दाङमा १४ सय घरेलु तथा साना उद्योग बन्द
घोराही, २८ फागुन । दाङमा वर्षेनि घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका घरेलु तथा साना उद्योगहरु पछिल्लो साढे ५ वर्षमा १ हजार ३ सय ९२ वटा घरेलु तथा साना उद्योगहरु बन्द भएका छन् ।
जसमध्ये चालु आर्थिक वर्षको बितेको ७ महिनामा ३ सय ७४ वटा साना उद्योगको लगत कट्टा गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म उद्योग तथा वाणिज्यतर्फको निजी फर्म र सामुदायिक फर्म गरी ३ सय ७४ वटाको लगत कट्टा भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका कार्यालयका प्रमुख युवराज न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो वर्षको साउनमा दुवै फर्म गरेर २५ वटा, भदौमा २८ वटा, असोजमा ३४ वटा, कार्तिकमा १६ वटा, मंसीरमा २५ वटा, पुसमा १३ वटा र माघमा २५ वटा साना उद्योगको लगत कट्टा भएको छ । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा १ सय ५६ उद्योगको लगत कट्टा भएको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा १ सय ३९ उद्योगको लगत कट्टा भएको देखिन्छ । आर्थिक वर्ष २०७७÷०७८ मा २ सय ७ वटा उद्योगको लगत कट्टा भएका छन् ।
आर्थिक वर्ष २०७८÷०७९ मा २ सय १८ उद्योगको लगत कट्टा भएको थियो । आर्थिक वर्ष २०७९÷०८० मा २ सय ९८ घरेलु तथा साना उद्योग बन्द भएको कार्यालयमा रेकर्ड छ । बन्द हुनेमा उत्पादनमूलक उद्योग, पर्यटन उद्योग र सेवामूलक उद्योगहरु रहेको कार्याृलय प्रमुख न्यौपानेले जानकारी दिनुभएको छ । वर्षेनि उद्योगको लगत कट्टा गराउनेको संख्या बढ्दै जानुमा राज्यको अस्पष्ट नीति, कमजोर अर्थतन्त्र र युवा पलायनलगायतका कारणहरु रहेको प्रमुख न्यौपाने बताउँनुहुन्छ ।
साढे ५ वर्षमा ७ हजार २ सय ८४ वटा घरेलु तथा साना उद्योग दर्ता भएको कार्यालयको तथ्यांकमा छ । आर्थिक वर्ष २०७५÷०७६ मा १ हजार ७२, आर्थिक वर्ष २०७६÷०७७ मा ७ सय ३१, आर्थिक वर्ष २०७७÷०७८ मा २ हजार १ सय ८४, आर्थिक वर्ष २०७८÷०७९ मा १ हजार ८ सय ३१ , आर्थिक वर्ष २०७९÷०८० मा ७ सय ४२ वटा मात्रै उद्योग दर्ता भएका छन् ।
त्यसैगरी चालु आर्थिक वर्षको माघ मसान्तसम्म ७ सय ३४ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । वर्षेनि भइरहेको नयाँ दर्ता र लगत कट्टाको अवस्था हेर्दा घरेलु ता साना उद्योगहरु ओरालो यात्रामा रहेको देखिएको छ । घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, उर्जामूलक, खनिज जन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योग दर्ता हुँदै आएका छन् ।
कार्यालयका प्रमुख न्यौपानेले लगत कट्टा बढेको तथा नयाँ दर्ता घटेको देखिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘जिल्लामा नयाँ उद्योग दर्ता गर्नेको संख्यामा कमी आएको छ । जिल्लामा नयाँ उद्योग दर्ता गर्नेमा खासै उत्साह देखिएको छैन, आर्थिक मन्दीका कारण पनि होला ।’ उहाँले उद्योगको लगत कट्टा गर्न आउने प्राय व्यवसायीले व्यवसाय नचलेकै कारण बन्द गर्नुपरेको कारण बताउने गरेको बताउनुहुन्छ । उहाँका अनुसार व्यापार, व्यवसाय नचल्ने गरेको र आर्थिक समस्या थपिँदै जान थालेपछि व्यवसाय बन्द गर्नुपरेको बताउँने गरेको बताउँनुभएको छ ।