Ad Area

दाङमा बर्सेनी घट्दै कपास खेती


घोराही, ११ चैत । देउखुरीको राजपुर गाउँपालिका–७ सनपथ्री निवासी भोजराज खत्री कपास खती गर्दै आएका छन् । नाका क्षेत्रमा सिचाईको अभावसँगै जंगली जनावारले अन्यवालीमा क्षति गर्ने भएपछि खत्रीले विगत ७÷८ बर्षदेखि दुई विगाह बढी जमिनमा कपास खेती गर्दै आएका खत्रीले राम्रो आम्दनी समेत लिने गरेको बताउँछन् ।

कपास विक्रीमा पनि समस्या नहुने र अन्यवालीको तुलनामा आम्दानी पनि राम्रो हुने भएपछि कपास खेती गर्दै आएको बताउँदै खत्री भन्छन्,‘कपास खेतीबाट राम्रो आम्दानी हुन थालेपछि पुरै गाउँ नै समुह बनाएर कपास खेतीमा लागेका छौ, अन्य कृषि बालीभन्दा कपासबाट राम्रो आम्दानी हुने गरेको छ ।’ उनका अनुसार गाउँमा करिव १५÷१७ घरले ३० विगाहभन्दा बढीमा खेती गर्ने गरेको र कममा ३०÷४० हजारदेखि बढीमा दुईतीन लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

कपास खेतीका लागि बिउ र औषधी ५० प्रतिशत अनुदानसँगै उत्पादन भएको कपास पनि कपास विकास समितिले खरिद गरिदिने भएपछि विगत एक दशकदेखि कपास खेती गर्दै आएको बबई गाउँपालिकाको मलई निवासी गीता घर्ती बताउँछिन जंगल क्षेत्रमा अन्य वाली लगाउँदा जंगली जनावरले क्षति गर्ने भएपनि कपास खेतीमा असर नगर्ने भएकाले अन्य कृषिवाली छोडेर कपास खेती गर्दै आएको उनी बताउँछिन् ।

घर्तीले भनिन्,‘राष्ट्रिय निकुञ्ज घर नजिकै भएकाले जंगली जनावरले कृषिवालीमा क्षति गरिदिने भएकाले कपास खेती गर्दै गर्न थालेका हौ, राम्रो आम्दानी भइरहेको छ ।’ उनका अनुसार कपास खेतीबाट किसानले राम्रो आम्दानी गर्दै आएपनि सरकारले कपास विकास समिति राख्ने कि हटाउने भन्ने स्पष्ट नहुँदा कतिपय किसानले भने कपास खेती गर्न छोडेको बताइन ।

स्पष्ट सरकारी नीति नहँुदा कपासको माग दिन प्रतिदिन बढ्दै गएपनि खेती गर्ने किसानको संख्या भने घट्दै गएको सुनपथ्री कपास समूहका अध्यक्ष खत्री बताउँछन् । बिक्रीमा पनि समस्या नहुने सिचाई नहुने ठाउँमा पनि कपास खेती गर्न सकिने भएका कारण धेरै किसानहरु पछिल्लो समय कपास खेती गर्दै आएका छन तर सरकारले कपास विकास समिति नै हटाउने जस्तो कुरा गर्दा किसान अन्योलमा हुने गरेका छन् । सोही कारण जिल्लामा विगतको बर्षहरुको तुलनामा पछिल्लो समय धेरै किसान कम भएको समेत बताए । ‘विक्रीमा पनि समस्या नहुने र आम्दानी पनि हुने भएपछि कपास खेती गर्ने गरेका छन’,उनले भने,‘तर सरकारले गतबर्ष कपास विकास समिति बन्द गर्ने निर्णय गर्दा धेरैले छोडेका थिए,पछि फेरी राख्ने भएपछि अहिले खेती गर्ने तयारीमा लागेका छन् ।’

दाङका विभिन्न ठाउँमा तीनदेखि चार सय बढी विगाह जमिनमा कपास खेती हुने गरेपनि यो बर्ष ६० विगाह क्षेत्रफलमा मात्रै कपास खेती भएको कपास विकास समिति खजुरा बाँकेका प्राविधिक रमेशराज आचार्यले जानकारी दिएका छन् । प्राविधिक आचार्यकाका अनुसार जिल्लामा कपास उत्पादन राम्रो हुने भएपनि गतबर्ष सरकारले कपास विकास समिति हटाउने निर्णय गर्दा धेरै किसानले यो बर्ष खेती नगर्दा उत्पादन घट्ने अवस्था रहेको बताए ।

Blog Post Ad

प्राविधिक आचार्यले भने,‘किसानलाई बिउँसँगै औषधी समितिले उपलव्ध गराउने हुँदा किसानले कपास खेती गर्दै आएका छन् । तर गतबर्ष कपास खेती सुरु गर्ने समयमा सरकारले कपास विकास समिति हटाउने निर्णय गर्दा धेरै किसानले रोपेको कपास मासेर अन्य खेती गर्दा यस बर्ष कपास उत्पादन कम हुने भएको छ ।’ उनका अनुसार यो बर्ष दाङको राजपुर गाउँपालिकाअन्तर्गत भैसाही, पटौली सुनपथ्री,बेलासँगै लमही नगरपालिकाको ७, ८ र ९ नम्वर वडाका कपास खेती हुने गरेको बताए ।

त्यसैगरी बबई गाउँपालिकाको मलई,बगरपुर,कालितारासँगै शान्तिनगर गाउँपालिकाअन्तर्गत पञ्चकुले,खँैरेनी,कासीपुरलगायतका विभिन्न स्थान गरी करिव ६० विगाह र बाँकेको राप्ती सोनारी गाउँपालिकामा करिव १० विगाह क्षेत्रफलममा मात्रै किसानले कपास खेती भएको बताए । अहिले उत्पादन भएको कपास किसानले टिप्ने काम गरिरहेकाले करिव ३० टन कपास यस बर्ष उत्पादन हुने अपेक्षा गरिएको छ ।
यो बर्ष करिव ७० विगाह क्षेत्रफलममा रहेको रहेको कपास खेतीलाई बढाएर आगामी बर्ष ६ सय हेक्टर क्षेत्रफलमा गर्ने तयारी समितिले गरेको प्राविधिक आचार्यले बताए ।

समितिका प्राविधिक आचार्यले भने,‘गतबर्ष समिति रहने वा नरहने समस्या कारण किसानले खेती गर्न सकिनन्, जस्ले गर्दा उत्पादनमा धेरै कमि भएको छ । यसलाई बढाउनका लागि आगामी बर्ष ६ सय हेक्टरमा कपास खेती गर्ने तयारी रहेको छ ।’ प्राविधिक आचार्यका अनुसार दाङ र बाँके जिल्लामा पछिल्लो समय कपास खेती हुने गरेको छ । बर्दियामा कपास विकास समितिको जग्गा भएपनि खेती भने हुने गरेको छैन । कपास विकास समितिले कपास खेती गर्ने किसानलाई लागतमा ५० प्रतिशत अनुदानसँगै प्रति क्वीन्टल दश हजार रुपैयाँका दरले खरिद गर्ने गरेको प्राविधिक आचार्यले जानकारी दिए । कपास विकास समितिको दाङ, बाँके र बर्दियामा आफ्नै जग्गा भएपनि खेती भने हुँदैन ।

Blog Post Ad Blog Post Ad