Ad Area

दाङ क्रिकेट लिग–२ को उपाधि दंगाली लायन्सलाई, तुलसीपुर रोयल्स ४५ रनले पराजित


घोराही, १९ फागुन । दोश्रो संस्करणको नेपाल टेलिकम दाङ क्रिकेट लिगको उपाधि दंगाली लायन्सले जितेको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेबाट घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा शनिबार भएको फाईनल खेलमा दंगाली लायन्सले तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्दै उपाधि जितेको हो । पहिलो संस्करणको उपाधि घोराही टाईगर्सले जितेको थियो ।

दंगाली लायन्सले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको तुलसीपुर रोयल्सले १६ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ६२ रन बनाएपछि उपाधि उपाधि दंगालीले जितेको हो । मौसम बदली भई ओसिलो पिचका कारण थोरै रन बनेको रंगशालामा अपेक्षित रन लक्ष्य कम पाएपनि तुलसीपुरले लगातार विकेट गुमाएपछि दंगालीलाई जित सुम्पिन बाध्य भयो । तुलसीपुर रोयल्सका लागि रुपेश सिंहले २० रन, मार्की खेलाडी अमरसिंह रौटेलाले ११ रन बनाउँदा अरु ब्याटरले सम्हालिएर खेल्न नसक्दा ६१ रनमा अलआउट हुन पुग्यो ।

सुस्त सुरुवात गरेको तुलसीपुरले पहिलो विकेट पाँच दशमलव २ ओभरमा विपिन रावललाई ६ रनमा गुमाउँदा टीमको खातामा केवल १० रन बनेको थियो । प्रकाश जैशीको बलमा लामो सट हान्ने क्रममा दंगालीका कप्तान विपिन खत्रीको हातबाट क्याच आउट भएसँगै तुलसीपुरको विकेट पतन लगातार गयो ।

तुलसीपुरका लागि विराटसिंह भण्डारीले ६ रन, भुवन कार्कीले ५ रन, नवीन बिकले ४ रन, गोपाल केसीले ३ रन, स्माईल अन्सारीले २ रनको योगदान दिनुभयो । दंगाली लायन्सका लागि बसिर अहमदले अलराउण्डर प्रदर्शन गर्दै ३ विकेट लिनुभयो । प्लेयर अफ द म्याच बसिरले ४ ओभरमा मात्र १३ रन खर्चिनुभयो । यस्तै बिपिन खत्री, बीरबहादुर घर्ती मगर, प्रकाश जैसीले समान २–२ विकेट तथा शंकर रानाले १ विकेट लिनुभयो ।

यस अघि टस जितेर ब्याटिङ गरेको दंगाली लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७ रन बनाएको थियो । पहिलो बलमै शुरुवाती ब्याटर सन्तोष कार्की रन आउट हुँदै पेभेलियन फर्किएपछि केही दवावमा देखिएको दंगालीका लागि दंगालीका लागि कप्तान बिपिन खत्रीले कप्तानी पारी खेल्दै अविजित सर्वाधिक ४५ रन बनाएपछि टीम सहज अवस्थामाा पुगेको थियो । ३८ बलमा २ चौका र ३ छक्काको मद्दतमा दंगालीका लागि खत्रीले पारी उकास्नु भएको थियो ।

Blog Post Ad

यसैगरी बसिर अहमदले २४ रन, अंकित बुढाले ११ रन बनाउँदा बीरबहादुर घर्तीले ४ रन, किशन भारती, सनम श्रेष्ठ, र शंकर रानाले २–२ रनको योगदान दिनुभयो । बलिङतर्फ तुलसीपुर रोयल्सका अमरसिंह रौटेलाले ३ विकेट, रुपेशसिंह, भुवन कार्की, दिवान पुन र नविन विकले समान १–१ विकेट लिनुभयो ।

६ दिन चलेको प्रतियोगिताको उपाधि विजेता दंगाली लायन्सले नगद २ लाख ५० हजार रुपैयाँ सहित ट्रफी मेडल पाएको छ भने उपविजेता तुलसीपुर रोयल्सले पनि नगद १ लाख रुपैयाँसहित ट्रफी मेडल पाएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीका रुपमा प्लेयर अफ द सिरिज दंगाली लायन्सका बसिर अहमद हुनुभयो । यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याटर दंगाली लायन्सका सन्तोष कार्की, उत्कृष्ट बलर पुरन्धारा च्यालेन्जर्सका दिपेन्द्र रावत तथा उदीयमान खेलाडीमा देउखुरी वारियर्सका शुभम खनाल हुनुभयो । प्लेयर अफ द सिरिजले १५ हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट ब्याटर, बलर तथा उदीयमान खेलाडीले समान १०–१० हजार रुपैयाँ प्राप्त गर्नुभएको छ ।

पुरस्कार वितरण दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षता तथा नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहको प्रमुख आतिथ्यमा भएको हो । सो अवसरमा प्रमुख अतिथि सिंहले दाङमा क्रिकेटको विकास लोभलाग्दो रुपमा भईरहेको बताउनुभयो । उहाँले जिल्लामा व्यावसायिक रुपमा क्रिकेट आयोजना गरेर देशभरका खेलाडीले दाङमा आएर खेल्ने मात्रै नभई क्रिकेट बुझ्ने अवसर पाएको बताउनुभयो । आगामी दिनमा क्यानका तर्फबाट पनि दाङको क्रिकेट विकासमा सक्दो सहयोग रहने उहाँको भनाई थियो । प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने संघसंस्था, व्यक्ति निकायको सकारात्मक साथ सहयोगले जिल्लाको क्रिकेट विकासमा मद्दत पुग्ने बताउनुभयो ।

अक्सन अर्थात खेलाडी खरीद बिक्रिका आधारमा पाँच फ्रेन्चाईज क्लबले प्रतियोगितामा प्रतिष्पर्धा गरेका हुन् । फागुन ५ गते अक्सन गरी हरेक टीमले विभिन्न तहका खेलाडी अनुबन्ध गरेका थिए । जसका आधारमा व्यावसायिक क्रिकेट लिग आयोजना गरिएको हो ।

पाँच फ्रेन्चाईज टोली सहभागी भएको डिसिएल–२ का लागि सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्सले प्रतिष्पर्धा गरेका हुन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा नेपाल टेलिकम, डाइमण्ड पार्टनरमा घोराही सिमेन्ट, क्रिजल आयल सप्लायर्स घोराही, गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड, किसान ट्रेडिङ कन्सर्न सोनालिका, बिवाईडी ईभी, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज, इन्स्योरेन्स पार्टनरमा शिखर इन्स्योरेन्स कम्पनी, स्कुल पार्टनरमा गुरुकुल एकेडेमी घोराहीले सम्झौता गरेका थिए । यसैगरी, प्रतियोगिताका लागि हस्पिटालिटी पार्टनरमा भिंग्रेली भिलेज रिसोर्ट, घोराही, मेडिकल सहयोग पार्टनरमा बुद्ध इन्टरनेशनल हस्पिटल, घोराही र लाईफ फुड एण्ड बेभरेज प्रालि अन्तर्गतको किबु इनर्जी ड्रिंक पार्टनरको रुपमा रहेका थिए ।

प्रतियोगिता सफलताका लागि विभिन्न व्यक्ति, संस्था तथा निकायले पनि सहयोग गर्नुभएको थियो । दोश्रो संस्करणको डिसिएल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैमा दाङ क्रिकेट संघले आभार तथा धन्यवाद व्यक्त गरेको छ । सहयोगीहरुको साथ सहयोगबाट प्रतियोगिता दाङमा गर्न सम्भव भएको भन्दै आगामी दिनमा पनि यहाँको क्रिकेट विकासमा साथ सहकार्यको अपेक्षा गरिएको संघका अध्यक्ष मजगैयाले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad