Ad Area

नाकामा भारतीय गाडीमाथिको प्रतिबन्ध फुकाइदिन प्रधानमन्त्रीसँग माग


वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले सीमा नाकामा भारतीय सवारी साधनमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।

भारतीय गाडीमाथिको प्रतिबन्धले वीरगञ्जका होटल तथा पर्यटन व्यवसायी पलायन हुने अवस्थामा पुगेको उनीहरुले गुनासो गरे ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त नेतृत्वको टोलीले सोमबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै भारतीय सवारीसाधनको आवागमन खुला गर्न माग गरे ।

नेपालमा स्थलमार्गबाट आउने अधिकांश पर्यटक भारतकै हुने र सीमा नाकामा आवागमन रोकिँदा त्यसको असर सीमावर्ती क्षेत्रमा रहेका होटल, रेष्टुरेन्टलगायत पर्यटन व्यवसाय पर्ने उनीहरुको भनाइ छ ।

वीरगञ्ज तथा आसपासका क्षेत्रमा सञ्चालित २ सयभन्दा बढी होटल खर्च धान्न नसक्ने अवस्थामा पुगेको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष पन्तले बताए ।

‘होटलले सञ्चालन खर्च पनि धान्न नसकेको अवस्था छ, व्यवसायी पलायन हुने अवस्थामा छन्, हजारौंको संख्यामा कर्मचारी बेरोजगार बन्नुपर्ने स्थिति छ,’ उनले भने, ‘यसै विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं ।’

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले एक साताभित्र नाकामा भारतीय सवारीसाधन आवागमनका लागि सकारात्मक निर्णय गर्ने आश्वासन दिएको भेटमा सहभागी व्यवसायीले बताएका छन् ।