बर १६, १५, १४ र १८ लाई पराजित गर्दै सेमीफाईनलमा पुगेका थिए ।

कुल ४३ वटा खेल भएको प्रतियोगिता भर उत्कृष्ट खेल प्रदर्शन गर्नेलाई खेलाडीलाई पनि सम्मान गरिएको छ । ३६ वटा लिग र ७ वटा नकआउट खेल भएको प्रतियोगितामा उत्कृष्ट खेलाडीवडा नम्बर १७ का कप्तान बिक्रम बिक, उत्कृष्ट गोल किपर वडा नम्बर १७ का दिवान घर्ती, उत्कृष्ट डिफेन्डर वडा नम्बर १७ का सुजल बस्नेत, उत्कृष्ट मिड फिल्डर वडा नम्बर १० का दिपेश पुन, सर्वाधिक गोलकर्ता वडा नम्बर ७ का नबीन चौधरी घोषित हुनुभयो ।
यसैगरी, सबैभन्दा अनुशासित टीम वडा नम्बर ३ बन्दा उत्कृष्ट व्यवस्थापक, कोच र स्वास्थ्य संयोजक वडा नम्बर १७ का भोला घर्ती, जोशेफ रोका मगर र भीमबहादुर चौधरी हुनुभयो । विजेता, उपविजेता तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलगायत सबैलाई एक समारोह बीच सम्मान गरिएको छ ।
२०७५ सालबाट शुरु भएको मेयरकप फुटबलमा यसअघि वडा नम्बर १३, १५ र १८ ले जितेका थिए । २०७५ मा वडा नम्बर १५ ले, २०७६ मा वडा नम्बर १३ ले, २०७७ मा वडा नम्बर १८ ले, २०७८ मा वडा नम्बर १८ ले, २०७९ मा वडा नम्बर १३ ले जितेका थिए ।

नगर स्तरीय खेलकुद विकास समितिमार्फत यो वर्षबाट पालिकाले आयोजना गर्ने सबै प्रकारका खेलकुद भईरहेका छन् । खेलकुदलाई व्यवस्थित र मर्यादित बनाउँदै खेल प्रवद्र्धन गर्न पालिकाले थालेको प्रयासले पालिका खेलकुदको हब बन्दै गएको छ ।

सबै वडाका टीमबाट ३ सय बढी खेलाडीले प्रतियोगितामा खेलेका छन् । खेलकुदको विकाससँगै खेलाडीको क्षमता विकासका लागि पालिकाले हरेक वर्ष आयोजना गर्दैआएको मेयर कप फुटबलमा यो पटक नयाँ अनुहारका खेलाडी र विगतमा कमजोर मानिएका वडाले समेत राम्रो प्रदर्शन गरेका छन् । ३० वर्ष मुनिका खेलाडीलाई सहभागी गराईएको खेलमा नयाँ अनुहारले स्थान पाए ।

नगर स्तरीय खेलकुद विकास समिती संयोजक नरेन्द्र पुनको अध्यक्षता तथा उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, रेफ्री, अफिसियल सबैलाई सम्मान गरिएको हो ।

करीव ३ हप्ता बढी संचालन गरिएको मेयर कप फुटबलमा सहभागी भई खेलेका खेलाडीहरुको उत्कृष्टताको आधारमा आगामी महिना घोराहीले आयोजना गर्न थालेको जिल्लास्तरीय गोल्ड कपमा छानिने भएको छ । गोल्ड कपका लागि हरेक वडाबाट सहभागी खेलेका उत्कृष्ट खेलाडीहरु छनोट गरिने भएको खेलकुद संयोजक पुनले बताउनुभयो । यसका लागि केही दिनभित्र मै छनोटमा परेका खेलाडीहरुको नामावली सार्वजनिक गरिने उहाँले बताउनुभयो । उक्त गोल्ड कपमा घोराहीसहित जिल्लाका १० वटै पालिकाले खेल्ने बताईएको छ ।