Ad Area

महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु कप भलिबल प्रतियोगिता सुरु


घोराही, ८ चैत । दाङको घोराहीमा जिल्लास्तरीय स्ववियु कप भलिबल प्रतियोगिता–२०८० सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजनामा स्ववियु कप भलिबल प्रतियोगिता सुरु भएको हो ।

महेन्द्र बहुमुखी क्याम्पसको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले विद्यार्थीलाई पढाईसँगै कलेजहरुले खेलकुदका गतिविधिहरुलाई अघि बढाउनुभएको थियो । शिक्षासँगै खेलकुदका माध्यमबाट अघि बढ्न सके नामसँगै पैसा पनि कमाउन सकिने भएकाले कलेजहरुले पढाईसँगै खेलकुदका गतिविधिलाई बढाउनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो,‘खेलकुदमा राम्रो गरेर खेलाडीहरुले मान सम्मानसँगै पैसा कमाइरहेका छन् । उनीहरु जस्तै बन्न सक्ने खेलाडी यहाँ पनि हुन सक्छन् । त्यसका लागि कलेजले पढाईसँगै खेलकुदको बातावरण बनाउन ध्यानदिनुपर्छ ।’

प्रतियोगितामा जिल्लाका १५ वटा कलेजका भलिबल टिमको सहभागीता रहेका छन् । प्रतियोगितामा सहभागी १५ टिमलाई २ वटा पोलमा विभाजन गरेर प्रतियोगिता खेलहरु हुने स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस घोराहीका सभापति मनोज डिसीले जानकारी दिनुभएको छ । उहाँका अनुसार नकआउटका आधारमा खेलाइएको प्रतियोगिता चैत १० गतेसम्म चल्ने छ । प्रतियोगितामा प्रथम टिमले नगद ४० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोश्रो हुने टिमले नगद बीस हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसैगरी तृतीय हुने टिमले नगद दश हजार ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगितामा उत्कृट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई विधागत रुपमा समेत पुरस्कार प्रदान गरिने भएको सभापति डिसीले जानकारी दिनुभएको छ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष मनोज डिसीको अध्यक्षता भएको थियो । कोषाध्यक्ष ममता केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव वसन्त भण्डारी गरेका थिए ।

Blog Post Ad Blog Post Ad