Ad Area

आत्मनिर्भरले ‘आत्मविश्वासी’ बन्दै महिलाहरु


घोराही, ९ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्नाकी देवा शर्माको १९ वर्षअघिसम्म घरको आर्थिक अवस्था निकै नाजुक थियो । उहाँले विगत सम्झँदै भन्नुभयो, ‘घरमा आम्दानीको श्रोत थिएन, जब म ग्रामीण महिला उत्थान केन्द्र (प्रवद्र्धन गरिएको हालको आत्मनिर्भर लघुवित्त) मा आवद्ध भएँ, त्यसपछि मेरा दिनहरु सहज बन्दै गए ।’

आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको घोराही शाखामा २५ सय सदस्यहरु मध्ये उत्कृष्ट हुनुभएकी देवालाई आफुले पाएको सफलता सम्झँदा अचम्म लाग्छ । कुनै बेला उहाँसँग आम्दानीको श्रोत केही थिएन तर अहिले उहाँका लागि सबैतिर अवसर र सम्भावनाको ढोका खुलेको छ । कठिन दिन सम्झँदै देवाले भन्नुभयो ‘गाउँका दिदीबहिनीहरुले दिएको हौसला अनि सल्लाहले आज म यहाँसम्म आउन सफल भएको छु, मलाई यहाँसम्म ल्याई पुर्याउन सहयोग गर्ने संस्था आत्मनिर्भर लघुवित्त वित्तीय संस्था हो । जन्म दिने मेरी आमा भएजस्तै मेरो जीवनमा खुशीयाली ल्याउन कर्म दिने आमा आत्मनिर्भर लघुवित्त संस्था हो ।’

गैरीगाउँ महिला उत्थान केन्द्रमा जोडिएको १९ वर्षे यात्राका क्रममा उहाँले संस्थाबाट धेरै कुरा सिक्ने अवसर पाउनुभएको छ । उहाँले भन्नुभयो, पहिलो दिन समुहमा गएर संस्थाको बारेमा कुरा सुनेँ, केही गर्नुपर्छ भन्ने साहस मनमा पलायो । पछि, दिदीबहिनीमार्फत वचत गर्ने कुरा उठ्यो । सरहरुले कुरा राखेपछि १० रुपैयाँबाट वचत गर्न थालेको हुँ । त्यो बेला ग्रामीण महिला उत्थान केन्द्रबाट समुह बनेको थियो । अहिले मातृ संस्थाको संरक्षकत्वमा आत्मनिर्भर लघुवित्त बनेको छ । मैले पाँच हजारबाट ऋण लिन थालेको हुँ, अहिले कष्मेटिक, किराना र फेन्सी पसल चलाएको छु, तीन लाख रुपैयाँसम्म बिना धितो सजिलै सहुलियत ऋण लिएर काम गरिरहेको छु ।’८ जनाको परिवारको खर्च चलाउन र वचत गर्न पनि यही कारोबारबाट भईरहेको छ । उहाँले ४० बराबरको सम्पत्ति यसैबाट जोड्न सफल हुनुभएको छ ।

घोराही १ अट्ठाईसेकी शान्ति दमाईका विगत अझ कहाली लाग्दा थिए । १८ वर्षअघि श्रीमानको क्यान्सरका कारण निधन भएपछि घरव्यवहार कसरी चलाउने, बालबच्चा कसरी पढाउने भन्ने पिर शान्तिलाई थपियो । घरको आर्थिक स्थिती निकै कमजोर थियो । यो बेलामा कसैसँग पाँच सय सापटी माग्दा पनि दिने भेटिएनन् । तर, २०७२ पुस १५ गते ग्रामीण महिला उत्थान केन्द्रकी माधवा पोख्रेल उहाँको घरमा पुगेर उद्यमशीलताको बारेमा जानकारी गराउँदै पाँच हजार सहुलियत ऋण दिएपछि शान्तिको जीवनमा शान्तिको शुरुवात हुन पुग्यो ।

मालझाँक्री महिला उत्थान केन्द्रमा आवद्ध भएर पाँच हजार ऋण पाएपछि उहाँले त्यसलाई उत्पादनको क्षेत्रमा लगाउनुभयो । २ हजारको बाख्रा किन्नुभयो । एक हजारको कुखुरा किनेर पाल्न थाल्नुभयो । बचेको २ हजारबाट तरकारी खेती पनि थाल्नुभयो । गरिएको लगानीले राम्रो प्रतिफल दियो । एकल महिला भनेर हेप्ने त्यो बेलाको समाजले आज शान्ति दमाई कहाँ आएर सहयोग माग्ने भएको छ । घरमा अचेल भैसी, बाख्रा पाल्नुभएको छ भने तरकारी खेतीलाई पनि निरन्तरता दिनुभएको छ ।

Blog Post Ad

‘लगनशील भएर मेहनत जारी राख्नुपर्छ अनि मात्रै प्रतिफल पाउन सकिन्छ, म बिहान ३ बजे उठ्छु, त्यसपछि मेरो दैनिकी शुरु हुन्छ । लगानीबाट कमाएको पैसा एकैपटक वचत सम्भव हुदैन, थोरैथोरै गरेर वचत गर्नुपर्छ, फजुल खर्च गर्नुहुँदैन’, उहाँले भन्नुभयो, ‘त्यो बेलामा मैले पाँच सय ऋण नपाएको सम्झन्छु, अहिले मैले उनीहरुलाई नै दुर्ई लाख रुपैयाँसम्म ऋण दिन सक्ने भएको छु, यो सबै उपबन्धीको श्रेय आत्मनिर्भर लघुवित्तलाई जान्छ ।’

घोराही १८ घोरदौराकी मिरा तामाङ १५ वर्षअघि संस्थामा आवद्ध हुनुभयो । पहिले-पहिले लघु उद्यमका बारेमा उहाँलाई खासै थाहा थिएन । संस्थाका सदस्यहरु गएर उद्यमशीलता र वित्तिय साक्षरताका बारेमा जानकारी गराउन थालेपछि उहाँ र उहाँका छिमेकी यसमा आवद्ध हुनुभयो । बितेको १५ वर्षमा उहाँहरुल नियमित वचत गर्नेदेखि व्यापार व्यवसाय, कृषिको काम गर्दै आउनुभएको छ । मिराले बराह महिला उत्थान केन्द्र समुहमा आवद्ध भएर नियमित वचत गर्नेदेखि आम्दानीको बाटो पनि रोज्नुभएको छ । पिपल चौतारी छेउमा होटल र किराना पसल संचालन गर्दै आउनुभएको छ । यसबाट उहाँको घरपरिवारको खर्च चलेको छ भने नियमित वचत पनि हुने गरेको छ ।

यति मात्रै होईन, घोराही २ सुर्केडाँगीकी जेठकुमारी चौधरी, घोराही ५ धर्नाकी रिमा नेपालीजस्ता थुप्रै महिला दिदीबहिनीहरुले आत्मनिर्भर लघुवित्तमा आवद्ध भएर आयआर्जनमा जोडिनु भएको छ भने घर व्यवहार राम्रोसँग चलाई रहनुभएको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थामा जोडिएका दिदीबहिनीहरुको जीवनमा अहिले धेरै नै परिवर्तन आएको छ । उहाँहरु हिजोका दिनमा भोगेका दुखका पहाड छिचोलेर सफलताको उडान भर्न सक्ने हुनुभएको छ ।

शुक्रबार घोराहीमा आयोजित आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुखहरुको वार्षिक समीक्षा गोष्ठी तथा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम महिला उद्यमीहरुले आफुले पाएको सफलताको खुलेर अनुभव सुनाउनुभयो । कार्यक्रममा घोराहीका १९ वटैै वडाका २ सय ७५ वटा केन्द्र प्रमुखहरुको वार्षिक कार्य प्रगतिमाथि समिक्षा गर्नुभयोे ।

घोराही केन्द्र शाखा व्यवस्थापक तिर्सना चौधरीको अध्यक्षता तथा घोराही १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । सो अवसरमा प्रमुख अतिथि पाण्डेले महिलालाई आत्मनिर्भरको बाटोमा लाग्न तथा उद्यमशील बनाउने काममा खेल्दै आएको भुमिका अनुकरणीय रहेको बताउनुभयो ।

पाँच हजार ऋण लगानीबाट अहिले लाखौँको आर्थिक कारोबार गर्नेदेखि उद्यमी बन्ने काममा आत्मर्निभर लघुवित्तले गरेको सहयोगबाट सम्भव भएको उहाँको भनाई थियो । राज्यले गर्नुपर्ने काममा सामाजिक संस्थाले भुमिका खेल्दै महिला दिदीबहिनीहरुलाई सफल बनाउन सघाएको बताउनुभयो ।

कार्यक्रममा आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिृकत सोगतबीर चौधरीले पछिल्लो समय लघुवित्त पीडितका नाममा भईरहेको कृयाकलापका बारेमा स्पष्ट हुन समुहका सदस्यहरुलाई अपिल गर्नुभयो । उहाँले नेपाल सरकार, राष्ट्र बैंक मातहत लघुवित्त संस्था संचालनको मापदण्डमा रही संस्था स्थापना भई काम गर्दै आएको हुँदा इमान्दारीपूर्वक सही गलत छुट्याएर विरोधमा उत्रिएकाहरुको कुरामा भर नपर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘राज्यले तोकेको मापदण्डमा रही १ पैसा पनि बढी असुलेको कहीँ कतै लागेको छ भने, हामीलाई जानकारी गराउनुस्, तपाईहरुको एक पैसा पनि तलमाथि हुदैन, काम गर्ने क्रममा हिसावकिताव राख्दा मानवीय त्रुटी पनि हुन सक्छ, यसलाई जिम्मेवारीपूर्वक निभाउँछौँ । हामीले प्रवाह गर्ने वित्तिय सेवाबाट दिदीबहिनीहरुले इमान्दारीपूर्वक काम गर्दा पाउनुभएको सफलता यो भन्दा बलियो आधार अरु हुनै सक्दैन, हामीले गरिबीलाई शुन्यमा झार्न र सबैलाई उद्यममा लाग्न प्रेरित गर्दै आएका छौँ ।’
ग्रामीण महिला उत्थान केन्द्र मातृ संस्थाका रुपमा रहँदै अहिले आत्मनिर्भर लुघवित्तले दाङसहित सल्यान, बाँके र बर्दिया जिल्लामा आफ्नो शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको ग्रामीण महिला उत्थान केन्द्रकी संस्थापक अध्यक्ष आसमानी चौधरीले बताउनुभयो । संस्थाले सबै क्षेत्रमा ५० हजार बढी विपन्न परिवारलाई वित्तीय कारोबारमा संलग्न गराउँदै घरदैलोमा वचत परिचालन, कर्जा सेवा तथा अन्य सेवा सुविधा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

यसैगरी, २ सय ७५ केन्द्रहरुमध्ये सफल केन्द्रका रुपमा घोराही १६ बयरबटुवाको नवपालुवा महिला उत्थान केन्द्र प्रथम, घोराही १३ वनगाउँको समृद्धि महिला उत्थान केन्द्र द्वितीय, घोराही १४ ढोडेनीको बसन्त हरियाली महिला उत्थान केन्द्र तृतीय र घोराही १६ को ईश्वर महिला उत्थान केन्द्र सान्त्वना भई सम्मानित भएको छ ।

२५ सय वचतकर्ताहरु मध्ये सफल उद्यमीका रुपमा घोराही ५ धर्नाकी देवा शर्मा, घोराही १८ घोरदौराकी मिरा तामाङ, घोराही १ अट्ठाईसेकी शान्ति दमाई, घोराही २ सुर्केडाँगीकी जेठकुमारी चौधरी र घोराही ५ धर्ना स्कुलडाँडाकी रिमा नेपाली सम्मानित हुनुभयो ।

कार्यक्रममा घोराही शाखामा रहेका ६ हजार वचतकर्ता मध्ये उत्कृष्ट वचतकर्ताका रुपमा घोराही १३ सेवार बाँसबोटकी बिनिता चौधरी, घोराही १६ सानी अम्बापुरकी सन्चली चौधरी सम्मानित हुनुभएको छ । भने अनुशासित केन्द्रका रुपमा विभिन्न १५ वटा केन्द्रलाई पनि सम्मान गरिएको छ । घोराही शाखाकी कृष्णा चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad