Ad Area

आध्यामिक शिक्षा आजको आवश्यक


घोराही, १२ चैत । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र घोराही शाखाले होली मिलन कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । पर्वको अवसरमा सोमबार राजयोग प्रशिक्षण केन्द्रमा होली मिलनसँगै शुभकामना आदानप्रदान गरेको हो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले होली पर्वलाई आपसी सदभाव र भाइचारा कायम गर्दै मनाउनुपर्ने बताउनुभयो । पर्वहरु समाजको महत्वपूर्ण पक्ष भएकाले विकृति भित्रिनबाट रोक्न सबै लाग्नुपर्ने बताउनुभयो ।

प्रमुख अतिथिसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी सुवेदीले मानिसमा बढ्दो विचलनका कारण विभिन्न खालका बेथिती बढी रहेकाले आध्यामिक शिक्षा अति आवश्यक रहेको बताउनुभयो । आध्यात्मिक शिक्षाले मानिसलाई सही मार्ग हिड्न प्रेरित गर्नुका साथै जीवनको मुल्य बोध गराउने हुँदा यो सबैका लागि अपरिहार्य रहेको बताउनुभयो ।

ब्रह्माकुमारीज राप्ती क्षेत्र प्रमुख राजयोगिनी गीता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा. भीमसेन गिरी, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी, अन्तरपार्टी महिला सञ्जाल दाङकी अध्यक्ष प्रमिता शर्मा, समाजसेवी तथा कांग्रेस नेता भुपबहादुर डाँगीलगायतले होली पर्वको महत्व बारे चर्चा गर्दै यसले सामाजिक र सांस्कृतिक पक्षलाई एकसूत्रमा बाध्न ठूलो भुमिका खेलेको बताउनुभयो । रंगहरुको पर्व होलीले रिसराग, वैमनस्यता त्यागेर आपसी मेलमिलाप र सहिष्णुता कायम गर्न सन्देश दिएकाले यही बाटोमा लाग्नु आजको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

होली मिलन कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागीले टीका लगाएर शुभकामना साटासाट गरेका थिए । कार्यक्रमको सहजीकरण ब्रह्मकुमार माधव तिमिल्सेनाले गर्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad