Ad Area

विश्व कीर्तिमानी आरोही हरि बुढालाई अभिनन्दन गरिने


घोराही, १२ फागुन । अफगानिस्तानको युद्धमा घुँडा माथिबाट दुवै खुट्टा गुमाएर पनि विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरि विश्व कीर्तिमान बनाउनु भएका हरि बुढा मगरको नागरिक अभिनन्दन हुने भएको छ ।

गोरखा ग्रुपको आयोजनामा यही फागुन १४ गते उहाँलाई दाङको घोराहीमा भव्य समारोहबीच नागरिक अभिनन्दन गर्न लागिएको शनिबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।

गोरखा ग्रुपका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा १४ गते सोमबार बिहान ८ बजे घोराहीको तुलसीपुर चोक (भानुचोक) बाट थालनी हुने विश्व किर्तिमानी आरोही, गोर्खा ग्रुपका संस्थापक तथा पूर्व ब्रिटिश आर्मी हरि बुढा मगरको भव्य नागरिक अभिनन्दनमा सहभागी हुन सबैमा अनुरोध गरिएको छ ।

उक्त दिन सो स्थानबाट बाजागाजा र साँस्कृतिक झाँकीसहितको र्यालीका साथ उहाँलाई अभिनन्दन गर्दै दाङ जिल्ला उद्योग वाणिज्य संघको सभागृह हलमा विशेष सम्मान कार्यक्रम गरिने भएको हो । सो अवसरमा, विश्व कीर्तिमानी व्यक्ति तथा सकारात्मक सोँचका अभियन्ता हरि बुढा मगरबाट व्यक्त हुने उत्प्रेरणामूलक विचार सुन्नका लागि आम नागरिकहरुमा आयोजकले अनुरोध गरेको छ ।
असल कर्मद्वारा नै असल समाजको निर्माण हुने हुँदा असल कर्म गर्नेहरुलाई समाजका सदस्यहरुले प्रेरणा, स्नेह र सम्मान गर्न पछि पर्नु हुदैन भन्ने मान्यताका साथ गोरखा ग्रुपले यो कार्यक्रम गर्न थालेको ग्रुपका अध्यक्ष बुढाले बताउनुभयो ।

दृढ इच्छा शक्ति, संकल्प र उच्च साहसका साथ निरन्तर रुपले खटेर राष्ट्रिय पहिचानका लागि अन्तर्राष्ट्रिय रेकर्ड राख्न सक्षम बुढा मगरले गरेको विश्व किर्तिमानको साहसिक कार्यबाट आज मुलुकको शीर विश्व रंगमञ्चको साहसिक पर्यटनको क्षेत्रमा उचो भएको अध्यक्ष बुढाले बताउनुभयो ।

निरन्तरको मेहनत र परिश्रमका कारण उहाँले प्राप्त गरेको सफलताले गोरखा ग्रुप मात्र नभई सिंगो नेपाली समाज आज गौरवान्वित भएको हुँदा उहाँलाई थप हौसला र स्नेहका साथ गरिन थालिएको सम्मान अरुका लागि पनि प्रेरणादायी हुने विश्वास गरिएको आयोजकले बताएको छ ।

Blog Post Ad

हरि बुढा मगर बुवा नौला बुढा मगर र आमा पुरइ बुढा मगरको कोखबाट २०३६ सालमा रोल्पा जिल्ला थवाङ गाँउपालिका ३ मिरुलमा जन्मनुभएको हो । उहाँ सन् १९९९ जनवरी १ मा ब्रिटिश आर्मीमा भर्ना हुनुभएको हो । ब्रिटिश आर्मीमै सेवारत रहँदा सन् २०१० अप्रिल १७ मा अफगानिस्थानमा ड्युटीमै रहेको बेला एम्बुसमा परेर घाइते हुनुभयो र दुवै खुट्टा घुँडामाथिबाट गुमाउनु भयो ।

दुखद घटनापछि पनि उहाँ जीवनप्रति कहिल्यै निराश नभई उच्च मनोबल र सकारात्मक सोचका साथ आफुलाई एक सफल सामाजिक अभियन्ता तथा उत्प्रेरक बक्ता अर्थात मोटिभेसनल स्पिकरको रुपमा आफुलाई क्रियाशिल राख्दै आउनु भएको छ ।

अदम्य साहास र संघर्षपूर्ण जीवन गाथा भएका हरि बुढा मगर दुवै खुट्टा घुँडामाथिदेखि गुमाए पनि पाँच वर्षको प्रयासपछि २०८० जेठ ५ गते दिनको ३ बजेर १० मिनेट जाँदा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व किर्तिमान राख्नुभएको हो । कानुनी अड्चनका कारण सगरमाथा आरोहण गर्न अवरोध हुँदै आएकोमा उहाँले कानुन निर्माणदेखि खुट्टा नभएपनि अदम्य शाहस र विश्वास भए जस्तोसुकै कठिन कामपनि गर्न सकिन्छ भन्ने प्रमाणित गर्नुभएको छ ।

उहाँ घुँडामाथि देखि दुवै खुट्टा नहुने विश्वको पहिलो सगरमाथा आरोही बन्नु भएको छ । उहाँको विश्व किर्तिमान अपाङ्गता वा फरक क्षमता भएकाहरुको लागि ठूलो प्रेरणा बनेको छ । सगरमाथा सफल आरोहणपछि आफ्नो अनुभव बाँडेर आम मानिसहरूमा सकारात्मक उत्साह थप्न निरन्तर बिभिन्न साहसीक गतिविधिहरुमा संलग्न हुँदै आउनु भएको छ ।

Blog Post Ad Blog Post Ad