Ad Area

नियमित महशुल नतिर्ने दुई हजार बढी ग्राहकका काटियो लाइन


घोराही, ९ वैशाख । नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले आर्थिक वर्ष २०८०÷०८१ को चैत मसान्तसम्म समयमै महसुल नबुझाउने दुई हजार एक सय ४६ ग्राहकको लाइन काटेको छ ।

एक अर्ब ९७ करोड पाँच लाख ८८ हजार सात सय ५६ रुपैयाँ बक्यौता नतिर्नेको लाइन काट्दा एक हजार आठ सय २८ ले मात्रै पुनः मिटर जडान गरेको नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका सहायक इन्जिनियर नन्दलाल शर्माले जानकारी दिनुभएको छ । घोराही वितरण केन्द्रअन्तर्गत घोराही उपमहनगरपालिका र बंगलाचुली गाउँपालिका पर्ने गर्दछन् । जसअन्तर्गत ५१ हजार चार सय ७७ ग्राहकहरु रहेका छन् ।

उहाँका अनुसार सात करोड ६० लाख ३९ हजार पाँच सय आठ रुपैयाँ मात्रै बक्यौता तिरेर नयाँ जडान गरिएको छ । बाँकी तीन सय १८ जनाले अनाधिकृतरुपमा विद्युत प्रयोग गरिरहेको नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका सहायक इन्जिनियर शर्मा बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘लाइन काटिएका तीन सय १८ ले बत्ति नबाली बसेकै छैनन् । उनीहरुले अनाधिकृत रुपमा जडान गरेको जस्तो देखिन्छ ।’

विद्युत महसुल नियमावली २०७८ को विनियम १० अनुसार मिटर रिडिङ भएको ६० औं दिनभित्र महसुल नबुझाएमा जुनसुकै बेला लाइन काटिन सक्ने ब्यबस्था भए अनुसार जिल्लामा लाइन काट्न सुरु गरेको भन्दै इन्जिनियर शर्माले भन्नुभयो,‘लामो समयसम्म पनि बक्यौता रकम उठ्न नसकेपछि प्राधिकरणले पछिल्लो समय कडाइ गरिरहेको छ ।’

उहाँले अनाधिकृत रुपमा विद्युत प्रयोग गर्ने जिल्लाभर करिव ६ सय ग्राहक रहेको अनुमान रहेको छ । घोराही र लमही वितरण केन्द्रअन्तर्गत पनि अनाधिकृत रुपमा विद्युत प्रयोग गरेको हुन सक्ने अनुमान कार्यालयको रहेको छ । उहाँले अनाधिकृत रुपमा विद्युत प्रयोग गर्नेलाई कालोसूचीमै राख्ने गरी तयारी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘हामीले अनधिकृत रुपमा विद्युत प्रयोग गर्नेको निगरानी गरिरहेका छौं । अब पुनः लाइन काट्ने मात्रै हुँदैन मिटर नै थुतेर कालोसूचीमा राख्ने गरी तयारी गरेका छौं ।’

मिटर रिडिङ गरेको ६० औं दिनसम्म विद्युत महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा पनि विद्युत लाइन काटिने कानुनी व्यवस्था छ । यसअघि प्राधिकरणले २०८० कार्तिक १३ देखि २२ गतेसम्म समयमै विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काटेको थियो । अभियानमा घोराहीमा ५४ लाख १९ हजार पाँच सय ९७ रुपैयाँ नतिरेका छ सय ९२ ग्राहकको लाइन काटिएका थियो । नेपाल विद्युत प्राधिकरण लमहीले ८४ लाख बक्यौता नतिरेका आठ सय १७ ग्राहकको लाइन काटेको थियो । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले अभियानका क्रममा २४ लाख १६ हजार दुई सय ७५ रुपैयाँ बक्यौता तिर्न बाँकी भएका दुई सय ७० ग्राहकको लाइन काटेको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad