Ad Area

दाङमा एसईई दिने परीक्षार्थी घटे, छात्रभन्दा छात्रा धेरै


घोराही, ९ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा दाङबाट १२ हजार ८ सय ९८ विद्यार्थी सहभागी हुँदैछन् । जिल्ला शिक्षा  विकास तथा समन्वय इकाईका अनुसार, यही चैत्र १५ गतेदेखि हुन लागेको यस वर्षको एसईईमा सबै समुहका गरेर १२ हजार ८ सय  ९८ जना विद्यार्थी सहभागी हुन लागेका हुन्  । यस पटक गत वर्षभन्दा ५ सय  ५४ जना थोरै विद्यार्थी जिल्लाबाट एसईईमा सहभागी हुँदैछन् ।

गत वर्ष जिल्लाका सबै विद्यालयबाट १३ हजार ४ सय ५२ जनाले परीक्षा दिएका थिए । यद्यपि, यो पटक पनि विगत वर्ष जस्तै परीक्षा दिनेमा छात्रभन्दा छात्राको संख्या धेरै छ । यो पटकको एसईईमा ६ हजार ८ सय २२ जना छात्रा छन् भने ६ हजार ७६ जना छात्र रहेका छन् ।

परीक्षाका लागि साधारण धार तर्फ ६ हजार ४ सय ६५ छात्रा रहेका छन् भने ५ हजार ७ सय ६३ जना छात्र गरी १२ हजार २ सय २८ जना रहेका  छन् । प्राविधिक धारतर्फ १ सय ६२ छात्रा र १ सय ६१ जना छात्रा गरी ३  सय २३ जनाले परिक्षा दिँदैछन् । ग्रेड वृद्धितर्फ पनि १ सय ९५ जना छात्रा र १ सय ५२ जना छात्र गरी ३ सय ४७ जना विद्यार्थीले परिक्षा दिन लागेका समन्वय एकाई प्रमुख देवमणि चौधरीले जानकारी दिनुभयो  ।
उहाँका अनुसार, जिल्लाका १० वटै पालिकाबाट कुल २ सय ४४ विद्यालयबाट यो वर्ष एसईईमा परीक्षार्थीले आवेदन दिएका छन् ।  जिल्लाको तुलसीपुर उपमहानगरपालिकाबाट सबैभन्दा बढी विद्यालय यो वर्षको एसईईमा सहभागी हुन लागेका छन् ।

उहाँका अनुसार जिल्लाभर ४७ वटा परीक्षा केन्द्र तोकिएको छ । यो पटक दुई वटा परीक्षा केन्द्र थप गरिएको छ । थप भएका परीक्षा केन्द्रमा घोराहीमा  नेपाल प्रहरी स्कुल  र तुलसीपुरमा गोरखा मावि रहेका छन् । जिल्लामा आदर्श मावि लालमटियाबाट दुई जना दृष्टिविहीनले पनि परीक्षा दिन लागेका छन् । परीक्षा दिने एक छात्र र एक छात्रा रहेका छन् ।

समन्वय इकाईका अनुसार पशुपति मावि हरिपौरीमा अध्ययनरत एक छात्रले सुधार गृहबाट परीक्षा दिने भएका छन् । उनलाई नेपालगंज बाँकेस्थित जयन्द्र बाल सुधारगृहबाट परीक्षा दिने व्यवस्था मिलाईएको समन्वय इकाईकी प्राविधिक सहायक प्रमिला शर्माले बताउनुभयो ।

परीक्षा संचालनका लागि केन्द्रबाट आवश्यक उत्तरपुस्तिकालगायत सामग्री परीक्षा केन्द्रहरुमा पठाउने काम भईसकेको छ । अरु आन्तरिक तयारी पनि करीव पूरा भईसकेको उहाँले जानकारी दिनुभयो ।

Blog Post Ad

चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म परीक्षा सकिने बोर्डको परीक्षा तालिका छ । यो वर्ष देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थीले एसईई दिन परीक्षा फाराम भरेका छन् । बोर्डले परीक्षाको लागि प्रश्नपत्र पनि जिल्लामा पठाइसकेको छ ।

जिल्ला प्रहरी कार्यालयमा पठाइएका प्रश्नपत्रहरू परीक्षा सुरु हुनुभन्दा केही समय अगाडि मात्रै सुरक्षासहित सम्बन्धित परीक्षा केन्द्रमा पठाइने व्यवस्था मिलईएको छ ।  यो वर्ष ५ लाख प्रश्नपत्र छापिएका छन् । परीक्षा फाराम भरेका सबै विद्यार्थीले परीक्षा दिन नआउने भन्दै बोर्डले ५ लाख मात्रै प्रश्नपत्र छापेको जनाएको छ ।

प्रदेश सरकार अन्तर्गत रहेको सामाजिक सुरक्षा मन्त्रालयले परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने खर्चको व्यवस्थापन गर्दै आएको हो । केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षा व्यवस्था लगायतको कार्य प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले गर्नेछ । केन्द्राध्यक्ष, निरीक्षकहरू नियुक्त गरेपछि उनीहरूले तालिम समेत प्रदान गर्ने गरिन्छ । त्यसका लागि परीक्षा हुनुभन्दा केही दिन अगाडि मात्रै तालिम दिने गरिन्छ ।

नेपाल बाहिर पनि परीक्षा केन्द्र

यो पटक नेपाल बाहिर जापानमा एउटा परीक्षा केन्द्र तोकिएको छ । जहाँ २१ जना विद्यार्थीले एसईई दिनेछन् । जापानमा परीक्षा सञ्चालनका लागि बोर्डबाट दुई जना जाने भन्ने नीतिगत व्यवस्था थियो ।

बोर्डबाट कोही नगएपछि त्यही स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्ष तोकेर परीक्षा गर्न लागिएको छ । परीक्षा सञ्चालन भइसकेपछि उत्तरपुस्तिकाहरू नेपाल पठाइने र नेपालबाटै परीक्षण हुनेछ ।

पास हुन अब ३५ प्रतिशत अनिवार्य

बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार एसईई गर्न लागेको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले लेटर ग्रेड निर्देशिका अनुसार पहिलो पटक एसईई गर्न लागिएको बताउनुभयो ।

न्यूनतम ‘बी’ ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत अनिवार्य ल्याउनुपर्ने अध्यक्ष शर्माले बताउनुभयो । यस पटक नयाँ लेटर ग्रेडिङ निर्देशिका अनुसार न्यूनतम बी ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अनिवार्य गरिएको बताउनुभयो ।

२ वटाको छुट्टाछुट्टै रूपमा ल्याउनुपर्ने व्यवस्था गरिएको हो । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था थियो । यो पटक भने दुवै छुट्टा छुट्टै अंक ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।

कक्षा ११ र १२ को हकमा भने उक्त निर्देशिका कार्यान्वयन भएको २ वर्ष भयो । कक्षा १० को हकमा पहिलो पटक कार्यान्वयनमा आउन लागेको हो । राष्ट्रिय पाठ्यक्रम परिषद्ले नयाँ पाठ्यक्रम लागू भएपछि कक्षा १० मा नयाँ ग्रेडिङ निर्देशका लागू गर्ने निर्णय भएको थियो । सोही आधारमा यो वर्ष नयाँ पाठ्यक्रम अनुसार पठनपाठन भएको र परीक्षा पनि सोही अनुसार हुन लागेको बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ७ पुस २०७८ मा निर्देशिका जारी गरेको थियो । विद्यार्थीको सिकाई क्षमतालाई यथारूपमा प्रमाणीकरण गर्ने, सिकाई उपलब्धिको मापनबाट प्राप्त अङ्कगत स्तरलाई आठवटा अक्षरगत स्तरमा सूचित गर्ने निर्देशिकाकाे उद्देश्य छ ।

Blog Post Ad Blog Post Ad